एकजना व्यापारीको मृत्यु भएको विषयलाई लिएर रौतहटको गरुडामा आन्दोलन चर्किएको छ ।
जिल्लाको गरुडा नगरपालिका–४ गरुडाका व्यापारी करिव ४५ वर्षीय राजनारायण साहको सोमबार सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । मर्निङ्ग वाक गरेर घर फर्किने क्रममा गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडिया स्थित नम्बर नखुलेको सवारीको ठक्करबाट साहको ज्यान गएको प्रहरीले जनाएको छ । तर घटना रहस्मय रहेको भन्दै पीडितका आफन्त र स्थानीय व्यापारीहरु आन्दोलनमा उत्रेका छन् । व्यापारी साहको मृत्युको सन्दर्भमा प्रहरीले अहिलेसम्म सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै उनीहरु मंगलवार दोश्रो दिन गरुडाको मुख्य सडक नै अवरुद्ध गरी टायर बालेर विरोध प्रदर्शन गरेका छन् । साहको हत्यारा पत्ता लगाउन माग गर्दै पीडित परिवार र उनका आफन्तहरुले मंगलवार मृतक साहको शव गरुडा स्थित मेथुर चौधरी चोकमा राखेर बाटो अवरुद्ध गरी प्रदर्शन गरेका थिए । स्थानीयले मंगलवार विहान ७ बजेदेखि ९ बजेसम्म प्रदर्शनसहित चक्काजाम गर्दा गरुडा स्थित वीरेन्द्र राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो । यसअघि सोमवार पनि दिउँसो १ बजेदेखि ३ बजेसम्म २ घण्टा चक्काजाम गर्दै उनीहरु विरोध प्रदर्शन गरेका थिए । चक्काजामसहित विरोध प्रदर्शनपछि प्रहरी र पीडितका आफन्तहरुको इलाका प्रहरी कार्यालय गरुडाको परिसरमा बसेको बैठकमा बुधवार बेलुकासम्म साहको हत्यारा पत्ता लगाउने प्रतिवद्धता जनाएका थिए । प्रहरीको प्रतिबद्धतापछि पीडितका आफन्तहरुले मृत्क साहको शव उठाउँदै अवरुद्ध गरेको बाटो सुचारु गरेका थिए । प्रदर्शनमा सहभागी रौतहट क्षेत्र नं ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले घटना भएको दुई दिन भए पनि प्रहरीले अझै हत्यारा पत्ता लगाउन नसक्नु दुखद भएको बताएका छन् । उनले घटना शंकास्पद रहेको भन्दै छिटोभन्दा छिटो सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न प्रहरीसंग माग गरेका छन् । यसैगरी गरुडा नगरपालिकाका मेयर कन्थमनि प्रसाद जयसवालले प्रहरीले आफूहरुसंग गरेको प्रतिवद्धता पूरा नगरे बुधवारदेखि यो भन्दा पनि थप कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
आफूहरु बुधवार बेलुकासम्म जसरी भए पनि घटनाको वास्तविकता अर्थात दोषीलाई पत्ता लगाउन प्रहरीलाई अल्टिमेटम दिएको र बुधवारसम्म पनि दोषी पत्ता नलगाए बुधवार बेलुकादेखि यो भन्दा पनि कडा आन्दोलन गर्ने मेयर जयसवालले चेतावनी दिएका छन् । रौतहटका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) बीर बहादुर बुढामगरले आफूहरु गम्भीरताका साथ घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । घटनाको अनुसन्धान गम्भीर ढंगबाट भइरहेको बताउँदै एसपी बुढामगरले दोषी कुनै हालतमा उम्किन नपाउने बताएका छन् । प्रहरी उपरीक्षक मगरले ढिलोचाँडो भए पनि साहको अपराधीलाई जसरी भए पनि पत्ता लगाएरै छाड्ने बताए । सडक आन्दोलन भन्दा पनि प्रहरीलाई सहयोग गर्न पीडित परिवार र आफन्तसंग एसपी बुढामगरले आग्रह गरेका छन् । घटनाभएकै दिन देखि आन्दोलन भएका कारण वास्तविक हत्यारा पत्ता लगाउन मुस्किल परेको छ । आन्दोलनले गर्दा प्रहरीले आन्दोलन व्यवस्थापन गर्ने कि, हत्यारा पत्ता लगाउने काम गर्ने भन्दै उनले प्रश्न गरेका थिए । ढिलोचाँडो हत्यारा पत्ता लगाएरै छाड्ने रौतहट प्रहरीले संकल्प लिएका छन् ।
व्यापारी साह सडक दुर्घटनामा पर्दा प्रहरीले घटनाबारे कसैलाई जानकारी नदिई घटनास्थलको नजिकै गरुडामा दर्जनौ हस्पिटल हुँदाहुँदै घाइते साहलाई गरुडामा नलगि गौर स्थित जिल्ला अस्पतालमा उपचार गराउन लगेको कारण घटना शंकास्पद भएको भन्दै छानबिनको माग गर्दै मृतकका आफन्त र स्थानीय व्यापारीहरुले गरुडामा सोमवारदेखि आन्दोलन गर्दै आएका छन् ।



