अपडेट 
२०७९ मंसिर २५, आईतवार ०७:३४

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको छ ।

गत बैशाखमा स्थानीय तह निर्वाचनपछि बसेको पहिलो कार्यपालिका बैठकले कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरेपछि विवाह गर्ने गाउँपालिकाभित्रका छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको थियो। चन्द्रनगर गाउँपालिका–२, बबरगञ्ज दनुवारी टोलका हरदेव कुँमर दनुवारकी छोरी रेणुकुमारी सिंहलाई गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले विवाह मण्डपमै पुगेर ५० हजार रुपियाँको चेक हस्तान्तरण गरेका छन् । उक्त निर्णयानुसार गाउँपालिकाको तर्फबाट उनले पहिलो पटक यस्तो रकम दिएका छन् । बाइस वर्षीया रेणुकुमारीले गाउँकै दुर्गा खोभारी माध्यमिक विद्यालय बबरगञ्जबाट कक्षा १२ उत्तीर्ण गरेकी छन् । गाउँपालिका अध्यक्ष महतोले अब पालिकाभित्रका अन्य छोरीहरूले पनि यसैगरी कक्षा १२ उतीर्ण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गरे गाउँपालिकाले विवाह कार्यक्रममै गएर ५० हजार रुपियाँ प्रदान गर्ने बताएका छन् । बालविवाह अन्त्य र छोरीहरूको उच्च शिक्षामा पहुँच बढाउने उद्देश्यले पद बहाली गर्दा नै यो कार्यक्रम लागु गर्ने पहिलो निर्णय गरेको गाउँपालिका अध्यक्ष महतोले बताए ।

गाउँपालिका अध्यक्ष महतोले भने,‘मधेशमा बालविवाहको दर धेरै छ, हाम्रै गाउँपालिकाभित्र पनि ६५ प्रतिशत बालविवाह हुने गरेको देखिएको छ । बालविवाहको अन्त्य गर्न र छोरीहरूको उच्च शिक्षामा पहुँच बढाउनका लागि कक्षा १२ पढेर २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै गएर प्रोत्साहन तथा सम्मान स्वरूप ५० हजार रुपियाँ प्रदान गर्न सुरु गरेका हौँ।’ १२ कक्षा उत्तीर्ण भएपछि पनि छोरीले स्नातक तह अध्ययनका लागि भर्ना भएर कागजात पेस गरे गाउँपालिकाले थप ११ हजार रुपियाँ सहयोग गर्ने अध्यक्ष महतोले बताए । उनले पहिलो पटक सम्मान गरिएको छोरीको दाइजो बिना नै विवाह भएको देख्दा आफूहरू झनै खुशी भएको बताए छन् । रेणुकुमारीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोलका २९ वर्षीय जितेन्द्र सिंहसँग दाइजोबिना नै विवाह भएको हो । रेणुकुमारीका बुवा हरदेव कुँमर दनुवारले छोरीलाई दाइजो नदिएर विवाह गरेको जनाइएको छ । आफूले यसअघि जेठी छोरीको पनि दाइजो नदिई विवाह गरेको कुँमरले बताए ।

गाउँपालिकाले छोरीलाई विवाह मण्डपमै आएर सम्मान गर्दै पैसा दिँदा निकै खुशी लागेको कुँमरले बताए । गाउँपालिका अध्यक्षबाट ५० हजार रुपियाँको चेक बुझ्दै रेणुकुमारीले अन्य छोरीहरूलाई पनि आफूले जस्तै उच्च शिक्षा हासिल गर्न र उमेर पुगेपछि मात्रै विवाह गर्न सुझाव दिए ।

 

Comment

Related News

Latest News

Trending News