दुधौरामा बसोवास गर्दै आएका स्थानीयको अवरोधले जितपुरसिमरामा फोहोर उठ्न सकेको छैन् ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ दुधौरा खोला नजिकै उपमहानगरपालिकाले बर्षाैदेखि फोहोर फाल्दै आएको छ । फोहोर फाल्ने डम्पिङ साईडको अभावमा उपमहानगरपालिकाले दुधौरा खोलामा नै फोहोर फाल्ने गरेको छ । फोहोरको कारण दुर्गन्ध फैलिएको र झिँगाको प्रकोप बढेको भन्दै स्थानीयले फोहोरको गाडी रोकेका छन् । उनीहरूले फोहोर विसर्जनमा समय–समयमा अवरोध गर्दै आएका छन् । दुधौराको सुकुम्बासी बस्तीमा उपमहानगरको फोहोरको गाडी थन्किएको छ । पाँचदिन देखि उपमहानगरको फोहोर उठ्न सकेको छैन ।
केही समयअघि मात्रै फोहोरको दीर्घकालीन समस्या समाधान गर्न उपमहानगरपालिकाको टोली वृहत् छलफलसमेत गरेको थियो । यता नगर प्रमुख राजन पौडेलले उपमहानगरको फोहोर व्यवस्थापनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताएका छन् । फोहोर व्यवस्थापन देशकै एक प्रमुख समस्याको रुपमा रहेकाले सबैको सहकार्यबाट मात्र यसको समाधान गर्न सकिने जानकारी दिए । नगर प्रमुख पौडेलको कार्यकाल भन्दा अगाडिदेखि नै फोहोरको समस्या विकराल रुपमा उठिरहेको थियो । अहिले जीतपुर सिमराको फोहोर उठ्न नसक्दा चोकचोकमा थुप्रिएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले स्थानीयको अवरोधपछि फोहोर उठ्न छाडेको बताएका छन् ।
उनले विभिन्न माग राखेर स्थानीयले अवरोधका गरेका कारण फोहोर व्यवस्थापन हुन नसकेको बताएका छन् ।



