अपडेट 
२०७९ मंसिर २५, आईतवार ०७:५१

राष्ट्रिय राजनीतिक दलको मान्यता प्राप्त ७ पार्टीले शनिवार निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा सदस्यहरुको समानुपातिक १ सय १० सदस्यको सूचीमा २१ जना मधेशी परेका छन् । त्यसमध्ये अधिकांश महिला छन् । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिट रहेको छ । निर्वाचन आयोगले दलहरुलाई शनिवारसम्म समानुपातिक सदस्यहरुको सूची बुझाउन समय सीमा निर्धारण गरेको थियो । दलहरुले बुझाएको सूचीमा मधेशीलाई मधेशी कोटा बाहेक दलित, आदिवासी जनजातीमा समावेश गरिएको छैन् । आदिवासी, जनजाती र दलितमा मधेशका आदिवासी, जनजाती, दलितहरु परेका छैनन् ।

नेपाली कांग्रेसका पूर्व उपसभापति समेत रहेका विमलेन्द्र निधि मधेशी कोटाबाट समानुपातिक सदस्यमा सिफारिस भएका छन् । निधिलाई समानुपातिकमा समावेश गर्दा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना अत्यन्त विश्वासपात्र गोपालमान श्रेष्ठलाई सूचीबाट हटाउनु परेको हो । तर निधिलाई समावेश मधेशी कोटाबाट गरिए पनि महिला कोटामा रहेकी उनकी भाञ्जी निनु कर्णलाई देउवाले हटाएका छन् । उनी महिलाकोटाबाट सांसद बन्ने निश्चित थियो । नेपाली कांग्रेसको ३२ जना समानुपातिकमा ५ जना मधेशी मात्र समावेश हुने अवसर पाएका छन् । कांग्रेसले पनि दलित, आदिवासी, जनजातीमा मधेशीलाई समावेश गरेको छैन् । कांग्रेसबाट मधेशी कोटामा विमलेन्द्र निधि, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल सिफारिसमा परेका छन् । त्यसै गरी मुसलमान कोटामा जावेद खातुन महिलालाई राखिएको छ ।

त्यसै गरी नेकपा एमालेले पनि मधेशी कोटामा ५ जना मधेशीलाई मात्र समावेश गरेको छ । मधेशी कोटाबाट १ जना पुरुष गंगाप्रसाद यादवलाई र ४ जना महिलामा अमृत राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारी मुखियालाई राखिएको छ । एमालेपनि मधेशका आदिवासी, जनजाती, दलितलाई कोटामा राखेको छैन् । मधेशका आदिवासी, जनजाती र दलितलाई एमालेले पनि पूर्ण रुपमा उपेक्षा गरेको छ । एमालेले मुसलमान कोटामा सराज अहमद फारुखीलाई राखेको छ । एमालेले प्रतिनिधि सभा समानुपातिकमा मधेशप्रति अनुदार देखिएको छ । एमालेले दलित, आदिवासी, जनजातीकोटामा पनि मधेशका आदिवासी, जनजाती, दलितलाई समावेश गर्ने अपेक्षा गरिएको थियो

। माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि गरेको सिफारिसमा मधेशी कोटाबाट २ जना महिलालाई मात्र सिफारिस गरेको छ । माओवादीले मधेशी पुरुषलाई समावेश गरेको छैन् । माओवादीको कोटामा मिना यादव र उमरावती देवी यादव सांसद बनेका छन् । मिना देवी सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का नेता शिवपुजन यादवकी पत्नी हुन् । शिवपुजनकी छोरी प्रतिनिधि सभामा सो क्षेत्रबाट स्वतन्त्र भएर चुनाव लडेकी थिइन् । रामनगर गाउँपालिकाको अध्यक्षमा यादवका छोरा राजाबाबु यादव माओवादीबाट निर्वाचित भएका हुन् । मधेशी कोटामा माओवादीले कल्पना मियाँलाई समावेश गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १ जना बिना जयसवाल मात्र मधेशी कोटामा परेकी छन् । राप्रपाले प्रतिनिधि सभामा समानुपातिकतर्फ ७ स्थान प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेशी कोटामा १ जना महिला लक्ष्मी तिवारी र १ जना पुरुषमा मनिष झालाई समावेश गरेको छ । रास्वपाले पनि दलित, आदिवासी, जनजातीमा मधेशीलाई स्थान दिएको छैन् । अशिम शाह रास्वपाको मुसलमान कोटामा परेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) ले पाएको ५ स्थान मध्ये २ जना मधेशी महिलालाई मात्र स्थान दिएको छ । जसपाबाट १ जना पुरुष मुसलमान प्रतिनिधि सभाका सदस्य हुने भएका छन् । जसपाले पनि आदिवासी जनजाती र दलितबाट मधेशीलाई समावेश गरेको छैन् । जसपाबाट प्रतिनिधि सभा सदस्य हुने २ जना भाग्यमानी महिलामा रञ्जु झा (ठाकुर) र रेखा थापा यादव रहेका छन् । खसआर्यबाट प्रकाश अधिकारी र आदिवासी, जनजातीबाट सुशीला श्रेष्ठ परेकी छन् । श्रेष्ठ अशोक राईकी पत्नी हुन् । राई प्रत्यक्षमा निर्वाचित भएका छन् । जसपाले मुसलमान कोटामा सहनाज रहमानलाई समावेश गरेको छ ।

जनमत पार्टीले मधेशी कोटामा अनिता साह, बसन्तकुमार कुशवाहा, सोनु मुर्मर र बिनिता कुमारी सिंहलाई समावेश गरेको छ । समानुपातिकतर्फ जसपा जतिकै ५ सिट प्राप्त गरेको जनमत पार्टीले आदिवासी, जनजाती र दलितमा पनि मधेशीलाई नै समावेश गरेको छ । जनमतले भने मुसलमानलाई स्थान दिएको छैन् ।

प्रतिनिधिसभा सदस्यका लागि दलहरुले समानुपातिकतर्फको नाम टुंग्याए पनि प्रदेश सभाका लागि अबेर रातिसम्म सकस नै देखिएको छ । प्रतिनिधिसभाका लागि राप्रपा, कांग्रेसमा घमासान नै भएको थियो । राप्रपामा बुद्धिमान तमांगलाई राख्ने अथवा प्रकाशचन्द्र लोहनीलाई राख्ने विषयमा गंभीर विवाद भएको थियो । कांग्रेसमा भने दुई जना पूर्व उपसभापति निधि र श्रेष्ठ मध्ये एकजनालाई छनोट गर्न विवाद भएको थियो । अन्तिम चरणमा सभापति देउवाले निधिकी भाञ्जी निनु कर्णलाई हटाएर निधिको नाम समावेश गरे । पुरुषमा निधिको नाम समावेश भएपछि आदिवासी जनजातीको कोटामा १ नम्बरमा नाम रहेको श्रेष्ठ भने प्रतिनिधि सभामा पुग्न नसक्ने भए । निर्वाचन आयोगले दलहरुलाई नाम सच्चयाउन फेरि समय थप गर्नेछ । कल्स्टर अनुकूल नाम नमिलेको भए दलहरुलाई आयोगले फेरि सच्याएर नाम पठाउन पत्राचार गर्न सक्छ । दलहरुले चाहे आयोगको निर्देशिका भित्र रहेर नाम सच्चयाउन सक्नेछ । राप्रपामा विवाद नथामिए तमांगको स्थानमा लोहनीको नाम पर्न सक्ने नेताहरुले बताएका छन् ।

Please subscribe our official  youtube channel below and support us.

Comment


Related News