धनुषाको मिथिला नगरपालिकामा पनि पार्टी प्रवेशको लहर चलेको छ ।
सत्ता गठबन्धनका उम्मेदवारले एमालेका कार्यकर्ता तान्ने र एमालेले सत्तागठबन्धनका मतदातालाई पार्टी प्रवेश गराउने क्रम चलेको छ । यसैक्रममा धनुषाको मिथिला नगरपालिका–८, कुसुमबिछौनामा मंगलबार ७० जनाभन्दा बढी नेकपा एमालेका मतदाता तथा नेता कार्यकर्तालाई कांग्रेसले पार्टी प्रवेश गराएका छन् । एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरुलाई धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । नेता यादवले एमालेका कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउनु दुई दिनअघि अर्थात आइतबार धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका नेता रघुवीर महासेठले कांग्रेस र माओवादीको सयौं मतदातालाई पार्टी प्रवेश गरेका थिए । मिथिला नगरपालिका–८ एमालेको किल्ला मानिन्छ ।


