निर्वाचनका लागि धनुषामा सात हजार सुरक्षाकर्मी परिचालन हुने भएको छ ।
मंसिर १ देखिदेखि प्रत्येक मतदान स्थलमा सुरक्षाकर्मी पुग्ने छन् । मतदानस्थललाई चार वटा सुरक्षार्मीले सुरक्षा दिने छन् । यी चारै निकाय मिलाएर सात हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन हुने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार १७ सय नेपाल प्रहरी र ३५ सय म्यादी प्रहरी परिचालन हुने छन् । नेपाली सेना, सशस्त्र प्रहरी र अपराध अनुसन्धान प्रहरी गरी सात हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने उनले बताए । यस्तै धनुषामा ६ हजार कर्मचारी खटाइने छन् । कर्मचारीहरु छनोट भइसकेका छन् । उनीहरुलाई जनकपुरधामस्थित प्रशिक्षण तालिम निर्वाचन आयोगले दिइरहेको छ । मंसिर १ गते साँझ कर्मचारीहरु पनि मतदान स्थल पुग्ने धनुषा निर्वाचन क्षेत्र १ को निर्वाचन अधिकृत सुदीप डंगोलले जानकारी दिए ।उनका अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा १३ सय कर्मचारीको दरले खटाइएको छ । यस पटक पनि मतदानस्थलमा दुई वटा लाइनबाट मतदान हुने छन् । यद्यपि कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर मतदान गराइने उनले बताए । उनका अनुसार यसपालि मतदानस्थल आपाङ्गमैत्री पनि हुने छन् ।
कार्तिक २३ गतेको बैठकले सो निर्णय भएको छ । उनीहरुलाई लक्षित गरी मत पेटिका सहज रुपमा पुग्ने ठाउँमा र विगतभन्दा तल पनि राखिने तयारी छ । मतदानस्थलमा गर्भवती, ज्येष्ठ नागरिक, विरामी, असक्त, किरियापुत्री र सुत्केरी मतदाताको लागि विश्रामस्थलको पनि व्यवस्था गर्ने बताइएको छ ।



