२०७९ मंसिर २, शुक्रबार ०७:२९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान स्थलमा कर्मचारीहरु खटिएका छन् ।

बिहीवार साँझ सबै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । धनुषामा करिब पाँच हजारभन्दा बढी कर्मचारी र सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन हुने दिनसम्म उनीहरु मतदान स्थलमै बास बस्ने छन् । शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण हुने प्रमुख निर्वाचन अधिकृत श्रीधर पन्थीले जानकारी दिए । उनका अनुसार सबै निर्वाचन केन्द्रमा कर्मचारी पुगिसकेका छन् । कर्मचारीहरुलाई निर्वाचनमा आवश्यक पर्ने मतपत्रसहित ५२ प्रकारका सामग्री दिइएको छ । प्रत्येक मतदान केन्द्रमा ८ जनाको हिसाबले कर्मचारी खटाइएको छ । आठ जनामध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी रहेका छन् ।

मतदाता संख्याको आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतले ३ देखि ४ जनासम्म स्वयंसेवकसमेत खटाउन पाउने निर्वाचन अधिकृत पन्थीले बताए । धनुषामा तीन सय २२ वटा मतदानस्थल र ६ सय पाँच मतदान केन्द्र छन् । यी मध्ये एक सय ९४ अतिसंवेदनशील, एक सय ११ संवेदनशील र १७ वटा सामान्य मतदान स्थल छन् । यासपालि धनुषामा चार लाख ७४ हजार पाँच सय ८७ मतदाता छन् । धनुषामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमा निर्वाचन भइरहेको छ । प्रतिनिधिसभामा धनुषाको सबै क्षेत्र मिलएर एक सय तीन जना प्रतिस्पर्धामा छन् भने आठ सिट रहेको प्रदेशसभामा एक सय ३८ जनाले उम्मेदवार छन् ।

Comment


Related News

Latest News

Trending News