अपडेट 
२०७९ मंसिर २७, मंगलवार ०६:५७

मधेश प्रदेश सरकारले वीरगञ्जमा स्थापना गरेको मधेश विश्वविद्यालय वीरगञ्ज पब्लिक कलेज (वीपीसी) को भातृ संगठन बनेको छ ।

प्रदेश सरकारले विश्वविद्यालयको उपकुलपति (भीसी) मा वीपीसीका सञ्चालक प्रिन्सिपललाई उपकुलपति नियुक्त गरेको छ ।देशमा आमनिर्वाचन भइरहेको बेला भीसीको सिफारिसमा कुलपति रहेका मुख्यमन्त्री लालबाबु राउतले वीपीसीका प्राध्यापक विजय यादवलाई रजिष्टारमा नियुक्त गरेका हुन् । आमनिर्वाचनको क्रममा निर्वाचन आयोगले असोजदेखि नै आचारसंहित लागु गरेको थियो ।तर मधेश प्रदेश सरकारले पुरानो मिति राखेर आचारसंहिता लागु रहेको अवधिमा यादवको नियुक्ति गरेको खुलासा भएकोछ । चुनावको परिणाम घोषणा भइरहेको बेला मंसिर १६ गते विश्वविद्यालयको सिनेट बैठकमा अचानक रजिष्टार देखिएको सहभागी एकजना सरकारी अधिकारीले जनाए । विश्वविद्यालयको ऐनमा उपकुलपतिको सिफारिसमा कुलपतिले रजिष्टार, रेक्टर लगायतलाई नियुक्त गर्ने प्रावधान राखिएको छ ।विश्वविद्यालयको सहकुलपतिमा मधेश प्रदेशको समाजिक विकास मन्त्रीलाई राखिएको छ ।तर रजिष्टार, रेक्टर लगायतको नियुक्तिमा उनको सहमति आवश्यक रहेको छैन् । निर्वाचन आचारसंहिता अघिसम्म नियुक्त नभएका रजिष्टारलाई सिनेट बैठकमा अचानक देख्दा कर्मचारीहरु समेत छक्क परेको सहभागी एकजनाले जनाए । डा. दीपक शाक्यले सञ्चालन गरेको वीपीसी निजी स्वामित्वको कलेज हो ।त्यहाँ कमर्स बाहेकका विभाग रहेको छैन् ।त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको सो कलेजका सञ्चालक शाक्य भीसी बनेपछि प्राध्यापकलाई रजिष्टार बनाएका छन् । मधेश विश्वविद्यालयको ऐन अनुसार भीसीकै सिफारिसमा कुलपति मुख्यमन्त्रीले रजिष्टार नियुक्त गर्ने प्रावधान अनुसार वीपीसीका प्राध्यापक यादवलाई नियुक्ति गरिएको छ ।स्रोतका अनुसार सिनेटर र रजिष्टारको नियुक्ति चुनाव सम्पन्न भएपछि गरिएको हो ।तर नियुक्ति पत्रको तिथि आचारसंहिता लागु हुनु भन्दा अगावैको राखिएको छ ।

मधेश प्रदेश सरकारले निर्वाचनको क्रममा कयौं महत्वपूर्ण निर्णयहरुगर्दै विभिन्न नियुक्तिहरु गरेको आरोप लागेको छ ।मुख्यमन्त्री राउतले मधेश विश्वविद्यालयमा एउटै निजी कलेजका सञ्चालक र प्राध्यापकलाई मधेश विश्वविद्यालय जिम्मा लगाएको आरोप लगाउँदै बौद्धिक क्षेत्रमा ब्यापक विरोध सुरु भएको छ । विश्वविद्यालयलाई वीपीसीको शाखाको रुपमा स्थापित गर्न लागिएको आरोप लगाउँदै मधेश प्रदेश सरकारले नियुक्तिमा पारदर्शिता नअपनाएको आरोप स्थानीय बुद्धिजिवीहरुले लगाएका छन् ।विश्वविद्यालयमा नियुक्त भएका भीसी र रजिष्टारले आफ्नो निजी कलेजको बृहत् हितका लागि सरकारी सेवा, सुविधाहरुको उपयोग गर्न सक्ने संभावना रहेको आशंका गरिएको छ । गत भदौ ६ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको सो विश्वविद्यालयमा हाल सम्म उपकुलपति बाहेक नियुक्तिको कुनै सूचना सार्वजनिक गरिएको छैन् ।तर केही कर्मचारी पनि भित्री रुपमा नियुक्त गरिएको बताइएको छ । यस सम्बन्धमा मधेश विश्वविद्यालयका कुलपति समेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र उपकुलपति दीपक शाक्य सम्पर्कमा आउन चाहेनन् ।

रजिष्टारको नियुक्ति भएको मिति लगायतका विवरण विश्वविद्यालयबाट समेत उपलब्ध हुन सकेन् ।

Comment


Related News

Latest News

Trending News