अपडेट 
२०७९ मंसिर २८, बुधबार ०७:०४

आमनिर्वाचन सम्पन्न भएसँगै मधेशमा नयाँ पार्टी जन्मने तरखरमा छ ।तराई मधेश केन्द्रित दल मानिएका लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) र जनता समाजवादी पार्टी( जसपा)को स्थिति दयनीय भएकोबेला मधेश प्रदेशका नेताहरुले नयाँ पार्टी खोल्ने तयारीमा लागेका छन् ।

सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका डा.अमरेश कुमार सिंहले पार्टी खोल्ने मनस्थितिमा रहेको बताए । भारत भ्रमणबाट मंगलवार काठमाण्डु फर्केका डा.सिंहले जनकपुर टुडेसितको संक्षिप्त कुराकानीमा पार्टी खोल्ने सोच बनाएको बताए । ‘तराई÷मधेशमा नयाँ राजनीतिक दलको आवश्यकता देखिएको छ ’ उनले भने, जसपा र लोसपाको अवस्था अत्यन्त कमजोर भएकाले जनभावनाको प्रतिनिधित्व गर्न सक्ने दलको आवश्यकता छ । ‘नेपाली कांग्रेसको मत पनि मधेशमा निकै घटेको र जनमत पार्टीले पनि अपेक्षाकृत सफलता हासिल गर्न नसकेको अवस्था छ’ उनले भने, तराई÷मधेशका जनताले अधिकारका लागि लड्न सक्ने शक्ति निर्माण चाहेका छन् । मधेश प्रदेशमा स्वतन्त्र उम्मेदवार जित्ने लहर नचले पनि प्रतिनिधिसभामा ३ जना र मधेश प्रदेशमा ६ जना स्वतन्त्र रुपमा चुनाव जितेका छन् ।स्वतन्त्र चुनाव जित्नेमा सर्लाहीबाट डा.सिंह, रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रभु साह र २ नम्बरबाट किरण कुमार साह जितेका छन् । मधेश प्रदेशमा यस पटक नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा अगाडि छ ।एमालेले प्रतिनिधिसभामा ९ सिट र प्रदेशसभामा २३ सिट जितेका छन् ।त्यसपछि नेपाली कांग्रेसले प्रतिनिधिसभामा ६ सिट र प्रदेशसभामा २२ सिट जितेको छ । मधेश केन्द्रित दलहरुको स्थिति अत्यन्त कमजोर देखिएको छ । जसपाले प्रतिनिधिसभामा ७ सिट र प्रदेशसभामा १६ सिटमा जितेको छ । लोसपाले प्रतिनिधिसभामा ३ सिट र मधेश प्रदेशमा ९ सिटमा खुम्चिएको छ ।जनमतले प्रतिनिधिसभामा १ र प्रदेश सभामा १३ सिट जितेको छ ।मधेश प्रदेशमा माओवादी केन्द्र र नेकपा एसको उपस्थिति खासै राम्रो छैन् । चुनावको परिणामले मधेशका मतदाताहरु मधेशका दलहरुसित आक्रोशित देखिएको प्राध्यापक रामसागर पण्डित बताउँछन् ।‘मधेशमा ठूला दल एमाले र नेकांको पक्षमा मतदान हुनु स्वभाविक होइन्’ उनले भने, मधेशको अधिकार हरण गर्ने दललाई मतदान गर्नु मधेशी मतदाताको असन्तुष्टि देखिन्छ ।

निष्ठावान, जुझारु नेताहरुले मधेशमा दलको स्थापना गरे त्यसप्रति मतदाताको आकर्षण बढने पण्डितको कथन छ । पार्टी गठनका लागि छलफल सुरु भइनसके पनि त्यसको आवश्यकता महसुस गरेकाहरुबीच संवाद भइरहेको डा.सिंहले बताए ।लगातार तेस्रो पटक सर्लाहीबाट निर्वाचित भएका डा.सिंहले पार्टी गठनको विषयमा देशभरि छलफल गर्ने उनले बताए । जेलमा रहेका निवर्तमान सांसद रेशम चौधरीको प्रभावले सुदूर पश्चिममा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा ३ सिट जितेको छ ।बौद्धिक व्यक्तित्व भएका ह्रदयेश त्रिपाठी चुनावमा पराजित भएका छन् । मधेशका दिग्गज नेता मानिने जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पराजित भएका छन् । डा.सिंहले स्वतन्त्र सांसद एवं पूर्व मन्त्री प्रभु साह लगायतका नेताहरुको सहभागिता रहने पार्टीको निर्माण पनि हुन सक्ने बताए ।तर यस विषयमा ठोस निर्णय भइनसकेको उनले बताए ।डा.सिंहले साँझ भारतबाट फर्किएकाले नेताहरुसित विस्तृत संवाद हुन नसकेको बताए । पूर्व मन्त्री एवं स्वतन्त्र सांसद प्रभु साहलेपनि पार्टी खोल्ने तयारीमा रहेको सञ्चारकर्मीहरुसितको कुराकानीमा बताएका छन् ।‘नयाँ पार्टी खोल्ने तयारीमा जुटेको उनले जनाए ।

‘पहिला म स्वतन्त्रबाट चुनाव जितेर सांसद भएँ ’ उनले भने, अब आफ्नो छुट्टै दल खोल्ने तयारीमा छु ।’ पार्टीका लागि नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना रहेको उनले बताए ।

Please subscribe our official youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News