अपडेट 
२०७९ मंसिर ११, आईतवार ०८:१४

यसपल्टको निर्वाचनको परिणामले सवैभन्दा बढी माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई झस्काएको छ । मधेशका ‘मसिहा’को रुपमा सम्मान पाएका सप्तरी–२बाट उपेन्द्र यादव पराजित हुनु भएको छ । मधेश र मधेशी समुदायको लागि पटक पटक आन्दोलन हाँक्ने व्यक्ति, सोही समुदायको बर्चस्व रहेको निर्वाचन क्षेत्रबाट पराजित हुने विषयलाई गहिरो ढङ्गले विश्लेषण गर्नुपर्छ । राजनीतिमा लामो अनुभव र पन्द्रह बर्षदेखि अनवरत रुपमा पार्टीको अध्यक्ष पदमा आसिन व्यक्ति अप्रत्यासित रुपमा भारी मतले पराजित भएपछि विभिन्न किसिमका प्रश्न उठ्नु स्वभाविक हो । यो पराजयको मुख्य कारण खोतल्नुभन्दा पहिले विगतका पृष्ठभूमिलाई समेत स्मरण गर्नुपर्छ । माओवादी जनयुद्ध लडेर अन्ततः राष्ट्रको मूलधारमा समाहित भएको हो । अन्तरिम संविधानमा सङ्घीयता नसमेटिएको भनेर मधेशी जनअधिकार फोरम नामक मञ्चमार्फत उपेन्द्र यादवहरु सो संविधानको प्रतिलिपि जलाएपछि पक्राउमा पर्नुभएको थियो । लहानमा रमेश महतोको मृत्युपछि पहिलो मधेश आन्दोलन भएको थियो । उक्त आन्दोलनले उपेन्द्रको उचाई ह्वात्तै बढायो । उपेन्द्र यादवको नेतृत्वमा तीनपटक मधेश आन्दोलन भएको छ । २०६४ सालको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले मधेशमा र माओवादीले राष्ट्रव्यापि रुपमा अपार जनसमर्थनका साथ जितेको थियो । माओवादी केन्द्रले एक्लै प्रत्यक्षतर्फको पचास प्रतिशत सिटमा जित हात पारेको थियो । माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा मधेशी जनअधिकार फोरम सरकारमा सहभागी भएका थिए । माओवादीमा जनयुद्ध धङधङीको प्रभावले गर्दा प्रधान सेनापति रुक्माङगद् कटुवाललाई नै हटाउने निर्णय ग¥यो । कटुवाल त हटेन, प्रचण्डले आफैं राजीनामा गरेर बाहिरिए । त्यसपछि, नयाँ सरकारको गठनको विषयमा विवाद हुँदा अन्ततः फोरम फुट्यो । त्यसपछि, फुट्ने र जुट्ने क्रम चल्दै रह् यो । पहिलो संविधानसभाबाट संविधान निर्माण हुन सकेन् । संविधान निर्माणको प्राथमिकताभन्दा मन्त्री बन्नका लागि तछाडमछाड देखेर मधेशी जनतामा वितृष्णा उत्पन्न भयो । सो कारणले २०७० सालको दोश्रो निर्वाचनमा उपेन्द्रको र माओवादीको पार्टीलाई नराम्ररी पराजयको पीडा भोग्नु प¥यो । २०७२ सालमा संविधान निर्माणको प्रक्रिया शुरु हुनासाथ मधेशकेन्द्रीत दलहरु संसदमा आफ्नो पक्ष राख्नुभन्दा सडक सङ्घर्ष रोज्यो । संसद्मा कडा विरोध गर्नुपर्ने थियो । तर, आन्दोलन गर्दा मधेशमा दर्जनौं व्यक्तिको मृत्यु भयो भने एकसयभन्दा बढी घाइते भएका थिए । आन्दोलनको क्रममा केपि ओलीको कटाक्षको मधेशमा व्यापक विरोध भयो । उहाँको अर्नगल कुराले गर्दा मधेशी समुदाय झन आक्रोसित भएका थिए । मुलुकमा संविधान जारीपछि उपेन्द्र यादवहरुले केपि ओलीलाई मधेश निःषेधको घोषणा गरे ।

त्यसको जवाफमा सप्तरीको मलेठमा केपि ओलीको उपस्थितिमा एमालेको आमसभा भयो । सो आमसभाको क्रममा गोली चल्दा अनाहकमा पाँच जनाको मृत्यु भयो । मोरङको रङ्गेलीमा एमालेको कार्यक्रम हुँदा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भयो । मधेशमा अहिलेपनि केपि ओलीप्रति मधेशी समुदायमा नकारात्मक सोचाइ छ । यो कुरा उपेन्द्रले सम्झेर पनि बलमिच्याँइ गरी चुनावी तालमेल गर्नुभयो । २०७२मा जारी संविधानमा मधेशीको हक अधिकारलाई समेटिएको थिएन् भने चुनाव बहिष्कार गर्ने आँट देखाउनुपर्ने थियो । विरोधपनि गर्ने र सोही संविधानमार्फत निर्वाचनमा सहभागी हुने दोधारे नीति अपनाएर मधेशकेन्द्रीत दलहरुले स्थानीयतहका साथै २०७४को केन्द्र र प्रदेशको निर्वाचनमा सहभागी भए । उहाँहरुले संविधानको पुनर्रलेखन गराउने वाचासहित चुनावमा सहभागी भए । ओलीको कट्टर आलोचक राजेन्द्र महतोले जनकपुरबाट चुनाव जित्नका लागि एमालेको अप्रत्यक्ष सहयोग लिएको थियो । यो कुरा उहाँले घुमाउरो ढङ्गले सञ्चारकर्मीसमक्ष स्वीकार गर्नुभएको हो । जेभएपनि, मधेशमा मधेशकेन्द्रीत दलले संसदीय र प्रदेशसभाको निर्वाचनमा राम्रै सफलताप्राप्त ग¥यो । उक्त निर्वाचनमा बाम गठबन्धनले झण्डै दुई तिहाई सिट जितेको थियो । ओलीलाई सरकार बनाउनका लागि मधेशकेन्द्रीत दलको आवश्यकता थिएन् । उपेन्द्रजीलाई प्रतिपक्षमा बसेर संविधान संशोधनका लागि दवाव बनाउनुपर्ने थियो । संविधान निर्माणको क्रममा मधेश आन्दोलनको दमन र मलेठ एवम् रङ्गेली घटनाको दोषिमाथि कारवाही, पीडितलाई राहत र आन्दोलनको क्रममा चलाइएका मुद्धा फिर्ताका लागि संसद्मा जोडदार आवाज उठाउनुपर्ने थियो । जुन ओलीलाई सत्तोसराप गर्नु हुन्थ्यो । अन्ततःसोही ओलीको नेतृत्वमा मन्त्री बन्नका लागि प्रचण्डमार्फत प्रयास गर्नुभयो । प्रचण्डले नै यो कुरा सार्वजनिक गरेको थियो । उपेन्द्रजी मन्त्री त बन्नुभयो । उपेन्द्रलाई मन्त्री बनाउनु एक किसिमले ओलीको सवैभन्दा ठूलो जित थियो । जसले मलाई (केपी) सत्तोसराप गर्दथ्यो, पुतला जलाउथ्यो र मधेशमा निःषेधको घोषणा गरेको थियो । त्यस व्यक्तिलाई आफ्नो मन्त्रिमण्डलमा ठाउँ दिएको छुँ । मभन्दा बढी उदारवादी नेता कोही छ र ! जस्तो सन्देश ओलीले दिएकै रुपमा सम्झनु पर्छ । एक बर्षपछि उपेन्द्र यादव मन्त्री पद छोड्नु भयो । ओलीको विरोधमा खुलेर उत्रनु भयो । ओलीले पार्टी फोड्नका अध्यादेशमार्फत विधेयक ल्याएको थियो । सो समयमा उपेन्द्रको पार्टीमा आन्तरिक कलह छताछुल्ल भइसकेको थियो । पार्टी विभाजनलाई रोक्नका लागि रातारात उपेन्द्र यादवले महन्थ ठाकुरसँग छलफल गरी जनता समाजवादी पार्टीको गठन ग¥यो । पार्टी एक भएपनि मन मिल्न सकेन् ।

सोही ओलीलाई हटाउन र बचाउनका लागि जसपा विभाजित भयो । महन्थ ठाकुरहरु ओलीलाई समर्थन गर्ने निर्णय गरेपछि आठ जना मन्त्री बन्न शौंभाग्य पाएका थिए । सो घटनापछि उपेन्द्र यादव झन आक्रोसित हुँदै ओलीलाई प्रतिगमणकारीको संज्ञा दिएको थियो । ओली हटेपछि सत्ता गठबन्धनमार्फत जसपा सरकारमा सहभागी भए । निर्वाचनमा गठबन्धनमा सिटको विषयमा कुरा नमिलेको भनेर उहाँ ओलीसँग चुनावी तालमेल गर्नुभयो । यस्तो किन ? २००७ सालको क्रान्तिको समयदेखि नै गजेन्द्रनारायण सिँह काँग्रेसी थियो । मुलुकमा पञ्चायती व्यवस्था लादिएप्छि सप्तरी काँग्रेसभित्रको किँचलोको कारण पार्टी छोडेर छुट्टै पार्टी गठन ग¥यो । तर, उहाँको ह्रिदयको एक प्रतिशत भएपनि काँग्रेसको ठाउँ थियो । बामपन्थी पृष्ठभूमिबाट उपेन्द्र यादव र ह्रिदेश त्रिपाठीको मातृ पार्टी कम्युनिष्ट नै हो । त्रिपाठीजी अन्तोगत्वा, एमालेको उम्मेद्वारको रुपमा सांसद् बने । उपेन्द्रजी एमालेबाट २०४८ सालमा चुनाव लडेको थियो । एमाले परित्याग गरी माओवादी केन्द्रमा पुग्यो । त्यो पार्टी छोडेर आफ्नै नेतृत्वमा पार्टीको स्थापना गर्नुभयो । तर, उहाँभित्र कतै न कतै एमाले छ । तसर्थ, पटक पटक ठक्कर खाएपनि सोही पार्टी नजिक पुग्नु हुन्छ । २०७९को निर्वाचनमा उपेन्द्र र ह्रिदेशबाहेक प्रायः मुख्य दलका अध्यक्षहरु निर्वाचित भएका छन् । सप्तरी–२बाट उहाँलाई जित्नका लागि फलामे च्यूँरा चपाउने सरह हुन्छ भनेर आकलन गरिएको थियो । सुनिन्छ, अन्तिम समयमा उहाँ सोही क्षेत्रबाट चुनाव लड्ने निर्णय लिनु भयो । यो घातक निर्णय सुझाउने को को हुन् ? चितवनको हावाको अनुभव गरेर प्रचण्ड गोरखा पुगे । क्षेत्र परिवर्तनको विषयलाई प्रतिष्ठाको विषय बनाउनु थिएन् । डा. राउतलाई मधेशमा आफ् नो बर्चस्व कायम गर्नु छ । उनको निर्णय आफ्नो ठाउँमा सहि थियो । त्यो प्रमाणित पनि भयो । मधेशी समुदायको गढ मानिएका सो क्षेत्रबाट उपेन्द्र यादवको पराजयले के सन्देश दिएको छ भने जनता भावनात्मक रुपमा एकपटक सहयोग गर्छन् । पटक पटक सहयोगका लागि जनताको भावनालाई सम्झनु पर्दछ । नत्र, दूधमा खसेको झिँगालाई जसरी औंलाले फालिन्छ, त्यसरी नेतालाई फाल्नमा जनताले बेर लगाउँदैन । यो उपेन्द्र यादवमा मात्रै लागू हुँदैन् । यो लोकोक्ति सवै निर्वाचित प्रतिनिधिमा लागू हुन्छ । मधेशमा ‘हर्न’को आवाज र देशमा ‘घण्टी’को मीठो ध्वनीले राजनीतिक वातावरणलाई तरङ्गित बनाएको छ । निर्वाचन जित हात पारेपछि उहाँहरु जनमानसमा चर्चा परिचर्चाको केन्द्रविन्दुमा रहेको देखिन्छ । मधेश र मधेशी समुदाय कसैको विरासत नरहेको भनेर मधेशकेन्द्रीत दललाई मधेश जनताले मतदानमार्फत सचेत गराएको र ठूला दलहरुका लागि रबि लामिछानेले खतराको घण्टी बजाएको रुपमा व्याख्या हुन थालेका छन् । अव, पनि मुख्य दलहरु नसच्चिए भने आउँदो निर्वाचनमा रबिको घण्टी मुख्य दलका लागि खतराको घण्टीमा परिणत हुनेछ ।

उपेन्द्रको पराजयको मुख्य कारण

सप्तरी–२बाट उपेन्द्र यादवलाई भारी पराजयको सामना गर्नु प¥यो । डा. सिके राउतको विद्वता र आपूm जमीनसँग जोडिएका व्यक्तिको रुपमा जनतासमक्ष प्रस्तुत गर्न सफल भएकाले उहाँको पक्षमा जनलहर नै देखिए । यसपल्टको निर्वाचनमा अधिकांस मतदाताले जातपात, धर्म, समुदाय र सिद्धान्तबाट माथि उठेर मतदान गरेका छन् । लोकतन्त्रको लागि यसलाई शुभ सङ्केतको रुपमा लिनुपर्छ । जनताले मतदानमार्फत परिवर्तन गर्नतर्फ बढी झुकाव राखेको स्पष्ट हुन्छ । उपेन्द्र यादवले केपि ओलीसँग गरेका चुनावी तालमेललाई नै मधेश प्रदेशमा पराजयको मुख्य कारणको रुपमा विश्लेषण हुन थालेको छ । केपि ओलीले यादवलाई सत्ता गठबन्धनबाट अलग पार्नमा सफल भए । सत्ता गठबन्धनबाट पूर्णरुपले सम्बन्धविच्छेद गरेर जसपाले एमालेसँग तालमेल ग¥यो । तर, मधेश प्रदेशमा आफ्नो अनुकुल क्षेत्रमा केपिले एउटा पनि सिट छोडेनन् । जसपालाई ‘यता न उता’को अवस्थामा राख्नमा केपि ओली रणनीति सफल भएको देखिन्छ । मधेशमा काँग्रेस वलियो भयो भने जसपा कमजोर हुने उपेन्द्रको पुरानो सोच नै घातक भयो । राजनीतिज्ञलाई दूरगामी सोच र जनताको झुकाव सम्झने क्षमता राख्नुपर्छ । डा. राउतले सटिक रणनीति अपनाएको थियो । सामाजिक सञ्जालको व्यापक प्रयोग गरेको थियो । मधेशी समुदायको विपन्न वर्गको मन छुने खालका गीतका साथै समस्याहरु उजागर गरेको थियो । अर्कोतर्फ, मधेशी महिलाको घरआँगनमा बसेर उनीहरुसँग गफगाफ गरेर आकर्षित पार्न प्रयासरत रह्यो । उपेन्द्र यादवले सत्ताको राजनीति गरेको र मधेशको अधिकारको लागि आवाज उठाउनमा असफल रहेको भनेर डा. राउतले जनमानसलाई सम्झाउनमा सफल रह्यो । उपेन्द्र यादव चुनाव जितेर कतिपटक गाउमा आएर तपाइहरुसँग भलाकुसारी गरेको भनेर डा. राउतहरु सोध्ने गर्दथ्यो । यो कुरा त सत्य हो कि उपेन्द्र यादव कार्यकर्ता बीच मैं घेरिने र आफ्ना क्षेत्रका सर्वसाधारण जनतासँग घुलमिल गर्नमा कमी गर्नु हुन्छ । सोही कारणले उहाँले प्रत्येकपटक निर्वाचन क्षेत्र परिवर्तन गर्नु हुन्छ । नगर्दा, मोरङ र यसपल्टमा सप्तरीबाट दोहराएर जित्नु भएन् । उपेन्द्र यादवका कार्यकर्ताहरुले तामझाम बढी देखाउने र उपेन्द्र यादवलाई वास्तविकताबाट टाढा राख्ने गरेको चर्चा छ । जसपाका कार्यकर्ताहरु अन्य जिल्लाका पनि अनावश्यक रुपमा प्रचारप्रसारमा जुट् यो । गफगाफमा पनि जोशिलो कुरा गर्दा कतिपयले जातीय उन्मादको रुपमा व्याख्या पनि गर्न थालेका थिए । निर्वाचन हुनुभन्दा दुई दिनअघि, छिनमस्ताको हाटी गाउँमा जसपाका कार्यकर्ताहरुले एक महिलासहित दुई तीन जनालाई कुटपिट गरेको राष्ट्रियस्तरमैं चर्चाको विषय बन्यो ।

सो क्षेत्रका अधिकांस मतदाताहरु उपेन्द्र यादवलाई मत नदिने निर्णयमा पुग्यो । त्यो कुटपिटले धेरै क्षति गरेको निर्वाचनको परिणामबाट पुष्टि हुन्छ । अर्कोतर्फ मधेश प्रदेशमा जसपाको नेतृत्वमा पाँच बर्ष प्रदेश सरकारको शासन रह्यो । लालबावु राउतले लोकप्रिय कार्यक्रमको माध्यमबाट जनताको मन जित्ने प्रयास गरेको थियो । त्यो लोकप्रिय कार्यक्रमभित्र कमिशनको खेलले जनतामा नकारात्मक प्रभाव बन्यो । प्रदेश सरकारले ‘खेत खेतमा सिँचाइ र हात हातमा रोजगारको नारा’ नारामैं सीमित रह्यो । वास्तवमा, सो क्षेत्र धेरै पिछडिएको अवस्थामा छ । जनता समाजवादी पार्टी आन्तरिक कलहको पनि प्रभाव परेको हुनुपर्छ । फुटको सङ्घारमा पुगेका सो दलका केही नेताहरुले भित्रभित्रै कतै षडयन्त्र त गरेन् भनेर आन्तरिक समीक्षा पनि गर्नुपर्छ । जसपाले जितका लागि जातीय मतमाथि निर्भर थियो भन्ने चर्चा थियो । तर, सो क्षेत्रका बहुसङ् ख्यक यादव जातिले मतदान गर्दा जातीयतालाई आधार बनाएन् । डा. राउतलाई यादव जातिको राम्रो मत प्राप्त भएको छ । त्यसपछि, उहाँले उपेन्द्रभन्दा करिव दोब्बर मतले जित हात पार्नुभएको हो । सरकार बनाउनका लागि चर्चा परिचर्चा शुरु भइसकेका छन् । के उपेन्द्र यादव ओलीकै पक्षमा रहने कि नरहने विषयमा बहश शुरु छ । निर्वाचनको परिणामलाई दृष्टिगत गर्दा काँग्रेस ठूलो पार्टी बन्ने सम्भावना छ । जसपाले थ्रेस होल्ड कटाउनमा सफल भयो भने सरकार निर्माणमा अह्म भूमिका निर्वाह गर्न सक्ने छन् । निर्वाचनमा हारजित भइरहन्छ । हरेस खानु हुँदैन् । मोरङ–६ बाट डा. शेखर कोइराला निर्वाचनमा पराजित भएका थिए । अहिले सोही क्षेत्रबाट भारी मतले लालबावु पण्डितलाई हराएर जित्नु भएको छ । पार्टीको सङ्गठनलाई बलियो बनाउनका लागि स्वच्छ छविका कार्यकर्तालाई अगाडि बढाउनु पर्छ । उपेन्द्र यादव एक साहसिक नेता हुन् । यो हारले उहाँलाई नयाँ उर्जा प्रदान गर्नेछ ।

Comment


Related News

Latest News

Trending News