अपडेट 
२०७९ मंसिर २४, शनिबार ०८:४८

वीरगञ्जको घण्टाघरमा शुक्रबार महिला हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार १५ औं दिनमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । दाइजोका कारण महिलामाथि हुने गरेको हिंसा नाटकमा देखाइएको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत कार्यको प्रतिकार गर्ने हिम्मत नगर्दासम्म महिलामाथि हुने गरेका हिंसाले प्रश्रय पाउने भएकाले गलतको प्रतिकार गर्न सक्नुपर्नेमा जोड दिए । देखाउनका लागि मात्र कार्यक्रम नगरी घरघरसम्मै जागरण पुग्ने गरी अभियान लैजानुपर्ने उनले बताए । सभ्य समाजका लागि महिलामाथि हुने हिंसा स्वीकार्य नहुने भएकाले यसलाई निर्मूल पार्न सबै एक भएर लाग्नु पर्ने उनले बताए । कार्यक्रममा उपमेयर इम्तियाज आलमले छोरीलाई आत्मनिर्भर बनाउन अभिभावक लाग्नुपर्ने भन्दै त्यसका लागि शिक्षाबाट बञ्चित गर्न नहुने धारणा राखे । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले हिंसामा परेका महिलाको उद्धार र सहयोगका लागि सेफ हाउस निर्माणमा महानगरको चासो रहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, माइती नेपाल, आफन्त नेपाल, सानो पाइला, युवालय, आसमान नेपाल लगायतका संस्थाको समन्वयमा वीरगन्ज महानगरपालिकाले कार्यक्रम आयोजना गरेको थियो ।

Comment

Related News

Latest News

Trending News