२०७९ मंसिर १४, बुधबार ०८:०१

औषधि व्यवस्था विभागको अनुगमन टोलीले मंगलबार सप्तरीको राजविराज बजारका विभिन्न औषधि पसलमा बिक्री वितरणका लागि राखिएका म्याद गुज्रेको तथा नेपालमा बिक्री वितरणको इजाजत प्राप्त नभएका कम्पनीका औषधिहरु नियन्त्रणमा लिएको छ ।

स्थानीय बजारमा म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका औषधी खुल्ला बिक्री वितरण भएको जनगुनासो आएपछि औषधि पसलहरुमा अनुगमन गरिएको छ । यसअघि सोमबार सप्तरीको हनुमाननगर कंकालिनी र बोदेबरसाइन नगरपालिकास्थित विभिन्न औषधि पसलमा अनुगमन गरिएको थियो । विराटनगर स्थित औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत टेकेन्द्र मिश्रको नेतृत्वमा खटेको टोलीले स्थानीय केही औषधि पसलबाट म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका कम्पनीका औषधिहरु नियन्त्रणमा लिएका छन् । अनुगमन टोली बजार पुगेको खबर पाएपछि अधिकांश औषधि ब्यवसायी पसलको सटर बन्द गरेर हिडेको टोलीका प्रमुख मिश्रले बताए । “बिरामीलाई सामान बिक्री गरी मुनाफा मात्र कमाउन पल्केका ब्यवसायीले म्याद गुज्रेका र अवैध मानिएका औषधिसमेत बिक्री वितरण गरेको भेटियो, मिश्रले भने, मुनाफाका लागि बिरामीको स्वास्थ्यमाथि नै खेलवाड गर्ने औषधि ब्यबसायीलाई कानुन अनुसार कारबाही गरिने ।” उनले बजार अनुगमनका क्रममा पसल बन्द गरी हिडेका औषधि पसलहरुमा कुनै बेला पनि छड्के अनुगमन गर्ने तयारी भएको बताएका छन् । अनुगमनसँगै टोलीले औषधि पसलेलाई बिरामी मारमा नपर्ने गरी आ–आफ्नो ब्यवसाय संचालन गर्न र अब यस्तो अवैध कारोबार नगर्न पनि सचेत गराउने गरेको टोली प्रमुख मिश्रले बताए ।

अनुगमनका क्रममा गैरकानुनी रुपमा संचालन गरिएका, दर्ता हुन बाँकी रहेका र कर तिर्न बाँकी रहेका पसलेलेलाई कानुनको दायरामा आउनका लागिसमेत समयसीमा तोकिने गरिएको छ ।

 

Comment


Related News

Latest News

Trending News