निर्वाचन सम्पन्न भएसँगै सरकार गठन सन्दर्भमा गठबन्धन निर्माणका लागि सुरु भएको संवादमा पहिलो पटक प्रतिनिधिसभामा प्रवेश पाएका जनमत पार्टीका अध्यक्ष डा.सीके राउत पनि सहभागी भएका छन् ।
जनकपुर टुडेसितको संक्षिप्त कुराकानीमा डा.राउतले भने, सरकारमा सहभागिता मात्र प्राथमिकता रहेको छैन् ।‘जनमत पार्टीको एजेण्डालाई सम्बोधन गर्ने गठबन्धनमा रहने प्रयास हुनेछ’ उनले भने, मधेशको मुद्दा, विभेद लगायतका समस्या समाधान गर्ने विश्वसनीय आधार बनाउने गठबन्धनलाई प्राथमिकतामा राख्ने छौ । डा.राउत सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि पहिलो पटक काठमाण्डु आएका हुन् । ‘सरकार गठनको सम्बन्धमा अहिले कुनै दलहरुसित संवाद सुरु भएको छैन्’ उनले भने, एक÷दुई दिन भित्र नै छलफल हुनेछ ।कुन दलसित गठबन्धन हुने विषयमा पार्टीले धारणा बनाइ नसकेको उल्लेखगर्दै मुद्दालाई सम्बोधन गर्ने पक्कापक्की गर्नेहरुसित सहकार्य हुन सक्ने बताए । सरकारमा सहभागी हुने उनको चाहना रहेको छ ।सरकारको विषयमा गठबन्धनहरुसित छलफल भएपछि मात्र टुंगो लाग्ने डा.राउतले जनाए ।‘संघीय सरकारबारे निर्णय भएपछि मात्र प्रदेशमा सरकार गठनका लागि गठबन्धन हुनेछ’ उनले भने, तर सरकारमा जानु मात्र आफ्नो प्राथमिकता होइन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिसित भएको संवादको विषयमा नेता राउतले भने, विमानस्थलमा भेटभएपछि उहाँले घरमा चियाका लागि निम्तो गर्नुभएको थियो ।नेता निधि र राउतबीच बुधवार करिब १ घण्टा भेटवार्ता भएको थियो । भेटको क्रममा संघीय र प्रदेश सरकारमा कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुन निधिले आग्रह गरेको बताइएको छ ।डा.राउतले सकारात्मक रहेको बताए पनि निर्णयमा पुगिनसकेको बताए । सत्तारुढ पाँच दलीय गठबन्धनमा डा.राउतको इन्ट्रि भए मधेश प्रदेशमा एमाले र जनता समाजवादी पार्टी(जसपा)रहित सरकार गठन हुनेछ ।प्रदेशमा नेकपा एमाले सबै भन्दा ठूला दल रहे पनि सरकार गठनका लागि जसपा र जनमतको सहयोग अनिवार्य छ ।


