कक्षाकोठाको अभाव झेलिरहेका सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का विद्यार्थीहरुले नयाँ कक्षाकोठा भवनमा पढन पाउने भएका छन् ।
सामाजिक विकास मन्त्रालयको सहयोगमा सो वडा स्थित आधारभूत छपकी विद्यालयमा २ कोठे नयाँ पक्की कक्षाकोठा भवन निर्माण गरिएपछि विद्यार्थीहरुले नयाँ र सुविधा सम्पन्न भवनमा पढन पाउने भएका छन् । मन्त्रालयको १८ लाखको लागतमा निर्माण गरिएको उक्त २ कोठे भवनको शुक्रवार सामाजिक विकास मन्त्री एवम् नव निर्वाचित प्रतिनिधिसभा सदस्य नवलकिशोर साहले उद्घाटन गरेका छन् । ‘वर्षोदेखि कक्षाकोठा भवनको अभाव झेलि रहेका यस क्षेत्रका विद्यार्थीहरुलाई उचित र सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयमा नयाँ संरचना निर्माण गरिएको छ, मन्त्री साहले भने–‘यसले पठनपाठन व्यवस्थित, सुरक्षित र विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकालाई विद्यालयमा आकर्षण गर्नसमेत मद्दत पु¥याउनेछ ।’ उनले शिक्षाको माध्यमबाट मात्र सामाजिक रुपान्तरण गर्न सकिने भएकाले शिक्षा क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
बालबालिकाहरुलाई विद्यालय जान सजिलो हुनका लागि विद्यालयहरुमा नयाँ संरचना निर्माणका साथै शिशु बीमा, साइकल वितरण, पूर्ण छात्रवृत्ति, निःशुल्क शैक्षिक सामग्री वितरण, बेटी पढाउ बेटी बचाउ लगायतका योजनाहरु अभियानकै रुपमा अघि बढेको उनले बताए । वडा अध्यक्ष सबदुल मियाँको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरी, मधेश प्रदेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव लगायतको सहभागिता रहेको थियो ।


