२०७९ कार्तिक २७, आईतवार ०७:२९

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेल र जनता समाजवादी पार्टी (जसपा) छाडेर एमालेबाट उम्मेदवार बनेका लक्ष्मी महतोबीचको प्रतिस्पर्धा रोमाञ्चकारी बनेको छ ।

जसपा र एमालेबीच गठबन्धन भएपछि महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ एमालेको भागमा पर्दा महतोले जसपा छाडेर उम्मेदवारीको दिन एमालेमा प्रवेश गरी टिकट पाएका थिए । २०७४ सालको चुनावमा पोखरेलबाट पराजित भएका महतो भने यस पटक जित्ने विश्वासमा छन् । गत चुनावमा जसपाबाट लड्ेका महतो यस पटक एमालेबाट लड्दा जसपाको समेत समर्थन पाएका छन् । स्थानीय तहको चुनावमा जसपाले राम्रो नतिजा ल्याएको छ । माओवादीले जितेको गौशाला नगरपालिका यस पटक जसपाले जितेको छ । गत चुनावमा एमालेको समर्थन पोखरेललाई रहेको थियो । सत्तारुढ दलका उम्मेदवार रहेका पोखरेलले विकासका अनेक कामहरु गनाइरहेका छन् । उनले रेलवे सम्बन्धी अध्ययनका लागि रेलवे इञ्जिनियरिंग कलेज खोल्ने वाचा समेत गरिरहेका छन् । तर मतदाताहरु उनीप्रति आकर्षित हुन नसकेको बर्दिबास ३ का विमल गौतमले बताए । पोखरेलका लागि सत्तारुढ गठबन्धन धेरै उपयोगी नहुन सक्छ’ उनले भने, बर्दिबास नगरपालिकामा स्वतन्त्र जनप्रतिनिधि र गौशाला नगरपालिकामा जसपा रहेकाले त्यसको असर परेको छ । उम्मेदवारी दर्ता हुने दिनको विहानसम्म महतोले जसपाबाट नै टिकट चाहेका थिए । तर त्यो नभएपछि उनी बाध्य भएर एमालेको टिकटमा चुनाव लड्ने निर्णय गरेको बताइन्छ ।

क्षेत्र नम्बर १ मा महतो (कोइरी) समुदायको बाक्लो बस्ती रहेको र महतो एकल उम्मेदवार भएकाले उनी स्वभाविक रुपमा धेरै बलियो भएको गौशाला नगरपालिकाका अरुण महतोले बताए । एमाले र जसपा गठबन्धनका उम्मेदवार महतोका लागि एकत्रित रुपमा मत पर्ने बताइन्छ । सत्तारुढ गठबन्धनमा रहेको असन्तुष्टिको व्यवस्थापन पनि पोखरेलका लागि चुनौती बनेको छ । पोखरेलका लागि मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साह बढी प्रभावकारी देखिएका छैनन् । उनी माओवादी केन्द्रको टिकटमा क्षेत्र नम्बर १ को ‘ख’ बाट चुनाव लडेका छन् । मधेश सरकारमा उनको कार्यकाल भ्रष्टाचार लगायतका विवादित रहेकाले पोखरेलका लागि अपेक्षाकृत प्रभावकारी हुन सकेको छैन् । त्यस प्रदेशमा नेकपा एस र लोकतान्त्रिक समाजवादीबाट पनि उम्मेदवारी रहेको छ । सत्तारुढ दल भित्रै तीनवटा दलका उम्मेदवार रहेकाले मन्त्री साहका लागि घातक बनेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News