अपडेट 
२०७९ मंसिर २७, मंगलवार ०७:५२

वीरगञ्ज महानगर क्षेत्रभित्र विभिन्न निकाय र कार्यालयद्वारा लगाइएको ठेक्काका योजनाहरुको निर्माण कार्य तत्काल सुचारु गर्न महानगरका प्रमुख राजेशमान सिंहले निर्देशन दिएका छन् ।

सोमबार महानगरमा सघन शहरी विकास आयोजना, सिँचाई विकास डिभिजन, नारायणी सिँचाई व्यवस्थापन कार्यालय, स्वच्छन्द, युनाईटेड, विकास एण्ड ब्रदर्स र पप्पु कन्सट्रक्सनका प्रतिनिधि, वडा अध्यक्षहरु तथा महानगरका प्राविधिकहरु सहभागी भएको बैठकमा प्रमुख सिंहले निर्देशन दिएका छन् । ठेक्का सकार गरेर वर्षौसम्म काम नगर्ने परिपाटी अब महानगरमा चल्दैन भन्दै सिंहले भने काम शुरु गरेपछि समयमै सम्पन्न हुनुपर्छ । ठेकेदारले ठेक्का सकार गर्ने र मोबीलाईजेशन बापतको रकम भुक्तानी लिएपछि वर्षौसम्म काम नगर्ने परिपाटीले नागरिकले दुख पाउँदै आएका छन् । एक महिना भित्रमा ठेकेदारले सन्तोषजनक कार्य प्रगति नदेखाएमा कानून बमोजिम कारबाही गरिने उनले चेतावनी दिए । खासगरी पप्पु कन्सट्रक्सनले धेरै ठेक्काहरुमा जनतालाई दुख दिएको भन्दै प्रमुख सिंहले अब पनि पप्पुले आफ्नो जिम्मेवारी पूरा नगरे नगरवासीलाई लिएर उनको घर घेर्ने चेतावनी दिए। महानगर क्षेत्रभित्र भौतिक योजना निर्माणको काम गर्नुपर्दा महानगरसँग समन्वय र पूर्व स्वीकृति लिएर मात्र योजना अगाडि बढाउन सिंहले निर्देशन दिएका छन् ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, सघन शहरी विकास आयोजनाका प्रमुख झपट बहादुर थापा, सिँचाई विकास डिभिजन वीरगञ्जका प्रमुख श्याम किशोर साफी, नारायणी सिँचाई व्यवस्थापन कार्यालय वीरगञ्जका प्रतिनिधि अखलाक सिद्दिकी, पप्पु कन्सट्रक्सनका प्रतिनिधि बिजसवा अब्राहम, वडा अध्यक्ष रामकिशोर सिंह पराग, पूर्वाधार महाशाखा प्रमुख राजेश चौरसिया र भरत थापा लगायतको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News