प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवारी दर्ता देखि नै तिकडम गरेका प्रभु साहका लागि अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल चुनौती बनेका छन् । जनता समाजवादी पार्टी (जसपा) र एमाले गठबन्धनको टिकट निष्कृय बनाएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका प्रभु साह भने अहिले राजनीतिक धरापमा परेका छन् । उनलाई जयसवालले हराउन सक्ने स्थिति बन्न थालेको छ । प्रभु साहलाई सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले समर्थन जनाए पनि रौतहट क्षेत्र नम्बर ३ मा गठबन्धन दलले उनको साथ छाडिसकेको छ ।
नेकपा एसबाट प्रदेश ३ को ‘क’ मा नागेन्द्र यादव र ‘ख’ मा कांग्रेसका जितेन्द्र यादव उम्मेदवार छन् । कांग्रेस रौतहटका सभापति समेत रहेका जितेन्द्र यादव र एसका नेता नागेन्द्र यादवले प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार जयसवालसित प्रचारप्रसारमासँगै रहने गरेका छन् । उनीहरुले प्रभु साहलाई हराउनै पर्ने अभियान चलाएका छन् । जसपा र एमालेको टिकटलाई निष्कृय बनाएका प्रभु साहले क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनको समर्थन प्राप्त गरेको दाबी गरे पनि क्षेत्र नम्बर १ मा भने एमालेका प्रतिनिधि सभाका उम्मेदवार अजय गुप्तालाई सत्तारुढ गठबन्धनबाट नेकपा एसका उम्मेदवार माधवकुमार नेपाल विरुद्ध सहयोग गरिरहेका छन् । नेपाललाई हराउन सक्रिय रहेका प्रभु साहलाई क्षेत्रमै पराजित गराउन नेकपा एस र कांग्रेसका नेताहरुले रणनीति बनाएका छन् । हप्ता दिन अगाडिसम्म जित्नेमा ढुक्क देखिएका प्रभु साह अहिले निकै कमजोर देखिएका छन् । क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा एमालेका गुप्ता र प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारको पक्षमा खुल्ने बित्तिकै गठबन्धन दलका नेताहरुले घेराबन्दी गरेका छन् । एमाले र जसपाले हरेक हालमा साहलाई हराउन लागि परेका छन् । कांग्रेस र एसले समर्थन गरेको जयसवालको पक्षमा एमाले र जसपा पनि खुल्न थालेको छ । एमाले र जसपाको क्षेत्र नम्बर ३ मा उम्मेदवार नै छैन् । आफू विरुद्ध दलहरुले मोर्चाबन्दी गरेपछि प्रभु साहले राजनैतिक मूल्य र मान्यता विपरीत सत्तारुढ गठबन्धनका स्थानीय नेताहरु लागेको आरोप लगाएका छन् । ‘सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशनको इमान्दारीपूर्वक पालना भइरहेको छैन्’ साहले भने, क्षेत्रीय स्तरमा भइरहेको गठबन्धन प्रभावकारी हुने छैन् । साहलाई समर्थन गर्न माओवादी केन्द्रले आफ्नो उम्मेदवार धीरज पटेलको उम्मेदवारी निष्कृय बनाउन गरेको पहल सफल नभएपछि उनलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरिदिएको छ ।
तर पटेलको चुनाव चिह्न मतपत्रमा कायमै रहेको छ । उनले माओवादी चुनाव चिह्न मै मतदान गर्न क्षेत्रभरि मत मागिरहेका छन् । राजनीतिक तिकड्मका माहिर खेलाडी मानिएका प्रभु साह यस पटक धरापमा परेको नेता बृजकिशोर यादव बताउँछन् । ‘साहले आफ्नो क्षेत्रमा सीमित रहेको भए उनको जित निश्चित थियो’ उनले भने, तर कतै एमाले र कतै स्वतन्त्रको पक्षमा लागेपछि परेको घेराबन्दीबाट उम्किन सहज छैन् । प्रभु साहकी पत्नी एमालेबाट मेयरमा जितेकी छन् । कयौं पटक मन्त्री बनेका साहले स्वतन्त्र रुपमा पनि चुनाव जित्न सक्ने विश्वासका साथ मधेश प्रदेशको केही जिल्लामा स्वतन्त्र उम्मेदवारहरुलाई साथ लिएर शक्तिको रुपमा उदाउन चाहेका साह पराजित भए राजनीति यात्रामा अबरोध आउनेछ । पटक–पटक गुट र दल बदल गरेका साहमाथि नेता र कार्यकर्ताहरुले विश्वास गर्न छाडिसकेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा जित्न सके गठबन्धनको जुनसुकै सरकार बने पनि सहभागी हुन सक्ने बाटो उनका लागि खुल्ला रहने छ । साहको कारण क्षेत्र नम्बर १ मा नेपालले कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ । स्वतन्त्र रुपमा चुनाव लड्न प्रभु साहको आग्रहलाई अस्वीकार गरी एमालेकै टिकटमा चुनाव लडेका गुप्तालाई साहले समर्थन गरेका छन् । त्यसले नेपाललाई जित निकाल्न असहज भएको छ । साहलाई क्षेत्र बाहिर निस्कनै नदिने गरी सबै दलले उनलाई घेराबन्दी गरेको यादवले बताए ।
Please subscribe our official youtube channel below and support us.



