२०७९ मंसिर १२, सोमबार ०७:१२

धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नव निर्वाचित रामकृष्ण यादवले आफूविरुद्ध भ्रम फैलाइएको बताएका छन् ।

उनले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी पराजित नेकपा एमालेका उमाशंकर अरगरियाले भ्रम फैलाइरहेको बताए । रामकृष्ण यादवलाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरिसकेका छन् । तर पराजित अरगरियाले मतगणनामा धाँधली भएको आरोप लगाएका छन् । अरगरियाले प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा गएको भन्दै पुनःमतगणनाको माग गरेका छन् । यादवले सोही विषयमा आफू विरुद्ध पराजित उम्मेदवार अरगरियाले कु प्रचार गरेको र आफू निष्पक्ष रुपमा विजयी भएको दाबी गरेका छन् । उनले भम्रबारे खण्डन गर्दै मतगणना सर्वपक्षीय बैठकको निर्णय अनुसार नै गणना भएको जिकिर गरे । ‘फरक मतपेटिकामा फरक मतपत्र भेटिए त्यो मत बदर हुने सर्वपक्षीय बैठककै निर्णय छ,’उनले स्पष्ट गर्दै भने,‘तर नेकपा एमालेका उम्मेदवारले हार स्वीकार गर्न नसकेर आफूविरुद्ध कु–प्रचार गरिरहेका छन् । त्यसमा कुनै सत्यता छैन्, त्यो मिथ्या हो ।’ मतगणनाको अन्तिम समयमा केही व्यक्तिले विवाद गर्न थालेपछि पुनः सर्वपक्षीय बैठकबाट निर्णय गरी दुई ठाउँमा मतगणना सुरु गरिएको निर्वाचित यादवले बताए । उम्मेदवारसंग जोडेर निर्वाचन अधिकृतमाथि आरोप लगाउनु अभिमत र लोकतन्त्र विरोधी कार्य भइरहेको उनले बताए । प्रतिनिधिसभाको मतपत्र प्रदेशसभा र सामानुपातिक मतपेटिकामा कर्मचारीको लापरबाहीले गएको अरगरियाको आरोप छ । र, यस्ता मतपत्र सदर भए मतगणना गर्नुपर्ने उनको माग छ । जसको लागि उनले पुनः गणनाको माग गरेका छन् । तर यादवले फरक मतपेटिकामा भेटिएको फरक मतपत्रमा आफ्नो पनि मत रहेको उल्लेख गर्दै बदर गर्ने सहमति भइसकेको मतगणना गर्नुको औचित्य नरहेको प्रस्ट गरे । ’सुरुदेखि एमालेको मत बढ्दै जादा अरगरियाले केही बोलेनन् तर अन्तिममा मेरो अग्रता देखेपछि उनले बहाना बनाएर मतगणना कार्य नै रोक्न खोजेका थिए,’उनले भने,‘तर निर्वाचन अधिकृतले सहमति अनुसार मतगणना सम्पन्न गरेर नतिजा घोषणा गरेको हो ।’

मंसिर ४ गते मतदान सम्पन्न भएपछि ५ गते साझ ६ बजेदेखि मतगणना सुरु भएको थियो । निर्वाचन अधिकृत कार्यलयले मतगणनाको अन्तिम परिणाम ९ गते विहान सर्बजनिक गरेका थिए । यादवले २० हजार ११२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमाशंकर अरगरिया १९ हजार ९५५ मत ल्याएर पराजित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News