अपडेट 
२०७९ मंसिर २६, सोमबार ०७:३७

समानुपातिकतर्फको प्रतिनिधि र प्रदेश सभासदको नाम सिफारिसमा दलहरुमा भाँडभैलो मच्चेको छ ।निर्वाचन आयोगले निर्धारण गरेको मापदण्ड विपरीत केही दलहरुले नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश दुबै तर्फको समानुपातिक सांसदहरुको सूची पठाउँदा निर्वाचन आयोगले निर्धारण गरेको कल्स्टर अनुरुप नरहेको देखिएको छ ।समानुपातिकतर्फ नेताहरुमा सहमति हुन नसकेपछि समानुपातिकतर्फ प्राप्त गरेको भन्दा बढी सिट पनि सिफारिस गरिएको छ ।

नेपाली कांग्रेसले मधेश प्रदेशमा १ जना मात्र पुरुषको सिफारिस गर्नुपर्ने हो ।कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ स्थान पाएको छ । विभिन्न कल्स्टरबाट ८ जना महिला र मधेशी पुरुषबाट १ जनालाई राख्नु पर्ने हो । तर नेताहरुले आयोगको सूची विपरीत मधेशी तर्फको १ नम्बरमा रहेका कुमरकान्त झालाई हटाएर अल्पसंख्यक सूचीमा रहेका राकेश सिंहको नाम सिफारिस गरिएको छ । मधेश प्रदेशमा पहिलो प्राथमिकतामा मधेशी कल्स्टरलाई राखिएको छ । कांग्रेसका केही नेताहरुले अनुचित लाभको प्रलोभनमा परेर झाको नाम हटाएको आरोप नेकांका युवा नेता धीरेन्द्रमोहन झाले लगाएका छन् ।‘निर्वाचन आयोगको प्राथमिकता क्रम अनुसार मधेशीबाट १ नम्बरमा रहेका झाको नाम सिफारिस हुनुपर्छ’ उनले भने, तर अल्पसंख्यकबाट महिला र पुरुष समेतलाई राखेर आयोगले बनाएका कल्स्टर विपरीत सिफारिस गरिएको छ । नेताहरुका अनुसार मधेश प्रदेशमा सहमति हुन नसकेपछि राति १ बजे मापदण्ड मिच्दै सिफारिस गरिएको थियो । पार्टीले गरेको सिफारिस विरुद्ध कुमरकान्त झाले आयोगमा उजुरी दर्ता गरेका छन् ।‘विधि प्रक्रिया अनुसार पार्टीले सिफारिस गर्नुपर्ने हो’ पीडित झाले भने, पार्टीका केही नेताहरुले मापदण्ड मिचेर म माथि अन्याय गरेका हुन् । निर्वाचन आयोगले गल्ती सच्याउन दलहरुलाई दिएको समयावधि भित्र कांग्रेसले मधेश प्रदेशको सभासद सिफारिसको सूचीलाई सच्याउनेमा विश्वस्त रहेको झाले बताए । स्रोतहरुका अनुसार पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित रमेश रिजालले सिंहसित ३० लाख रुपैयामा ‘डिल’ गरेका छन् । प्रक्रिया मिचेर गरिएको सिंहको सिफारिसको कारण अल्पसंख्यक महिलामा रहेका इन्दुकुमारी साह र अञ्जना पण्डित मध्ये एकजना महिलालाई अर्को कल्स्टरमा राख्नु पर्ने बाध्यात्मक स्थिति आएको नेताहरुले बताएका छन् । अत्यन्त विपन्न परिवारबाट कांग्रेस पार्टीमा झण्डै ४ दशकदेखि सक्रिय, जेल र थुनामा समेत परेका झालाई हटाउँदा पार्टीमा समेत व्यापक असन्तुष्टि देखिएको युवा नेता घनश्याम यादवले बताए । झा हाल धनुषा कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति हुन् ।

यसैगरी जनता समाजवादी पार्टी(जसपा) भाँडभैलो भएको छ ।जसपाले मधेश प्रदेशमा ७ जना सभासदको नाम सिफारिस गर्नुपर्नेमा नेताहरुबीच सहमति हुन नसक्दा १० जनाको नाम सिफारिस गरिएको छ । जसपाले प्राप्त गरेको प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ७ गरी कुल १६ सिट प्राप्त गरेको छ ।त्यस मध्ये ६ जना महिला समानुपातिकबाट र एकजना पुरुष मात्र चयन हुने छन् ।जसपाले गरेको सिफारिसमा ७ जना महिला र ३ जना पुरुष छन् । अल्पसंख्यकबाट मनिष सुमन, मुसलिमबाट युसुफ साफी र दलितबाट चन्देश्वर सदाको नाम सिफारिस गरिएको छ । पुरुषतर्फबाट दलितको सूचीमा १ नम्बरमा रहेका चन्देश्वर सदाको संभावना बलियो रहेको स्रोतले जनाएका छन् ।स्रोतका अनुसार सुमन र साफीको नाम हटाइने तयारी गरिएको छ । महिला तर्फबाट ७ जना रहेकोमा त्यस मध्ये ललिता दास र ममता मण्डल २ जनाको नाम हटाइने संभावना छ । दलितबाट पुरुष सदालाई चयन गरि नेसँगै ललिता दास र जनजातीबाट रहेकी ममता मण्डलको नाम हट्ने छ । आयोगले पार्टीलाई पठाउने पत्रमा कल्स्टर मिलाएर आवश्यक संख्या ७ को नाम नै राख्न भन्नेछ ।सोमवार सम्म नाम सच्याउने समय निर्धारण गरिएको छ । आयोगले समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधि र प्रदेश सभा सदस्यहरुको नाम मंगलवार सार्वजनिक गर्ने जनाएको छ ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News