जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को धनुषा उपाध्यक्ष पद त्यागेर प्रदेशसभा क्षेत्र नम्वर ३ (२)बाट स्वतन्त्र उम्मेदवार बनेका अम्भु प्रसाद साहले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
जनकपुरधाममा आज पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेवार साहले १५ बुँदै प्रतिवद्धता गरेको घोषणापत्र सार्वजनिक गरे । उनले सांस्कृतिक धरोहरको संरक्षण, सम्बद्र्धन, विकास, जिर्णोद्धार गराई जनकपुरधामको सांस्कृतिक पहिचान अन्तराष्ट्रिय स्तरमा गराउने लगायतका प्रतिवद्धता जनाएका छन् ।
निःशुल्क अनिवार्य र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराई मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने, लागुपदार्थ एवं दुव्र्यसनमुक्त प्रदेश निर्माणका लाग कानून बनाई कार्यान्वयण गराउने, जनकपुरधामलाई वैवाहिक स्थलको रुपमा अन्तराष्ट्रिय स्तरमा पहिचान कायम गराउन आवश्यक पूर्वाधार निर्माण गराउने लगायतका मुद्दा उम्मेदवार साहको घोषणापत्रमा समेटिएको छ ।
‘कुन पार्टी र कुन छापमा मतदान गर्ने भन्ने कुरा अहिलेका मतदातालाई छैन’, उनले भने, ‘मतदाता योग्य प्रतिनिधि खोज्दैछन् । मतदाताको सोच हेर्दा म आफूलाई योग्य ठानेको छु । त्यसैले मलाई निर्वाचित गराउन मतदाताले मेरो चुनाव चिन्ह लालटेन छापमा मतदान गर्नुहुन्छ भन्ने विश्वास छ ।’
जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष समेत रहेका उनले मधेश आन्दोलनका बेला गरिब परिवारहरुलाई खाद्यान्नलगायतका राहत सामग्री बाँडेको, कैयौं व्यक्तिलाई व्यावसाय गर्न सहयोग गरेको, बाल–विवाह न्यूनिकरणका लागि अभियान चलाएको, ०७२ को भूकम्प पीडितहरुको लागि राहत सामग्री काठमाडौं पठाई वितरण जस्ता सामाजिक कार्य गरेको फेरिहस्त समेत सार्वजनिक गरेका छन् ।


