२०७९ मंसिर १४, बुधबार ०७:३७

शपथग्रहण नगर्दै पर्सा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले कृषकको समस्यालाई प्राथमिकताका साथ लिएका छन् ।

कृषकका समस्यालाई गम्भीर रुपमा लिँदै यादवले कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुखसंग भेटेर छलफल गरेका छन् । छलफलका क्रममा पूर्वमन्त्रीसमेत रहेका यादवले वर्षौंदेखि किसानले खेप्दै आएको मल अभावको समस्या सम्बोधन गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् । समयमा मल नपाउने र पाए पनि सबैले नपाउने एवम् पर्याप्त मात्रामा नपाउने जस्ता समस्याहरु अबको दिनमा सुन्नुनपर्ने किसिमले समन्वयकारी भूमिका निर्वाह गर्न यादवले कार्यालय प्रमुख चन्द्र प्रसाद चौलागाईलाई निर्देशन दिएका छन् । आवश्यक मलको उपलब्धताका लागि अहिलेसम्म भइरहेका समस्या एवम् कठीनाईहरु आफूलाई जानकारी गराउन आग्रह गर्दै यादवले नीतिगतदेखि अन्य संरचनागत एवम् संस्थागत बाधा अड्चनलाई समाधान गर्ने बताए । उनले भने,‘अहिले जे जति मल मौज्दात छ त्यो गाँउमा छिट्टै पठाइ दिनुस्, बाँकी सरकारको नीतिगत समस्या जुन छ त्यसलाई समाधानका लागि म संसदमा आवाज उठाउँछु ।’ उनले सरकारी अनुदानलको मल बिचौलियाको कब्जामा पुग्दा किसानले सहज रुपमा नपाएको व्यापक जनगुनासो पनि रहेकाले यस बारे पनि कार्यालय प्रमुख चौलागाईलाई ध्यानाकर्षण् गराए । चौलागाईलाई निर्देशन दिदै यादवले भने, ‘नेपालमा मलको कारखाना छैन त्यस कारण चाहिए जति मल किसानले पाउन सकेका छैनन्, यद्यपि विदेशबाट जेजति आउँछ त्यो पनि किसानले बिचौलियाका कारण पाइरहेका छैनन्, यस बारे पनि ध्यान दिनुहोला ।

’ चुनावको प्रचार ताका मतदाता सामु गरेका वाचा पूरा गर्न यादवले अग्रसरता देखाएका छन् । चुनाव प्रचारका बेला मत माग्ने क्रममा उनले कृषि र किसानका विद्यमान समस्या आफनो प्रमुख प्राथमिकतामा रहने वाचा गरेका थिए । त्यही वाचा अनुरुप यादवले किसानका लागि सहज रुपमा मल आपूर्तिको व्यवस्था मिलाउन चौलागाईको ध्यानाकर्षण गराएका छन् । अहिले गँहु र दलहन बालीको सिजन चलिरहेको भए पनि डिएपी मल नपाएर किसानहरु समस्यामा परेको भन्दै यादवले यथाशीघ्र व्यवस्था मिलाउनुपर्ने बताएका छन् । कार्यालयसँग अहिले मौज्दात मल, जिल्लाका सबै पालिकामा समयमै पठाएर कृषि सहकारी संस्थाहरुमार्फत किसानलाई सहज रुपमा उपलब्ध गराउन उनले चौलागाईलाई निर्देशन दिए । कार्यालय प्रमुख चौलागाइले कार्यालयमा अहिले युरिया मल प्रयाप्त मौज्दात रहे पनि डिएपि मलको मौज्दात थोरै रहेकाले वितरणमा समस्या भएको बताएका थिए ।

चौलागाईले नीतिगत समस्याहरुको कारण पनि मल अभाव भएकोले त्यसलाई पहल गर्न सांसद् यादवसँग आग्रह पनि गरेका थिए ।

 

Comment


Related News

Latest News

Trending News