जिल्लाको गौर नगरपालिकामा आम निर्वाचन २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन परिणामको घोषणा भएसंगै गौर नगरपालिकामा आगलागीको घटनामा वृद्धि भएको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम सार्वजनिक हुनु पूर्व गौर नगरपालिका वडा नम्बर १ माइस्थान नजिक रहेको इश्लाम सिरक डसना उद्योगमा भीषण आगलागी हुँदा ३ जनाको जलेर मृत्यु हुनुको साथै ३ जना घाइते भएका थिए । सो घटनामा करिब ४० लाख मूल्य बरवारको क्षति भएको थियो, परिणाम घोषणा भएपछि गौर नगरपालिका वड़ा नम्बर ४ मा २ जनाको घरमा आगलागी भएको छ । स्थानीय गोपाल यादवको घरमा चौथो पटक आगलागीको घटना भएको पीडितले बताएका छन् । मंसिर ११ गते राति स्थानीय प्रदीप पासवानको घरमा आगलागी हुँदा २ वटा भैसी र ४ वटा बाख्राको जलेर मृत्यु भएको छ । सामाजिक एवं मानवीय सेवा कार्यमा रहेका नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले अग्नि पीडित परिवारलाई राहत उपलब्ध गराएका छन् । शाखाका सभापति राज किशोर प्रसाद यादवले घटना स्थलमा पुगेर अग्नि पीडित परिवारलाई रेडक्रसबाट तत्काल राहत सामग्री उपलब्ध गराएका छन । पीडित परिवारलाई राहत स्वरूप स्वच्छता सामग्री ,कम्बल , त्रिपाल लगायतका सामग्री सहयोग गरिएको जिल्ला सभापति यादवले जनाएका छन ।

मंसिर ७ गते राति करीव १ बजेको समयमा भएको भीषण आगलागीमा ठूलो जनधनको क्षति भएको इश्लाम मन्सुरिको परिवारलाई केसरी कल्याण समाज रौतहटले सहयोग उपलब्ध गराएका छन । केसरी कल्याण समाज रौतहटका अध्यक्ष संतोष केसरीले ४ वटा बेड ,झूल ८ थान , डसना ,जाजिम लगायतका सामग्री उपलब्ध गराएका छन् ।

