
लागू औषध मुद्दामा अदालतबाट कैद सजाय तोकिए पछि फरार भएकी एक महिलालाई पक्राउ गरी कारागार चलान गरिएको छ ।
सप्तरीको सुरुंगा नगरपालिका १ का ३२ वर्षीया रोमा कुमारी विश्वकर्मालाई पक्राउ गरी कारागार चलान गरिएको हो । २०७८ साल असार २० गते भारतीय सीमासंग जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित सडक खण्डमा चेक जाँचको क्रममा उनी लागू औषधसहित पक्राउ परेकी थिइन । सशस्त्र प्रहरी हवल्दार विनोद कुमार मण्डल नेतृत्वको टोलीले उनको साथबाट प्रतिबन्धित लागू औषध एसपास्मोप्रोसिभन क्याप्सुल १४४ थान र नाइट्रोसन ट्याब्लेट २० थान बरामद गरेको थियो ।
प्रहरीले उनी उपर लागू औषध मुद्दामा कानूनी प्रक्रिया अघि बढाउँदा सप्तरी जिल्ला अदालतले २०७८ साल चैत २३ गते १ लाख जरिवाना तथा २ वर्ष कैद सजायको फैसला गरेको थियो । फैसला लगत्तै फरार भएकी विश्वकर्मालाई अघिल्लो दिन प्रहरीले राजविराज नगरपालिका ६ स्थित एक घर नजिकैबाट पक्राउ गरेको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
उनलाई आइतवार अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।