रौतहटको चार निर्वाचन क्षेत्र मध्ये १ र ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ भने क्षेत्र नं २ र ३ को मतगणना अझै जारी नै रहेको छ । जिल्लामा रहेको आठवटै प्रदेशसभाको नतिजा पनि सार्वजनिक भएको छ ।
सार्वजनिक भएको नतिजा अनुसार रौतहट क्षेत्र नं १ को प्रतिनिधिसभा र दुबै प्रदेशसभा सत्तारुढ गठबन्धनले जितेको छ । क्षेत्र नं १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । नेकपा एमालेका अजय गुप्तालाई ६ हजारभन्दा बढी फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्ष नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपालले ३३ हजार ५ सय २२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका गुप्ताले २६ हजार ९२२ मत पाएका छन् । नेता नेपाल रौतहटबाट दोश्रो पटक निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा एमालेबाट काठमाण्डु २ बाट निर्वाचित भएका माधव नेपाल यसपालि रौतहट १ बाट एकीकृत समाजवादीबाट उम्मेदवारी दिइ विजयी भएका छन् ।
यसैगरी क्षेत्र नं १ को (क) र (ख) दुबै प्रदेशसभामा नेपाली कांग्रेसले जितेको छ । प्रदेशसभा (क) बाट नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र साह निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार राजकिशोर यादवलाई १ हजार ६३९ मतले पराजित गर्दै साह प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । साह १० हजार ५०२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी एमालेका यादव ८ हजार ८६३ मत पाएका छन् ।
प्रदेशसभा (ख) मा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार राजेश चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गर्दै यादवले प्रदेश सभामा निर्वाचित भएका छन् । कांग्रेसका यादवले १२ हजार ४८९ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी चौधरीले ११ हजार ४०० मत पाएका छन् । चौधरी २०७४ मा पनि यसै क्षेत्रबाट प्रदेश सभामा लडेका थिए तर मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवबाट झिनो मतले पराजित भएका थिए । चौधरी दोश्रो पटक चुनाव हारेका छन् । २०७४ मा चौधरीलाई पराजित गर्ने राज्य मन्त्री यादव यसवर्ष कांग्रेसका कृष्ण यादवसंग पराजित भएका छन् ।
क्षेत्र नं २ को (क) मा नेकपा एमालेका उम्मेदवार जैद राजा (आलम) निर्वाचित भएका छन् । जैदले कुल १३ हजार ५३२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी वर्तमान प्रदेशसभा सदस्यसमेत रहेका स्वतन्त्र उम्मेदवार नागेन्द्र सिन्हाले ६ हजार ८७२ मत ल्याउँदै पराजित भएका छन् ।
निर्वाचन क्षेत्र २ को प्रदेशसभा (ख) बाट एकीकृत समाजवादीका कनिस पटेल विजयी भएका छन् । पटेलले आफना निकटतम प्रतिद्धन्दी जसपाका उम्मेदवार रामकिशोर यादवलाई ४०९ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका छन् । पेशाले इन्जिनियर समेत रहेका पटेलले कुल १० हजार ४४२ मत पाएका छन भने उनका निकटतम् प्रतिद्वन्द्वी यादवले १० हजार ३३ मत ल्याए । २०७४ को चुनावमा यादव यसै क्षेत्र बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
क्षेत्र नं ३ को प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार केशव चौधरी विजयी भएका छन् । चौधरीले आफना निकटतम प्रतिद्वन्दी जसपाकी पूजा चौधरी र नेकपा एकीकृत समाजवादीका नेता एवं मधेश प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण राज्य मन्त्री नागेन्द्र यादवलाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित भएका छन् । केशव चौधरीले १२ हजार २५५ मत ल्याउँदा पूजा चौधरीले १० हजार १३२ मत ल्याएकी छन् । २०७४ मा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित वन राज्य मन्त्री यादव यसपटक स्वतन्त्र उम्मेदवार केशव चौधरीसंग पराजित भएका छन् ।
क्षेत्र नं ३ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेस रौतहटका सभापति सुनिल कुमार यादव भन्ने जितेन्द्र निर्वाचित भएका छन् । कांग्रेसका यादवले पूर्व प्रदेश सभामा सदस्यसमेत रहेका स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहालाई ३ हजार १३३ फराकिलो मतान्तरले हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यादवले १३ हजार ८३४ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्वन्दी कुशवाहाले १० हजार ७०१ मत पाएका छन् ।
क्षेत्र नं ४ (क) बाट नेकपा माओवादी केन्द्रका युवराज भट्टराई (समिर) बुधवार नै निर्वाचित भइसकेका छन् । निर्वाचन क्षेत्र ४ को प्रदेशसभा (ख) बाट जनता समाजवादी पार्टीका शेख अब्बुल कलाम आजाद भन्ने (फुलबाबु) पुनः दोश्रो पटक निर्वाचित भएका छन् । फुलबाबुले आफ्ना निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार संजय यादवलाई २ हजार ८६६ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जसपाका फुलबाबु ८ हजार ७४१ मत ल्याएका छन भने संजय यादवले ५ हजार ८७५ मत ल्याएका छन् । अर्का प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका शेख सतारले ४ हजार ७५४ र स्वतन्त्र उम्मेदवार रवि जयसवाल ३ हजार ८६१ म्त ल्याएका छन् । २०७४ मा स्वतन्त्रबाट प्रदेश सभामा निर्वाचित फुलबाबु यसपटक भने जसपाबाट पुनः दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
यसैबीच निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना विजयी भएका छन् । तिमल्सिनाले नेकपा एमालेका उम्मेदवार उद्धव प्रसाद रेग्मीलाई ७ हजार ६०२ मतले पराजित गर्दै दोश्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका तिमल्सिनाले कुल ३४ हजार १६१ मत ल्याउँदा एमालेका रेग्मीले २६ हजार ५५९ मत ल्याएका छन् । २०७४ मा क्षेत्र नं ४ बाटै निर्वाचित तिमल्सिना पुनः दोश्रो कार्यकालका लागि पनि निर्वाचित भएका छन् ।


