अपडेट 
२०७९ मंसिर २७, मंगलवार ०८:४६

मधेश प्रदेशमा आधा दर्जन भन्दा बढी आकांक्षी सांसद बन्न पार्टी त्यागे पनि सांसद बन्न पाएनन् । सांसद बन्न पार्टी त्याग गरे पनि निर्वाचनमा उनीहरु पराजित भए ।

उनीहरु सांसद बन्नकै लागि पार्टी परिवर्तन गरेका थिए । गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा उम्मेदवार पनि बनेका थिए । तर उनीहरु सांसद बन्न सकेनन् । जनता समाजवादी पार्टी परित्याग गरी महोत्तरीकी डा. रिना यादव नेकपा एमाले प्रवेश गरेकी थिइन् । चुनावको मुखमै असोज १ गते उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाइ एमाले प्रवेश गरेकी थिइन् । उनले एमालेको समानुपातिक कोटामा सांसद बन्न आश्वासन पाएकी थिइन् । एमालेको बन्द सूचीमा उनको नाम पनि राखिएको थियो । तर उनी सांसद बन्न सकिनन् । उनी २०७४ सालमा तत्कालीन राजपाबाट समानुपातिक कोटामा सांसद बनेकी थिइन् । यस्तै, धनुषाको किशोरी साह (कमल) पनि पार्टी त्याग गरेका थिए । उम्मेदवारीको दिन उनले एमाले त्याग गर्दै धनुषा निर्वाचन क्षेत्र १ बाट डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए । तर उनी पराजित भए । उनलाई यसपालि एमालेले टिकट दिएनन् । यसअघि उनी एमालेबाट नै धनुषा १ को ‘क’बाट प्रदेशसभामा निर्वाचित भएका थिए । मधेश प्रदेशसभामा उनी एमालेको प्रमुख सचेतकको भूमिकामा थिए । जसपा त्याग गरी लोसपाबाट उम्मेदवारी दिएका कौशल कुमार यादव पनि पराजित भए । उनी यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट सांसद बनेका थिए । पछि महन्थ ठाकुर नेतृत्वको राजपा र संघीय समाजवादी एकीकरण भइ जसपा बनेको थियो । जसपाबाट महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन हुँदा यादवले पछि जसपा नै रोजेका थिए ।

तर चुनावको मुखमा उनले लोसपाबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’मा उम्मेदवारी दिएका थिए । उनलाई नेकपा एमालेका सरोज कुमार यादवले पराजित गरे । जसपाकै नेतृ करिमा बेगमा पनि पार्टी त्याग गरी स्वतन्त्र उम्मेदवारी दिइन् । उनले पर्सा निर्वाचन क्षेत्र २ को ‘ख’बाट जसपा त्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । तर उनले सम्मानजनक मत पनि ल्याउन सकिनन् । यसअघि उनी सोही क्षेत्रमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएर सांसद भएकी थिइन् । मधेश प्रदेशका पूर्व उद्योग पर्यटन तथा वन मन्त्री पनि पराजित भएका छन् । सर्लाही निर्वाचन क्षेत्र २ बाट उनी जसपा त्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिए,तर उनी तीन हजार दुई सय ५३ मत मात्रै ल्याउन सके । यसअघि उनी सोही क्षेत्रबाट तत्कालीन राजपाबाट निर्वाचित भएका थिए । पछि जसपाबाट अल्गिएर लोसपा गठन हुँदा मन्त्री पद जोगाउन उनी जसपा नै रोजे का थिए । तर जसपाले उनलाई गठबन्धनका कारण टिकट दिएनन् । यहाँ एमाले–जसपा गठबन्धनबाट एमालेका किसुन देव राय उम्मेदवार थिए । उनलाई पराजित गर्दै जंगिलाल राय निर्वाचित भए । यस्तै, पूर्व सांसद जन्नत अन्सारी पनि पराजित भएका छन् । उनी पर्सा निर्वाचन क्षेत्र नम्बर १ को ‘क’बाट जसपा त्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले एमाले–जसपा गठबन्धनको साझा उम्मेदवार विचारी प्रसाद यादवलाई अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनी पनि पराजित भए । यसअघि उनी संघीय समाजवादी फोरमबाट सोही क्षेत्रमा निर्वाचित भएका थिए । गठबन्धनका कारण उनी जसपाबाट टिकट पाएका थिएनन् । यी सबै उम्मेदवारहरुलाई पार्टीले कारबाही पनि गरेका छन् । उनीहरु मधेश प्रदेशका पूर्व सांसद पनि छन् ।

पराजित भएपछि उनीहरु सोही पार्टीमा फर्किने वा अन्य कुनै पार्टी रोज्ने तय गरेका छैनन् । कतिपयले पार्टीकै उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका थिए भने कतिपय पार्टीकै आन्तरिक सहमतिमा उम्मेदवारी दिएका थिए । उनीहरु पुनः पार्टीमा फर्किन सक्ने अनुमान गरिएको छ ।

Comment


Related News