प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतवार भएको निवार्चनमा छिटपुट घटना वाहेक शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ६१ प्रतिशत भन्दा वढी मत खसेको छ । जिल्लामा तोकिएको ५ सय ३६ मतदान केन्द्रमा विहान ७ वजेदेखि अपरान्ह ५ वजे सम्म मतदान भएको थियो । कुल ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेको जिल्लामा करिब २ लाख ५५ हजार २ सय ८ मतदान भएको निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ । यद्यपि रुजु गर्ने काम भइरहेकाले यकिन संख्या सोमबार मात्र भन्न सकिने जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए । उनले जिल्लाको छिन्नमस्ता र रुपनी गाउँपालिकामा मतदानस्थल बाहिर दुई दलका समर्थकबीच कुटपिटको घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएका छन् । गत स्थानीयतहको निर्वाचनमा जिल्लामा ६३ प्रतिशत मत खसेको थियो । तर, ससंदीय निर्वाचनमा उक्त प्रतिशत पुग्न नसकेकोले स्थानीयतह जस्तो उत्साह नदेखिएको निर्वाचनमा खटिएका कर्मचारी र पर्यवेक्षकहरुले बताएका छन् ।
जिल्लामा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि मतदान भएको छ । जिल्ला निर्वाचन अधिकारी जोशीले मतपेटिका समबन्धित मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको छ । उनले सबै मतपेटिका संकलन भइसकेपछि आवश्यक प्रक्रिया पूरा गरी सम्भवत सोमवार विहान ८ वजेदेखि मतगणना शुरु गर्ने तयारी रहेको जनाएका छन्। मतपत्रको बक्सामा कसको पल्ला भारी होला ? भन्ने आंकलन नगर र गाउँमा निकै चर्चा हुन थालेको छ । सम्पन्न प्रतनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसले कति मत प्राप्त गर्लान भनेर नेता, व्यापारी, किसान तथा विभिन्न क्षेत्रका व्यक्ति चुनावी आंकलनमा रमाएका छन् । मतपेटिका राखिएको ठाउँमा अहिले निगरानी कडा पारिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको मतपेटिका संकलन गरी राखिएको स्थानमा सीसी क्यामराले समेत निगरानी गरिएको छ ।


