
शीतलहर, जाडोलगायतका सम्भावित हुनसक्ने जोखिम आँकलन गरी पर्सामा विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार पारेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अनुसार शीतलहर, चिसोका कारण आउने विपद् बाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न राहत, उद्धारलाई प्रभावकारीरुपमा अघि बढाउन योजना तयार पारेको छ । शीतलहर, चिसोका कारण आउने विपद्बाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न प्रभावित क्षेत्र गाउँटोलका गरिब, विपन्न परिवारको पहिचान गरी राहत, उद्धारका लागि आवश्यक पर्ने इन्धन, दाउरा, कम्बललगायतका सामग्री भण्डारण गर्ने र यसको जिम्मेवारी स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, उद्योग वाणिज्य सङ्घ, सरकारी तथा गैरसरकारी संस्थालाई दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको बैठकले बाढी पीडित, आगलागी र चट्याङ लागेर मृत्यु भएकालाई राहत प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा बसेको बैठकले बाढीबाट क्षति भएका पाँच जनालाई रु ४५ हजार र आगलागीबाट घर क्षति भएका १८ जनालाई ८५ हजार गरी १३ जना घरपरिवारलाई रु एक लाख ३० हजार राहत दिने निर्णय गरेको बताइएको छ । त्यस्तै, साउन ५ गते वीरगञ्ज महानगरपालिका–२८ का दीनानाथ ठाकुर र असोज १० वीरगञ्ज महानगर–२ का सिद्धान्त उपाध्यायको चट्याङ लागेर मृत्यु भएकामा निजका परिवारलाई सरकारले उपलब्ध गराएको जनही रु दुई÷दुई लाख गरी चार लाख दिने निर्णय गरिएको छ ।