अपडेट 
२०७९ मंसिर २६, सोमबार १४:३०

धनुषामा आज एकाबिहानै भएको महिलाको हत्यामा श्रीमानकै संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । सुतिरहेको ठाउँमा धारिलो हतियार प्रहार गरी आज बिहान ४ बजे २८ वर्षीया अमृता यादवको हत्या भएको थियो ।

धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरका वीरेन्द्र यादवले नै आफ्नी श्रीमती अमृताको हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रमुख एसपी वसन्त रजौरेले जानकारी दिए ।

प्रहरीले घटनालगत्तै वीरेन्द्रलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । एसपी रजौरेका अनुसार सोधपुछको क्रममा वीरेन्द्रले आफूले बञ्चरो प्रहार गरी हत्या गरेको बयान दिएका थिए ।

बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएपछि वीरेन्द्रले नै अमृतालाई अस्पताल पुर्‍याएका थिए । जनकपुरधामको काव्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले यादवले प्रहार गरेको बञ्चरोसमेत फेला पारेको छ । श्रीमतीमाथि प्रहार गरेको बञ्चरो उनले आफ्नै जमिनमा रहेको पोखरीमा फालेका थिए ।

सुरुमा उनले चार-पाँचजनाको समूहमा आएका नकाबधारी व्यक्तिले अमृतामाथि आक्रमण गरेर फरार भएको प्रहरीलाई बताएका थिए । तर, आशंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । अमृताको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

Please subscribe our official youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News