निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिता भित्र रहेर सबैले काम गर्नुपर्नेमा जोड दिइएको छ ।
बुधबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) सप्तरीले आयोजना गरेको “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ पर्यवेक्षकका लागि अभिमुखीकरण” कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो जोड दिएका छन् । कार्यक्रममा मधेशी आयोगकी सदस्य आभासेतु सिंहले निर्वाचन आचारसंहिताको भित्र रहेर सबैले काम गर्नुपर्नेमा जोड दिँदै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न भए मात्र देशले सही प्रतिनिधि पाउने बताइन् । मधेशी आयोगका अर्का सदस्य जिवछ साहले निर्वाचन पर्यवेक्षणमा खटिने प्रतिनिधिले कसैको पक्ष विपक्षमा नलागेर मतदान स्थलमा देखिने यर्थात अवस्थालाई समेटेर माथिल्लो निकायमा सत्यतथ्य रिपोटिङ गर्नुपर्नेमा जोड दिए । सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन राजनीतिक दलका साथै सबै सरोकारवालाहरु जिम्मेवार बन्नु पर्नेमा जोड दिए । उनले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको भूमिका उत्तिकै महत्वपूर्ण रहेकाले आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि अपिल समेत गरे । नियोक सप्तरीका संयोजक जंगबहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा आदिवासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापा मगर, समावेशी आयोगका सदस्य विष्णु ओझा, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिला थापा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले लगायतले पनि निर्वाचन आचारसहिंताको प्रभावकारी कार्यान्वयनका लागि अपनाउनु पर्ने विधि बारे आ–आफ्नो धारणा राखेका थिए ।


