अपडेट 
२०७९ मंसिर १, बिहीबार ०७:५०

नेपालको संविधान २०७२ अनुसार यही मङ्सिर ४ गते दोस्रो आम निर्वाचन हुँदै छ । निर्वाचन आयोगले निर्वाचनका सबै कुराहरू लगभग पूरा गरिसकेको छ । सरकारले प्रशासनिक व्यवस्था समेत सकाएको छ । अपुग सुरक्षाकर्मी म्यादी प्रहरी नियुक्त गरी पूरा गरिसकेको छ । अहिले वर्तमान संविधान अनुसार नेपाल एक लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । यहाँका केही जनता अहिले पनि आफूलाई प्रजा बुझेर तानाशाही सरकारभित्र राख्न चाहेका छन् । अहिले नेपाली जनता स्वतन्त्र छन् । आफ्ना शासन आफै गरिरहेका छन् ।

लोकतन्त्रमा जनताभन्दा माथि कोही पनि हुँदैन । राजनीतिशास्त्रले निकै धेरै सिद्धान्तहरू प्रतिपादन गरे पनि लोकतन्त्रलाई सर्वोत्तम श्रेणीमा राखेको छ । यस व्यवस्थामा जनताले जनताद्वारा जनताका लागि सरकार बनेको हुन्छ । अब प्रश्न उठ्छ तपाईं कस्तो सरकार चाहनु हुन्छ, त्यस्तै सरकार बन्छ । तपाईं अर्थात जनताकै हातमा छ । अहिले आम निर्वाचनमा भाग लिँदै हुनुहुनेछ । अहिले चुकेको जनताले भोलि जेगरेपनि ५ वर्षसम्म पचताउनु सिबाय अरू केही हुँदैन । त्यसैले सोच विचार गरेर मात्र मतदान गर्दा तपाईं एउटा इमान्दार, कर्तव्यनिष्ट, जनताप्रति निष्ठावान, निःस्वार्थ, राष्ट्रभक्त जस्ता प्रतिनिधि पाउनु हुनेछ, जो तपाईको सुखदुःखमा साथ दिनेछन् । अहिले विचार नगरेर हतारमा वा कसैको बहकाउमा यदि तपाई भोट हाल्नुभयो भने भोलि जेगर्दा पनि बदल्न पाउनु हुनेछैन । त्यसैले मत हाल्दा एकचोटी आफ्नै छातीमा हात राखेर विचार गर्नुस् र सोच्नुस् हामीले कस्ता उम्मेदवारलाई आफ्ना भोट दिने । तपाईं कहाँ अहिले ठूल्ठूला आश्वासन दिन दिनरात उम्मेदवार मात्र होइन उसका कार्यकर्ता, पारिवारिक सदस्य, छिमेकी, इष्टमित्र आदि दौडादौडमा छन् । के निर्वाचन पछि पनि यिनीहरू यस्तै साथ दिन आउँछन् त ? यदि आउँदैन भने तपाईं यस्ता मिठो कुराको लोभ लालचमा नपर्नुस् यदि पर्नु भयो भने ५ वर्षसम्म तपार्इंले जेगर्दा पनि उनीहरूको सहयोग पाउनु हुने छैन । दोस्रो कुरामा तपाईंको व्यक्तित्व पनि चिनिन्छ । तपाईं जो स्तरमा हुनुहुन्छ त्यस्तै उम्मेदवारलाई पत्याउनु हुन्छ । त्यसैले यहाँका जनताले नै विचार पु¥याउनु पर्नेहुन्छ कि इमान्दारलाई भोट हाल्ने कि बेइमानलाई । बेइमान कसैको हुँदैन । उसले सधैं विवेकहीन कामतिर आफ्नो चासो राखेको हुन्छ । त्यसैले निर्वाचन ताका तपार्इं मतदाताहरू सोच्नुस् कि इमान्दार लिने कि बेइमान सांसद । तपाई यदि सोच्नु भएन भने तपार्इं कै हातबाट पहिलो भ्रष्टाचारका काम शुरू हुन जानेछ अर्थात तपार्इं पहिलो भ्रष्टाचारी व्यक्ति बन्नु हुनेछ । विचार गर्नेस् त के बन्ने ? हामी सधैं सुन्ने गर्छौ, नेपालका नेताहरू निकै भ्रष्ट छन् ।

यस्ता भ्रष्टाचारीलाई जन्म दिने हामी नै हौं । एउटा सांसद इमान्दार भयो भने इमान्दार सरकार बन्छ । सांसदहरू नै भ्रष्ट भए सरकार भ्रष्ट हुनु स्वभाविकै हो नि त ! अरूतिर औंला ठड्याउनु भनेको आफूतिर पनि हेर्ने गर्नु पर्छ । देश नेताको मात्र होइन, जनताको हो । जनताले नेता जन्माउँछ । हामी जस्तो रोप्छौं, त्यस्तै फल पाउँछौं । निर्वाचन ताका शिक्षाको पनि निकै ठूलो भूमिका हुन्छ । शिक्षित व्यक्ति चुनिएर जाँदा पक्कै एउटा अशिक्षित भन्दा राम्रो कामको आशा गर्न सकिन्छ । यसमा मेरो भनाइ के छ भने सबै अशिक्षित विवेकहीनै हुन्छ भन्न खोजेको होइन । कतिपय शिक्षित व्यक्ति समेत विवेकहीनतालाई आफ्ना व्यवहारमा प्रकट गरेका हुन्छन् । तर जे जस्तो भए पनि शिक्षित र अशिक्षितको तुलना गर्दा, शिक्षितको पलडा जरूर भारी देखिन्छ । एका–दूका यस्ता व्यवहारका भए पनि अधिकांश शिक्षित यस्तो गर्ला भने जस्तो लाग्दैन । त्यसैले भोट हाल्दा शिक्षा र चेतनालाई विचार गरेर भोट हाल्नुपर्छ । जुन व्यक्तिमा चेतना हुन्छ उसले काम गर्दा पक्कै पनि आफ्नो चेतनालाई प्रयोग गर्छ होला । कतिपय मतदाताबाट नयाँ/पुरानोका कुरा पनि सुनेको छु । नयाँ/पुरानोमा विभेद हुँदैन । कतिपय कुरामा नयाँ ठीक हुन्छ भने कतिपय कुरामा पुरानो र अनुभवी उम्मेदवार ठीक हुन्छ । नयाँ उम्मेदवारसँग जोश/जाँगर हुन्छ भने पुरानोमा विगतको अनुभव हुन्छ । युवामध्ये पनि विवेकहीन, भ्रष्टाचारी तथा जिम्मेवारविहीन हुन सक्छ भने कतिपय पुरानो उम्मेदवार भ्रष्ट, नैतिकहीन तथा शोषक प्रवृतिका हुन सक्छन् । त्यसैले भोट हाल्दा यी सबै कुरामा ध्यान पु¥याउँदा जरैदेखि भ्रष्टाचार उन्मूलन हुने बढ्दो सम्भावना बन्न जान्छ, होइन भने भन्न सकिन्न । यी भ्रष्टाचारीहरूका व्यवहारले नै व्यवस्थामाथि प्रश्न चिह्न उठेको छ । कतिपयले के भन्न थालेका छन् भने जो व्यवस्था आए पनि उस्तै हो नि त ! अर्थात लोकतन्त्रको तुलना पनि तानाशाही सरकारसँग गर्न पछि पर्दैनन् । पञ्चायती सरकारले गरेका व्यवहार यदि लोकतन्त्रमा पनि दोहोरिन्छ भने दुबैमा के फरक भयो त !

यसको फरक जनताले नै छुट्याउन सक्छन् । अहिले हुने निर्वाचनमा त्यस्तै व्यक्तिलाई हामीहरू भोट दिन्छौं भने कसरी फरक हुन सक्छ । त्यस्तै विगतको निर्वाचनमा जे भयो, अब हुने निर्वाचनमा त्यस्तो व्यवहारलाई नदोहोराऔं । अहिले देश कस्तो भ्रष्ट भइसकेको छ, त्यो कुरा कसैसँग लुकेको छैन । एउटा यस्तै भ्रष्ट कर्मचारी सामुने मैले अलिकति इमान्दारीको कुरा उठाउँदा उसको भनाइ के थियो भने लोकतन्त्र सबैका लागि आएको हो नि त ! अर्थात उसलाई पनि घूस खान लोकतान्त्रिक अधिकार छ । कुनै कुनैले कसरी परिभाषित गरेका छन् । यी सबैका मूल जडा निर्वाचन नै हो । हामी जति इमान्दारीपूर्वक आफ्ना भोट हाल्छौं त्यति नै इमान्दार सांसद तथा सरकार पाउने छौं । अहिलेको मूल सवाल यही हो । निर्वाचनकै बेला मासु माछाका पसलहरूमा किन बढी भिडभाड देखिन्छ त ? रक्सीको भट्ठी किन भरिभराउ देखिन्छ त ! यसका जबाबतिर खोजतलास गर्दा प्रष्ट उत्तर आउँछ कि यसका भूल दोषी हामी छौं । हाम्रा व्यवहार जति शुद्ध हुन्छ त्यतिनै इमान्दार र नैतिकवान सांसद भोलि हामी पाउँछौं । यहाँका जनता अहिले पनि आफ्नो अधिकार र कर्तव्यका बीच फरक छुट्याउन सकेका छैनन् । ती अधिकार र कर्तव्यलाई ठीकसँग प्रयोग गर्न सक्ने हो भने हामी पक्कै चाहे जस्तो सांसद पाउन सक्छौ होइन भने यस्तै हो । निर्वाचनका बेला तपाईं हेर्नुहुन्छ जताततै दलालैदलाल हुन्छन् । दलालको सहयोग बिना निर्वाचन जित्न पनि गाह्रो छ । यिनीहरूका सहयोग बिना घर–जगा पनि खरिद– बिक्री गर्न गाह्रो छ, डेरा दिन र पाउन पनि उनकै सहारा लिनु पर्ने हुन्छ । यातायात, मालपोत, नापी, भन्सार, अदालत आदिमा समेत यस्तै दृश्य हेर्न सकिन्छ । निर्वाचनमा पनि यस्ता दलाली किन नहोस् ?

गाउँ– गाउँमा रांगा र खसीहरू ढालिन्छन्, विहान र बेलुका चिया पसलहरूमा भन्दा साँझका भट्ठी पसलहरू भरिभराउ हुन्छन्, क्लव, पुस्तकालय तथा युवा संघको कार्यालयहरूमा खेलकूदका नयाँ सामान र सामग्री भित्रिन्छन्, झोपडीमा पनि नयाँ सारी र हजारका नोट भेटिन्छन् । यस्ता पाएका सरसामान र रूपैया कति दिन चल्ला ? भोलि त फेरि कमाइ कै भर हुन्छ । के एक दिन मीठो खाएर वर्षौवर्षका अधिकारलाई गुमाने त ! यस्ता काम त विवेकहीनै मतदाताबाट सम्भव हुन सक्छ । त्यसैले यस्ता विवेकहीन मतदाता नबनौं । आफ्ना मतलाई सही ठाउँमा प्रयोग गरेर सही व्यक्ति छनौट गर्दा विकासका कामहरू घर दैलोमा छिट्टै आउन सक्छन् । सडक, बाँध, पुल, कुलो कुलेसा, विद्यालय, अस्पताल आदि कुराको निर्माण छिट्टै हुन सक्छ, होइन भने यस्तै भ्रष्टाचारी युगको निरन्तरता हुन जानेछ । मेरो मताधिकारको प्रयोग व्यक्तिगत लाभका लागि होइन, सार्वजनिक हितका लागि हो । त्यसर्थ मेरो भोट भ्रष्टाचारीलाई होइनः सदाचारीलाई, अशिक्षितलाई होइनः शिक्षितलाई, विवेकहीनलाई होइनः विवेकीलाई जानु पर्छ । यस्ता गर्दा मात्रै हामी सही लोकतान्त्रिक सरकार पाउन सक्छौं । यस्ता भ्रष्टाचारीहरूका सम्बन्ध तलदेखि माथिसम्म हुन्छ । कहिले काँही के देखिन्छ भने अफिसका खरदार÷सुब्बाहरू बलीका बोका बन्न जान्छन् । यो देशको लागि दुर्भाग्य हो । अधिकांश नेताहरू ठेक्कापट्टा गर्ने ठेक्केदार जस्तो काम राजनीतिमा देखाइ रहेका हुन्छन् । ठेक्कापट्टामा नाफा घाटाको कुरो हुन्छ । यहाँका अधिकतर उम्मेदवार हरूले यस्तै काममा तल्लीन छन् । निर्वाचनका बेला जनताको घरदैलोमा गइ दलाल मार्फत पैसा बाड्ने गर्छन । होटल फ्री गरेका हुन्छन् । भट्ठीमा रक्सी सित्तैमा पिलाउने काम गर्छन । लता/कपडा बाँड्छन् । यति गर्दा पनि नपुग्दा अग्रिम विभिन्न किसिमका प्रलोभन दिने गर्छन । त्यतिबाट नभएर केही गुण्डा नाइकेहरूद्वारा धाक/धम्की दिने काम पनि गरेका हुन्छन् । यो त अहिले सामान्य कुरा भै सकेको छ । कम आय भएका व्यक्तिहरू निर्वाचनमा जान्नै सक्दैनन् । आजको समयमा निर्वाचनमा उम्मेदवार बन्न कम्तीमा एउटा क्षेत्रका लागि ५–१० करोड रूपैया साधारण कुरो हो ।

जित्नेले जित्छ अन्य सबै हार खाएर आ–आफ्ना घर फर्किन्छन् । निर्वाचनलाई एउटा जुवाको क्षेत्र बनाएर छोडेका छन् । यसरी ठिक्कापट्टामा हुने निर्वाचनले कसरी एउटा इमान्दार व्यक्तिलाई निर्वाचन जिताउन सक्छ । ठाउँ/ठाउँमा भ्रष्टाचारी छन् । टिकट लिने दिनदेखि नै लेनदेन शुरू भैहाल्छ । पार्टीका अधिकांश नेता पार्टीबाट टिकट किनेर नै निर्वाचन लडेका हुन्छन् । निर्वाचनको क्षेत्रमा आउँदा आउँदै कैयौं लाख खर्च भई सकेको हुन्छ । निर्वाचन टिकट पाउनेदेखि कै दिनबाट भोज भतेर शुरू भै हाल्छ । के देखिन्छ भने नेपाल गरिब भए पनि निर्वाचन ताका सबै उम्मेदवार अमिरी प्रदर्शन गरेका हुन्छन् । कोभन्दा को कम पत्ता लगाउन कठिनै हुन्छ । पार्टीहरू पनि आ–आफ्ना उम्मेदवारलाई वाहवाही गरेका हुन्छन् । यही राजनीतिको फोहरी खेल र राजनीतिलाई यस्ता फोहरी खेलमा फसाउने नेता तथा पार्टीहरू कहिले पनि जनतासँग गरेको बाचा पूरा गर्न सक्दैन । राजनीति त एउटा त्याग हो । राजनीति भनेको एउटा आदर्श हो । राजनीति एउटा नमूना हो । यसका नेताहरूका व्यवहार सादा जिन्दगी तथा उच्च विचारसँग सम्बन्धित हुनु पर्छ । राजनीति एउटा त्यागको नाम हो । जनता सामुन्ने गरेका बाचा जसरी पनि पूरा गर्ने प्रयासमा लाग्नु नै नेताको मूल काम हो । यहाँ नेताहरू जनताका शासक ठान्दछन् । उनीहरू बास्तवमा जनताका सेवक हुन् । जबसम्म नेताहरू जनताको सेवकको भूमिकामा आउँदैनन् तबसम्म देश बन्दैन । हाम्रो देशमा केही नेताको नाम बडो आदरपूर्वक लिने गरिन्छ । उदाहरणको रूपमा विपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, गणेशमान सिंह, सुशील कोइराला, मदन भण्डारी लगायत यस्तै अन्य नेताहरूलाई लिन सकिन्छ । यिनीहरू मध्ये कतिले प्रधानमंत्री पदमा बस्दा पनि कुनै भ्रष्टाचारको काम गरेको देखिएन । यस मध्येका कतिपय नेता त पदमा जान मानेनन् । कति त्याग रहेछ ।

आजका नेताहरू पदकै लागि होड मच्चाएर पार्टी फोड्ने सम्मको कामबाट पछि पर्दैनन् । अहिले संविधान जोगाउन पार्टीबाट विद्रोह गरी नयाँ पार्टी निर्माण गरेर संविधान जोगाउन गरेका प्रयासलाई कम त्याग मान्न सकिँदैन । अहिले देशमा हुन लागेको निर्वाचनमा संविधान पक्षीय र संविधान विरोधी बीचको जनमत संग्रहको रूपमा समेत लिन सकिन्छ । हेर्दै जाऔं, जनता कसलाई साथ दिन्छन्ः अग्रगामी कि प्रतिगामीलाई । यी दुबै कितामा बस्ने पार्टीहरू आ–आफ् ना कित्तामा बसेर जनतासँग आफ्ना मत माँगि रहेका छन् । लोकतन्त्रमा जनताको मत नै सबैभन्दा ठूलो निर्णायक शक्ति हुन्छ । यसलाई कुनै पार्टीले विर्सनु हुँदैन । निष्कर्षमा के भन्न सकिन्छ भने मङ्सिर ४ गतेमा हुने निर्वाचनलाई आ–आफ्ना ठाउँबाट कसरी निर्वाचन निष्पक्ष तथा भ्रष्टचाररहीत होला, त्यतातिर देशका सबै बुद्धिजीवी, शिक्षक, प्राध्यापक, चिकित्सक, किसान, विद्यार्थी, राष्ट्रसेवक, मजदूर, अभिभावक लगायत अन्य तप्काका सबै मिलेर निष्पक्ष निर्वाचनका लागि आ–आफ्ना ठाउँबाट आवाज बुलन्द गरौं । यहींबाट देशलाई भ्रष्टाचारमुक्त बनाऔं । इतिश्री । लेखक त्रिविका अवकाशप्राप्त सह–प्राध्यापक तथा अन्वेषक हुन् ।

Comment


Related News

Latest News

Trending News