अपडेट 
२०७९ मंसिर २७, मंगलवार ०८:०१

धानको मूल्य निर्धारण गर्न माग गर्दै वीरगञ्जमा किसानद्वारा आन्दोलन गरिएको छ ।

सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ लगायतका संगठनहरुले संयुक्त रूपमा आन्दोलन गर्दै अविलम्ब निर्धारण गरिएको मूल्यलाई कार्यान्वयन गर्न माग गरेका छन । सरकारले धानको मूल्य कार्यान्वयनमा बेवास्ता देखाएको र मल आपूर्तिमा असफल रहेको भन्दै किसानहरुले सरकारविरुद्ध आन्दोलनमा ओर्लेका छन । धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भए पनि अहिलेसम्म सरकारी निकायले धान खरिद प्रक्रिया शुरु नगरेको कारण किसानहरू विच्चलीमा परेका छन् । साथै निजी व्यापारीहरुले सस्तो मूल्यमा धान खरिद गरेको कारण कृषि घाटाको व्यापार भएको उनीहरुको गुनासो छ । किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष शमरुम राउत गद्दीले नेपाल कृषि प्रधान मुलुक भनिए पनि राज्यबाट सबै भन्दा कृषक नै उपेक्षित भएको आरोप लगाएका छन् । त्यस्तै,किसान महासंघका जिल्ला अध्यक्ष अमर प्रसाद यादवले सरकारले धान समयमा निर्धारित मूल्यमा नलिदा विचौलियाले फाइदा लिरहेको तथा खेतीपातीका लागि धान बेच्न नपाएको र खाद्यसमेत नपाएकोमा अवस्थामा अन्य खेतीपातीलाई ढिलो हुँदा किसानहरुलाई ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्दै सरकारले नसुनेको कारण बाध्यताले आन्दोलनमा उत्रिनुपरेको बताए ।

कार्तिक १६ गतेको मन्त्रिपरिषद्को बैठकले यसवर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्दै मोटो धानको मूल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोके पनि यो मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको कारण सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो दिन किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा आधा घण्टा धर्नासमेत दिएका थिए । यसअघि किसान महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत खाद्य कम्पनीको देशभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिइएको छ ।

निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया शुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।

 

Comment


Related News