२०७९ मंसिर २७, मंगलवार ०९:०४

निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुनः पत्राचार गर्ने भएको छ ।

मङ्सिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समयसीमा दिएर सच्याउन पत्राचार गरेकोमा हिजो एमालेले पुनः त्यही सूची पठाएपछि आयोगले आज दोस्रो पटक पत्राचार गर्न लागेको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले यसअघि बुझाएको बन्दसूचीमा फेरबदल गरी बुझाए पनि एमालेले पुरानै सूचीलाई निरन्तरता दिएको हो । यसबारेमा आयोगले हिजो बेलुका छलफल गरेको छ । छलफलका आधारमा आज पत्र पठाउने तयारी भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले एमालेले आज निर्धारित समयभित्र त्रुटि सच्याएर नपठाए अन्य दलको उम्मेदवारलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र दिने तयारीसमेत गरेको छ । यता नेकपा एमालेले भने आफूले पठाएको सूची क्रमअनुसारै रहेको दाबी गरेको छ ।

प्रदेश एकमा अल्पसंख्यक समूहको प्राथमिकता क्रमसंख्या नम्बर–२ मा सिफारिस उम्मेदवार पहाडी नेवार समुदायको भएकाले अल्पसंख्यकलाई सिफारिस गरेको एमालेले जनाएको छ । त्यस्तै मधेश प्रदेशमा मधेशी महिला समूहको क्रमसंख्या–२ मा रहेकी फुलोकुमारी देवी अल्पसंख्यकमध्ये पहिलो नम्बरमा भएकाले सिफारिस गरिएको एमालेको दाबी छ ।

त्यस्तै मधेश प्रदेशको मुस्लिमतर्फ क्रमसंख्या १ मा रहेकी जैनव खातुनलाई भने पार्टीले कारबाही गरेकाले दोस्रो नम्बरमा रहेकी नाजिमा खातुनलाई सिफारिस गरेको एमालेले उल्लेख गरेको छ । जैनवले पार्टीका उम्मेदवारका पक्षमा प्रचार नगरी पार्टी परित्याग गरेको एमालेको पत्रमा उल्लेख छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने त्रुटि सच्याएर पुनः उम्मेदवार छनोट गरी पठाएका छन् ।

Comment


Related News

Latest News

Trending News