
मधेश प्रदेशमा कुनै दलको पूर्ण बहुमत नरहेकाले गठबन्धन निर्माणका लागि संघीय गठबन्धनलाई नेताहरुले कुरिरहेका छन् ।
मधेश प्रदेशमा सरकार बनाउन नेताहरु संघीय राजधानीमा दलको नेता बन्ने दौडधुपमा लागेका छन् । २०७४ सालको भन्दा दिग्गज नेताहरु यस पटक मधेश प्रदेश सभामा चुनिएका छन् । प्रत्यक्ष तर्फ २२ जना दोहरिएका छन् । अन्य नयाँ अनुहारहरु प्रदेश सभामा प्रवेश पाएका छन् । प्रदेश सभामा निर्वाचित नयाँ अनुहारहरु मध्ये कयौं दिग्गजहरु छन् । प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न दिग्गज नेताहरु संसदीय दलको नेताका लागि संघीय राजधानी काठमाण्डुमा लविंग थालेका छन् । प्रदेशसभामा निर्वाचित अधिकांश सदस्यहरु संघीय राजधानी काठमाण्डु पुगेका छन् । मधेश प्रदेशमा सरकारको नेतृत्व गर्ने संभावित रहेको नेपाली कांग्रेसमा दलका नेता बन्न तछाडमछाड सुरु भइसकेको छ । संसदीय दलको नेताका लागि कांग्रेस प्रदेश समितिका सभापति कृष्णा यादव, पूर्व मन्त्री रामसरोज यादव, पर्सा कांग्रेसका सभापति जनार्दनसिंह क्षेत्री प्रमुख छन् । मधेश प्रदेशमा संस्थापन पक्ष (देउवा समूह) को वर्चस्व रहेकाले नेतामा पनि सो पक्षबाट नै हुने पक्का जस्तै छ । प्रदेश सभापति यादव पहिलो पटक प्रदेश सभामा प्रवेश गरेका छन् । धनुषाका पूर्व मन्त्री रामसरोज यादव दोस्रो पटक सभासद चुनिएका छन् । अघिल्लो कार्यकालमा संसदीय दलका नेता पनि थिए । क्षेत्री पहिलो पटक संसदमा आएकाले उनी दाबी गरे पनि प्रतिस्पर्धामा रहेका छैनन् । एमालेमा पनि दलका नेताका लागि दौडधुप सुरु भइसकेको छ । एमालेका युवा प्रदेश सभासद दीपेन्द्र ठाकुर, दोहरिएर जितेका रामचन्द्र मण्डल, विद्यार्थी राजनीतिबाट मूलधारमा आएका सरोज कुमार यादव र शारदा थापा दलका नेताका लागि दौडमा छन् । प्रत्यक्ष तर्फ एमालेमा १५ जना र समानुपातिकबाट ८ गरी कुल २३ जना सभासद रहका छन् । मधेश प्रदेशमा सबै भन्दा ठूलो दल एमाले नै हो । कांग्रेस र एमाले मध्ये एउटा दलले सरकारको नेतृत्व गर्ने पक्का जस्तै छ । माओवादी केन्द्र संसदीय दलको नेतामा भरत साह नै दोहरिने पक्का जस्तैछ । उनी मधेश प्रदेश सरकारमा गृह तथा सञ्चार मन्त्री हुन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा प्रमुख रुपमा दुई दाबेदार देखिएका छन् । मुख्यमन्त्री लालबाबु राउत र सभामुख सरोज कुमार राय यादव दलका नेता बन्ने दौडमा छन् ।
राउतको मुख्यमन्त्रीको कार्यकाल अत्यन्त विवादास्पद र असफल रहेको आरोप लाग्ने गरेको छ । तर सभामुख यादवको कार्यकाललाई अत्यन्त सफल मानिएको छ । प्रदेशको नाम र राजधानी तोक्ने आवश्यक बहुमत सत्तारुढ दलसित नहुँदा पनि यादवले अत्यन्त चातुर्य ढंगले पहिचान सहितको नाम र जनचाहना अनुरुपको स्थायी राजधानीको निर्णय गराउन सफल भएकाले उनी सबै दलका सभासदहरुबीच लोकप्रिय छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा दलको नेताका लागि विवाद आउने संभावना छैन् । अघिल्लो कार्यकालमा दलका नेता रहेका जितेन्द्र सोनल पुनःनिर्वाचित भएकाले उनी नै दलको नेतामा दोहरिने छन् । हुनत सोनलको कडा विरोधी मानिने उपेन्द्र महतोपनि पूनः निर्वाचित भएका छन् । उनले दलको नेतामा सोनललाई चुनौती पनि दिन सक्ने संभावना रहेको छ । नेकपा एसमा भने दलको नेतामा प्रमोद कुमार यादवको नाम अगाडि छ । मधेश प्रदेश सरकारमा यादव राज्यमन्त्री रहेका छन् । शत्रुधन महतो चुनावमा पराजित भएकाले यादवले अवसर पाउने भएका छन् । सो पार्टीकी बेची लुंगेली पनि प्रत्यक्षतर्फ जितेर कार्यकाल दोह¥याएकी छन् । दलको नेता बन्ने दौडमा उनी पनि छिन् । जनमत पार्टी संसदीय दलको नेतामा समानुपातिकबाट प्रदेश सभामा प्रवेश पाएका चन्दन सिंहको बलियो संभावना छ । जनमत पार्टीले समानुपातिकतर्फ नाम टुंगो लगाइसकेकाले सिंहको नाम अगाडि आएको छ ।
मधेश प्रदेशमा सरकार गठनका लागि दुई विकल्प छ । सत्तारुढ गठबन्धन दलमा जसपालाई समावेश गराएर सरकार बनाउने पहिलो विकल्प रहेको छ । दोस्रो विकल्पको रुपमा एमालेको नेतृत्वमा जसपा र जनमतलाई समावेश गरी सरकार बनाउन सकिन्छ । कांग्रेस र एमाले मिलेर कुनै एउटा सानो दललाई साथ लिएर सरकार बनाउन सक्छ । तर त्यसको संभावना बलियो छैन् । कांगे्रस र एमाले बाहेक सबै दल र स्वतन्त्र सांसदहरु मिलेर पनि सरकार बनाउन सक्ने अवस्था रहे पनि त्यसको संभावना नै देखिदैन् ।