मधेश प्रदेशमा जम्बो मन्त्रिमण्डल बन्ने भएको छ । सरकार बनाउन कुनै एउटा दलको बहुमत नभएपछि आधा दर्जन दलहरुबीच सरकार गठनका लागि छलफल सुरु भएको छ । नेकपा एमाले मधेश प्रदेशमा ठूलो दल भएको छ । प्रत्यक्षमा १५ जितेको एमालेले समानुपातिकतर्फबाट ८ सभासद पाउने भएको छ ।
कुल २३ सिटसहित एमाले सबै भन्दा ठूलो दल भए पनि सरकार गठनका लागि आवश्यक संख्या ५४ पुग्न अन्य दलहरुको सहयोग चाहिन्छ । तर त्यो पुग्ने सम्भावना हाल देखिएको छैन् । प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १३ र समानुपातिकतर्फ ९ गरी २२ स्थान भइरहेको छ । संघीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रको ४ प्रत्यक्ष र ४ समानुपातिक गरी ८ स्थान, नेकपा एसको ४ प्रत्यक्ष र २ समानुपातिक गरी ६ स्थान हुने भएको छ । त्यसैगरी,जसपाको प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ७ गरी ६ जना , लोसपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ २ गरी ९ जना , जनमतको प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ७ गरी १३ जना प्रदेशसभामा हुने छन् । राष्ट्रिय नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको १/१ स्थान हुनेछ । प्रदेशसभामा ६ जना स्वतन्त्र सभासद रहेका छन् । मधेश प्रदेश सभामा कुल ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरी १ सय ७ जना रहेको छ । संघीय सरकारका लागि छलफल भइर हेसंगै प्रदेश सरकार गठनबारे पनि छलफल चलिरहेको छ । मधेश प्रदेशमा सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोसपा, जनमत पार्टी मिलेर सरकार बनाउने विषयमा एक प्रकारले सहमति जुटेको छ । तर संघीय सरकारमा जसपाको समर्थन खोजेको माओवादी केन्द्रले प्रदेश सरकारमा सहभागी गराउन अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने करिब निश्चित भएको छ । कांग्रेसबाट सरकारको नेतृत्व गर्न मधेश प्रदेश समितिका सभापति कृष्णा यादव (रौतहट १ को ख) र निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव (धनुषा ३ को क)ले दाबी गरेका छन् । समानुपातिक सांसदको टुंगो लागेपछि मात्र दलको नेता चयनको प्रकृया सुरु हुनेछ । प्रदेश सभापति समेत रहेका यादवले संसदीय दलको नेता सर्वसम्मतिबाट चयन हुने बताएका छन् । प्रदेशको ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा धनुषा क्षेत्र नम्बर ३ को ख बाट निर्वाचित दीपेन्द्र ठाकुरले दाबी गरेका छन् ।
सामाजिक र राजनीतिक क्षेत्रमा लामो समयदेखि सकृय ठाकुर सफल निर्माण व्यवसायी पनि हुन् । उनलाई दलको नेता बनाउन प्रत्यक्ष निर्वाचित अधिकांश सांसदहरुले समर्थन गर्ने बताएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाम निर्वाचन क्षेत्रबाट विजयी भएकाले उच्च प्राथमिकतामा राखिने बताइएको छ । ठाकुरप्रति एमालेका प्रभावशाली नेताहरुपनि सकारात्मक देखिएका छन् । तेस्रो वरियतामा रहेको जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउतले चाहना गरेका छन् । तर उनी अत्यन्त बदनाम भएकाले दलको नेतामा रामअशिष यादवलाई मौका मिल्ने सम्भावना छ । सोही दलका सरोजकुमार यादव पुनः सभामुखमा चयन हुने पनि सम्भावना रहेको छ ।सो दलमा यस निर्वाचनमा पहिलाकै सांसदहरुको पनि बाहुल्य देखिएको र उनीहरुको चाहना यादवलाई नै सभामुख बनाउने रहेकाले यादवलाई पुनः सभामुखमा मौका मिल्ने सम्भावना रहेको छ । लोसपा संसदीय दलको नेतामा पुनः जितेन्द्र सोनल सर्वसम्मतिबाट चयन हुने निश्चित छ ।
जनमतमा दलको नेता चयनमा अहिले छलफल सुरु भएको छैन् । प्रदेश सभाको पहिलो सरकार दुईवटा दलले मिलेर बनाएका थिए । तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) सरकारमा सहभागी थिए । संघीय समाजवादी पार्टीबाट लालबाबु राउत मुख्यमन्त्रीसहित तीन जना मन्त्री र उतिकै राज्यमन्त्री रहेका थिए ।जसपाबाट पनि तीन जना मन्त्री र तीन जना राज्यमन्त्री थिए । लामो समय १३ सदस्यीय मन्त्रिमण्डलले काम चलेको थियो । केन्द्रमा राजनीतिक उथलपुथल भएसँगै प्रदेशमा पनि सरकारबाट जसपाका मन्त्रीहरुलाई हटाइएको थियो । त्यसपछि कांग्रेस, माओवादी र नेकपा एस सरकारमा सहभागी भएको थियो । चुनावको मुखमा कांग्रेसलाई पनि सरकारबाट हटाइएको थियो । सरकारमा जसपा, माओवादी केन्द्र र नेकपा एसको सहभागिता रहेको छ । मुख्यमन्त्री राउत नै छन् ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=YYs7Cp2tghc&t=1s



