पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार जालिम मियाँका छोरा , नक्कली मतपत्र र गाडीसहित पक्राउ परेका छन् ।
मियाँका छोरा सहबीर अहमद, मौन अवधिमा गाडीमा प्रचार प्रसारमा हिडेको अवस्थामा नक्कली मतपत्र र स्वास्तिक छापसहित पक्राउ परेका छन् । उनीसंगै गाडीका चालक सुरज साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो कालिकामाई गाँउपालिका वडा नम्बर १ मुडलीमा सवारी साधन चेकजाँचका क्रममा बा १४ च ४७४८ नम्बरको हाइलेक्स गाडी रोकेर चेकजाँच गर्दा गाडी भित्रबाट नक्कली मतपत्र ५९८ थान र स्वास्तिक छाप ४ थान बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । मौन अवधिको समयमा चुनाव प्रचार प्रसारका लागि कुनै पनि गतिविधि गर्न नपाइने भए पनि गाडीमा मतपत्र र स्वास्तिक छाप बोकेर हिडेको अवस्थामा फेला परेपछि दुबैलाई नियन्त्रणमा लिइएको गिरीले बताए ।


