रौतहटमा एकजना किसानको दुई बिगहा क्षेत्रफलको धानमा अज्ञात समूहले आगजनी गरेको छ ।
जिल्लाको पश्चिमी भेग स्थित फतुवा विजयपुर नगरपालिका वडा नं २ शीतलपुर निवासी पूर्व सइ रामानन्द यादवको धानको खलिहानमा अज्ञात समूहले आगजनी गरिदिएका छन् । खेतबाट काटेर दाइँ गर्न सितलपुर गाउँछेउको खलिहानमा एक ठाउँमा थुपारिएर राखिएको धानमा मंगलवार राति करिव १२ बजे अज्ञात समूहले आगो लगाई दिएका थिए । आगजनीबाट धान पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिव दुई लाख बराबरको क्षति भएको पीडित यादवले बताएका छन् । घरमा भित्र्याउन राखिएको धानबालीमा कसैले राजनीतिक पूर्वाग्रहका कारण आगलागी गरेको हुनसक्ने पूर्व सई यादवको अनुमान रहेको छ । कसैले व्यक्तिगत रिसिबि साध्न पनि आफ्नो धानमा आगो लगाएको पीडित यादवको भनाइ छ । वर्षभरि कडा मिहिनेत गरी खेतमा उब्जाएको धानबाली घरमा भित्र्याउनु अघि नै खरानीमा परिणत भएपछि पीडित परिवार चिन्तित भएका छन् । दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न र क्षतिपूर्ति दिलाउन पीडित परिवारले सम्बन्धित निकायसंग माग गरेका छन ।
यस घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।


