अपडेट 
२०७९ मंसिर १५, बिहीबार ०७:५२

बर्तमान पाँच दलीय गठबन्धनका अध्यक्षहरू बिगतको ओली सरकारबाट दिक्क भइ शेरवहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा सामेल भएका थिए । विगतका गठबन्धनबाट अहिले जनता समाजवादी पार्टी एमालेसँगको गठबन्धनमा सामेल भएको छ । अहिले राजपाको सट्टा लोकतान्त्रिक समाजवादी पार्टी यस गठबन्धनमा समाबेस भएको छ । उनीहरू ओलीको क्रियाकलापबाट यति प्रतारित थिए कि नेकपा (एमाले) का केही शीर्ष नेताहरू लगायत अन्य नेताहरू समेत पार्टी छोड्न बाध्य भएका थिए । पार्टी छोडेपछि उनीहरू क. माधव नेपालको नेतृत्वमा नेकपा (एस) नयाँ पार्टीसमेत खोल्न पुगे । ओलीको प्रतिनिधि सभामा रहेका लगभग दुई तिहाइ बहुमतमा ग्रहण लाग्न थाल्यो । यी शीर्ष नेताहरू क्रमश शेरबहादुर देउवा, पुष्पकमल दहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र चित्रबहादुर केसीले पटक–पटक जनतालाई आश्वस्त बनाएका थिए कि हामी २०७९ को स्थानीय निर्वाचनसम्म मात्र होइनौं यसैसालभित्रै हुने आम चुनावमा समेत गठबन्धन बनाएर नै निर्वाचनमा भाग लिनेछौं । जबसम्म लोकतन्त्रमाथि खतरा देखिन्छ, तबसम्म हामी गठबन्धनलाई नै निरन्तरता दिएर एकजुट भइ लडिरहने छौं । अब यहाँ प्रश्न उठ्छ के अब ओलीबाट संविधान तथा लोकतन्त्रमाथि कुनै खतरा छैन त ! यदि छ भने आफूले जनतालाई दिएको बचनबद्धतालाई पालन गर्नु नै नैतिकता देखिन्छ । हिज्जो देउवाको नेतृत्वमा बनेको सरकारलाई कहिले पनि ओलीले आत्माले स्वीकार गरेका थिएनन् । जहिले पनि वहाँ के भन्नु हुन्थ्यो भने यो सरकार त परमादेशको सरकार हो, जनादेशको होइन । यसबारे उहाँलाई धेरै जबाब भेटि सकेका हुनाले यसबारे बढी चर्चा हुनु भनेको निरर्थक समय फाल्नु हो । अब २०७९ को आम निर्वाचनतिर लागौं । यस निर्वाचनको परिणामलाई हेर्दा कुनै एउटा पार्टीको बहुमत आएको देखिँदैन । जनताको आदेशलाई स्वीकार्ने हो भने पाँच दलीय गठबन्धनलाई नै सरकार निर्माण गर्न जनादेश दिएको देखिन्छ ।

त्यसैले गठबन्धनका सबै शीर्ष नेताहरू छलफलबाट एउटा स्तरीय सरकार निर्माणमा लाग्नु आजको पहिलो कर्तव्य हुन आउँछ । राजनीतिमा कुन बेला कसको भाग्य खुल्छ ठेगान हुँदैन । शेरबहादुर देउवा एउटा अनुभवी नेता भएकाले अहिले सरकार वहाँकै नेतृत्वमा दिनु सबैभन्दा राम्रो बिकल्प हुनसक्छ जस्तो लाग्छ । हुनत नेपाली काँग्रेसभित्रै पनि प्रधानमन्त्रीका कैयौं उम्मेदवार छन् । उनीहरू आफ्ना इच्छा समेत जाहेर गरिसकेका छन् । यस दौडमा खासगरी रामचन्द्र पौडेल, शेखर कोइराला, गगन थापा रहेका छन् । काँग्रेस बाहेकका दलहरूमध्ये नेकपा (माके) मा अध्यक्ष पुष्पकमल दाहालसमेत प्रधानमन्त्रीमा जाने इच्छा जाहेर गरिसकेका छन् । पार्टीभित्र र बाहिर कसरी मिलाएर लैजाने कुरा छलफलबाट टुंगो लगाइ अगाडि बढ्नु सबैभन्दा उत्तम बाटो देखिन्छ । जहाँसम्म सिट प्राप्तिको कुरो छ । त्यसमा पाँच दलीय गठबन्धनको बहुमत सजिलै पुग्ने अनुमान गर्न थालेका छन् । अहिले पनि नेकपा एमालेका अध्यक्ष तिक्रम गर्न पछि परेका छैनन् । निर्वाचनका सबै परिणाम घोषणा नहुँदै पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी ललाउन÷फकाउन फोन मार्फत शुरू गरिसकेका छन्, त्यतिकैमा बिस्तारै पाँच दलीय पार्टीहरूका अवस्था सुधर्दै आएको देख्दा पछि हटेको देखिन्छ । यस्ता धुर्त नेतामाथि कहिले पनि विश्वास गर्नु हुँदैन । मौका परेपछि जससँग पनि नजिक आउने र अबसर पाइ सकेपछि लात हान्न पनि बेर नलाग्ने रहेछ । अब निर्वाचनले दिएको मत परिणाम तिर फर्केर हेर्दा सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस बनेको देखिन्छ । यस पार्टीले लगभग ५७ सिट जित्ने अनुमान छ । केही ठाउँका निर्वाचन परिणाम नआएकाले अनुमानित शब्द जोड्नु परेको छ । यस्तै नेकपा (माके) ले १९ सिट जित्ने आशा राखेको छ । नेकपा (एस) ले १०, लोसपाले ४, राष्ट्रिय जनमोर्चा नेपालले १ सिटमा जित हासिल गरिसकेका छन् । यसरी गठबन्धनमा सबै पार्टीहरूका सिटलाई एक ठाउँमा ल्याउँदा जम्मा ९० सिट जित्ने अनुमान गरेका छन् । ३ वटा निर्वाचन क्षेत्रका परिणाम आउन बाँकी नै छन् । समानुपातिक संख्यालाई मिलाउँदा १४० पुग्ने अनुमान छ । सरकार बनाउने संख्या पुगे पनि सरकारमा जाने सिट बाँटफाँटको बखेरा कम झन्झटिलो छैन । प्रधानमन्त्रीको बखेरा मात्रै छैन मन्त्री चयन गर्ने समस्या कम सानो छैन । सबैका सबैले मन्त्री बन्न आफ्ना इच्छा राखेका हुन्छन् । यी सबै कुरालाई समेटेर अगाडि बढ्नु कम चुनौती छैन ।

तर जे जस्तो चुनौती भए पनि जनताले दिएको आदेशलाई शिरोधार्य गरि आफैभित्र सामान्य लोभमा नपरी मन्त्रिमण्डल निर्माणतिर गठबन्धनका नेताहरूको ध्यान जानु पर्छ । आज दिएको मत नै स्थिर रूपमा रहिरहन्छ भने कहीं कतै सिद्ध भएको छैन । राजनीतिमा सधैं उलटफेर भइरहन्छ । एउटै पार्टीको बहुमत आएको भए यत्रो गृहकार्य गर्ने आवश्यकता नै थिएन । जनता सर्बोपरि छन् । जनता सबैको मूल्याङ्कन गरिरहेका हुन्छन् । गठबन्धनले बुझ्नु पर्छ भने आज दिएको बहुमत भोलि राम्रो काम गर्दै गयो भने एउटै पार्टीको बहुमत पुग्न बेर लाग्दैन । हिजो ओली सरकारलाई दिएको बहुमतलाई सदुपयोग गर्नु पर्दथ्यो । तर दुरूपयोग गरेका कारणले आजको यस्तो अबस्था आइपरेको छ । यसबारे हेक्का राख्नु सबैको बुद्धिमानी हुनेछन् होइन भने यसभन्दा पनि बदर हालत आउन बेर लाग्दैन । जहाँसम्म आएको परिणामले असन्तुष्टिको कुरो छ । त्यसको लेखाजोखा गर्नु पनि नितान्त जरुरी छ । परिणामलाई लिएर कसैमा पनि असन्तुष्टि आउनु हुँदैन । एक ठाउँमा बसेर के कसो छ आ–आफ्ना असन्तुष्टि पोखेर बास्तविक स्थिति पत्ता लगाएर समाधानतिर लाग्नु नै यसको सबैभन्दा उत्तम उपाय हुनसक्छ । सिट बाँटफाँटमा पाएका सिटमा नेपाली काँग्रेस पार्टी ५० प्रतिशत, नेकपा (माके) ४० प्रतिशत, नेकपा (एस) ५० प्रतिशत लोसपा ४४ प्रतिशत, राजमो, नेपालले ५० प्रतिशत सिटमा विजय हासिल गरेका छन् । यसमा अलिकति क्षति नेकपा (माके) लाई परेको देखिन्छ । काँग्रेसले केही बढी प्रतिशत सिट पाएको छ । निर्वाचनको गणितीय परिणामलाई अनुमान गर्न निकै कठिनाइ हुन्छ । त्यसैले निर्वाचनमा अलिकति घटीबढी हुनुलाई स्वभाविक प्रक्रियाभित्र लिने गरिन्छ । देशमा अहिले पनि अग्रगामी तथा प्रतिगामी बीचको लडाइ सकेको छैन, बरु यस निर्वाचनबाट उनीहरू केही बलियो भएर नै आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत केही अन्य पार्टीहरू जो यस संविधानलाई मान्दैनन् उनीहरूका सिट बृद्धिहुनु पक्कै सोचनीय अवस्था भएको छ । अर्कोतिर नेकपा (एमाले) जो आफूलाई सबैभन्दा ठूलो पार्टीको घमण्ड प्रदर्शन गरिरहेको थियो, उ आज दोस्रो स्थानमा आएर अडेको देखिन्छ । गठबन्धनका लागि राजनीतिक रूपले एउटा ठूलै उपलब्धि देखिन्छ । हिज्जोसम्म ओलीले परमादेशको रट लगाएर यस सरकारलाई जनादेश छैन भने कुरालाई जनताले दिएका मतबाट नै प्रमाणित भएको छ कि यो गठबन्धनको सरकार जहिले पनि जनादेशकै सरकार थियो । जसलाई परमादेश र जनादेश शब्दको ज्ञान छैन, त्यसलाई जति बुझाएपनि बुझ्न अप्ठयारो भइरहन्छ ।

रह्यो २०७२ को चुनावी परिणामसँगको तुलना, त्यसमा पनि गठबन्धनका पार्टीहरू कुनै खासै हानि नोक्सानी बेहोर्नु परिराखेको देखिँदैन । नेकपा (माके) लाई परेको घाटामा पार्टीबाट केही नेताहरू फुटेर यसअघि नै नेकपा (एमाले) मा गएका कारणलाई पनि लिन सकिन्छ । अर्कोतिर नेकपा (एस) को मारलाई पनि लिन सकिन्छ । अन्यतिर कम्युनिष्टकै भोटकाटेर रास्वपाको भोट आएको देखिन्छ । तराईमा जनमत पार्टीले ल्याएको मत पनि केही माओवादीको मत काटिएको देखिन्छ । यसरी निर्वाचनमा घटबढ भइरहन्छ । अर्कोतिर एमाले ८० सिटबाट ४० जतिमा झरेको छ । यो एउटा निकै ठूलो उपलब्धि हो । नेपाली काँग्रेसको सिट बढ्नु भनेको काँग्रेसको पनि आफ्नै संगठन छ नि ! यस्तै जसपा र लोसपाको पनि आफ्ना सिटमा पचास प्रतिशत घटेको देखिन्छ । तराईमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी जस्ता पार्टीहरूले पनि केही सिट काटेका छन् । गत निर्वाचनमा बामपन्थीहरूका संगठित भोट नेकपा (एमाले) तथा नेकपा (माके) मा परेको थियो । यस पालि बामपन्थीहरू टुव्रmा–टुव्रmा भएर निर्वाचनमा गएपछि सिट कट्नु स्वभाविकै हुने देखिन्छ । हिजो आजको निर्वाचन परिणामलाई समिक्षा नगरिकन यदि कसैले असन्तुष्ट भएर बस्छ भने उसले आफै आफ्नो घाटा बेहोर्ने छ । त्यसैले अब अगाडिको बाटो के हुन सक्छ ? त्यतातिर सोच्नु पर्ने बेला आएको छ । जनता सार्वभौम हुन्छ । जनताको असन्तुष्टितिर पनि हेर्नु पर्छ । जनता त आफ्ना मतले देखाइ दिएका छन् कि यस देशको लागि ओली होइन गठबन्धन नै चाहिन्छ । यदि जनताको आदेशलाई अपहेलना गर्ने हो भने भोलि अझै बदर हालत बेहोर्नु पर्ने हुन सक्छ ।

यो चुनाव त अग्रगामी तथा प्रतिगामी बीचको लडाइ थियो । यहाँ प्रश्न उठ्छ, के यो लडाइ सकियो त ! यदि सकिएको छैन भने अझै बलियो भएर लड्नुको बिकल्प रहेको छैन । धेरै दिन पछिको लडाइ तथा मिहिनेत पछि नेपाली जनताको हातमा यस्तो संविधान आएको छ । यस संविधानलाई बर्खास्त गरिए भने भोलि फेरि देश अस्थिरतातिर जानेमा कुनै शङ्का छैन । त्यसैले पार्टीहरू बडो सूझबुझका साथ अगाडि बढ्नु आजको माँग हो । यदि यस्तो गरिएन भने भोलि फेरि पछ्नाउनु सिबाए अरू केही हुने छैन । निष्कर्षमा के भन्न सकिन्छ भने जनताको सार्वभौमिकतालाई स्वीकार गरी जहाँ जो स्थानमा तपाईंलाई राखेका छन् त्यसलाई निर्धक्क स्वीकार गरी अगाडि बढ्नु पर्छ । जनताले नै एक चोटी शीर्ष स्थानमा पु¥याएर आज किन अलिकति पछि छोडेका छन् । त्यसको समिक्षा आ–आफ्नै पार्टीभित्र गर्नु पर्ने देखिन्छ । आ–आफ्ना कमजोरी पत्ता लगाइ कसरी त्यसबाट उन्मुक्ति पाउन सकिन्छ त्यतातिर आ–आफ् ना सोचलाई बढाउनु पर्ने देखिन्छ । अहिले पनि ओली तपाईंहरूलाई लोभ दिन पछि पर्ने देखिँदैनन् । यस्ता लोभमा पर्नु भनेको देशका लागि एउटा अस्थिर सरकार दिनु सिबाय अरू केही हुने छैन । यसपछि भोलिको बाटो त्यति सजिलो हुने छैन । जनता गठबन्धनको सरकारलाई नै अनुमोदन गरेका छन् । यसलाई तपाईं गठबन्धनका पार्टीहरू सहर्ष स्वीकार गरी प्रतिगामीहरूलाई किनारा लगाउन अगाडि बढ्नुस् । जनता तपाईंहरूका साथ छन् । समयको अन्तरालमा यस्ता साना तिना समस्या आइरहन्छन् । त्यसलाई साहसका साथ चिर्नु नै बहादुरी हो । अस्तु ।

 

Comment


Related News

Latest News

Trending News