आइबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशका मुख्यमन्त्रीसहित आठ जना मन्त्रीको भविष्य दाउमा लागेको छ । निर्वाचनमा चार जना मन्त्री जनता समाजावादी पार्टी (जसपा)बाट उम्मेदवार छन् ।
मुख्यमन्त्री लाल बाबु राउत पर्सा निर्वाचन क्षेत्र १ को ‘ख’बाट उम्मेदवार रहेका छन् । सोही दलका सप्तरी निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभाका लागि सामाजिक विकास मन्त्री रहेका नवल किशोर साह, सप्तरीकै निर्वाचन क्षेत्र २ को ‘ख’मा प्रदेशसभा सदस्य पदका लागि अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, सिरहा निर्वाचन क्षेत्र २ को ‘क’बाट भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजयकुमार यादव र सोही मन्त्रालयका राज्यमन्त्री योगेन्द्र राय यादवको भविष्य दाउमा लागेको छ । यादव रौतहट निर्वाचन क्षेत्र १ को ‘ख’बाट उम्मेदवार छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रदेशमा मन्त्री बनेका दुई जना चुनावी मैदानमा छन् । सिरहा निर्वाचन क्षेत्र ३ को ‘ख’मा कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादव र धनुषा निर्वाचन क्षेत्र ४ को ‘ख’बाट उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोको पनि भविष्य दाउमा छ । नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री रहेका भरतप्रसाद साह पनि महोत्तरी निर्वाचन क्षेत्र १ को ‘ख’मा उम्मेदवार छन् । प्रदेशमा पहिले चार दलको संयुक्त सरकार थियो । तर संघमा जसपाका मन्त्रीहरुलाई काँग्रेस नेतृत्वको सरकारले बर्खास्त गरेपछि मधेश प्रदेशमा पनि मुख्यमन्त्री राउतले काँग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका थिए । अहिले प्रदेशमा तीन दलको सरकार छ । र यी तीन दलका आठ मन्त्रीहरुको भविष्य आइतबार हुने चुनावसँग जोडिएको छ । अहिले मधेश प्रदेशमा ३२ प्रतिनिधिसभा र ६४ प्रदेशसभा सदस्य पदका लागि चुनाव हुँदै छन् ।
प्रदेशमा समानुपातिकतर्फ ४३ सिट छन् । एक सय सात सिटको लागि हुन गइरहेको निर्वाचनमा प्रत्यक्षतर्फ एक हजार सात र समानुपातिकतर्फ आठ सय ६३ जना उम्मेदवार छन् । यी मध्ये ९ सय ३२ जना पुरुष, ७४ जना महिला र एक जना अन्य उम्मेदवार छन् । मधेश प्रदेशमा ३६ लाख ८६ हजार ६ सय २८ जना कुल मतदाता रहेका छन् । सो मध्ये १८ लाख २७ हजार आठ सय ५४ पुरुष, १५ लाख ५८ हजार सात सय चार महिला र ७० जना अन्य मतदाता छन् । प्रदेशमा चार हजार दुई सय ३५ मतदान केन्द्र र दुई हजार एक सय ५६ मतदान स्थल रहेको छ । मधेश प्रदेशमा २ सय १२ सामान्य मतदान केन्द्र, ८ सय ८८ संवेदनशील मतदान केन्द्र र १ हजार ६३ अति संवेदनशील मतदान केन्द्र निर्धारण गरिएको छ । सोही अनुसार सुरक्षा व्यवस्था पनि मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा (सशस्त्र प्रहरी नायब उपरीक्षक) डिएसपीको नेतृत्वमा सुरक्षा बेस बनाइएको छ भने प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा स्ट्राइकिङ् बेसलाई परिचालन गरिएको छ । डिआईजी दिनेश ठडा मगरका अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा सई र असईको नेतृत्वमा ६ वटा मोवाइल टोली र मोवाइल टोलीको सहयोगका लागि ५ वटा क्वीक रियाक्सन टोली (क्युआरटी) परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा सिरहा र सप्तरीका लागि १ वटा, धनुषा र महोत्तरीका लागि १ वटा, सर्लाहीका लागि १ वटा रौतहटको लागि १ वटा र बारा र पर्साका लागि १ वटा गरेर ५ वटा क्युआर टिम परिचालन गरिएको छ । आपतकालीन अवस्थाका लागि बाहिनीमा १ वटा टिमलाई स्ट्यान्ड बाई राखिएको डिआईजी मगरले बताए । सूचना संकलन, साना हतियार लगायत, अपराध नियन्त्रणका लागि स्पेशल स्मार्ट टिम पनि विभिन्न स्थानमा खटाइएको उनले बताए ।
Please subscribe our official youtube channel below and support us.


