अपडेट 
२०७९ मंसिर २६, सोमबार ०८:२२

हुलाकी सडकको धुलोले आजित भएपछि सर्लाहीको ब्रह्मपुरीका स्थानीयले तत्काल कालोपत्रे गर्न माग गर्दै आइतबार सडक अवरुद्ध गरेका छन् ।

ब्रह्मपुरी चोकमा टायर बालेर स्थानीय बासिन्दाले यातायात ठप्प पारेका छन् । केही दिनअघि मुसैली र कौडेनाका स्थानीयले सडक अवरुद्ध गरेपछि ठेकेदारले कालोपत्रेको काम अगाडि बढाएका थिए । ब्रह्मपुरीका स्थानीय आफूहरूको ठाउँमा पनि तत्कालै कालोपत्रेको काम अघि बढाउन माग गर्दै आन्दोलनमा उत्रेका छन् । ठेकेदारले गत मंसिर ४ को निर्वाचन सम्पन्न पश्चात काम अघि बढाउने आश्वासन दिए पनि अहिले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको ब्रह्मपुरी गाउँपालिका –३, का स्थानीय जगन्नाथ कापरले बताए । सडक कालोपत्रेको काम अघि नबढेसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन् । ठेकेदारले बारम्बार ढाँटेर कामै नगरेको भन्दै स्थानीय रुष्ट बनेका छन् । छिमेकी जिल्ला रौतहट र महोत्तरीमा पूर्व–पश्चिम हुलाकी सडक निर्माण भए पनि सर्लाहीमा अलपत्र छ । ४१ किलोमिटर लामो हुलाकी सडकमा धुलो उड्दा स्थानीयलाई यात्रा गर्न समस्या भइरहेको छ । छेउछाउका घर धुलोले ढाकेको उनीहरूको गुनासो छ । धुलो सहन नसक्ने भएपछि मुसैली र कौडेनाका स्थानीयले केही दिनअघि टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए । ती दुई ठाउँमा कालोपत्रेको प्रारम्भिक काम जारी छ । सर्लाहीको हुलाकी सडक कालोपत्रेका लागि २०७३ मा तीन प्याकेजमा ठेक्का लागेको थियो । ६४ करोड रुपियाँमा ठेक्का पाएका ठेकेदारले समय सीमा समाप्त भइसक्दा पनि सडकको अधिकांश भाग जीर्ण अवस्थामा छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले ठेकेदारको कमी कमजोरीका कारण हुलाकी सडकमा समस्या रहेको छ । केही स्थानमा सडक कालोपत्रे गर्न नदिन अदालतको स्टे अर्डर आएपछि ठेकेदारले पनि बहाना बनाएर बसेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

Comment


Related News