२०७९ मंसिर १५, बिहीबार ०८:१४

धनुषा निर्वाचन क्षेत्र १ को ‘क’ मा पुनः मतगणना गर्न माग गरिएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार सुकेश्वर यादवले पुनः मतगणनाको माग गरेका छन् । यहाँ निर्वाचन आयोगले नेपाली कांग्रेसका संजय महतोलाई ६ मतले निर्वाचित भएको घोषणा गरिसकेका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार महतोले दश हजार ९ सय ५५ र नेकपा एमाले–जसपाको साझा उम्मेदवार रहेका यादवले दश हजार ९ सय ४९ मत ल्याएका थिए । गणनामा लापरवाही गरिएको यादवको आरोप छ । ‘मेरो मत गणना गरिरहेको बेला पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले हो– हल्ला गरेका थिए । त्यस क्रममा उनीहरुले धाँधलीसमेत गरेका थिए,’उनले भने,‘त्यतिबेला नै कर्मचारीहरुले आर्थिक प्रलोभनमा परी गडबड गरेका छन् । खसेको मतभन्दा ६० वटा बढी मतपत्र पनि भेटिएको छ ।

’ यी सबै कारणले पुनः मतगणना गर्नुपर्ने उनको माग छ । उनले निर्वाचन आयोगमा यस बारे निवेदन दिएको र उच्च अदालतमा जाने तयारी गरिरहेको बताएका छन् । यसअघि धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा पनि पुनः मतगणना गर्न माग गरिएको थियो । यहाँ नेकपा एमालेका उम्मेदवारले मतगणनामा लापरवाही भएको भन्दै पुनः मतगणनाको माग गरेका छन् । यहाँ नेपाली कांग्रेसका रामकृष्ण यादव एक सय ५७ मतले विजयी भएका छन् भने उमाशंकर अरगरिया पनि निर्वाचन अधिकृत धर्मअवतार कोइरालालाई कारबाहीको माग गर्दै पुनः मतगणना गर्न पाउँ भन्दै मुद्दा गर्ने तयारीमा छन् ।

 

Comment


Related News

Latest News

Trending News