अपडेट 
२०७९ मंसिर २८, बुधबार ०७:३२

मधेश प्रदेश धेरै दृष्टिकोणले आफैँमा विशिष्ट रहेको छ । देशको राजनीति मूल राजनीतिमा अहिले जुन व्यवस्था रहेको छ, जसलाई संघीयता भनिन्छ, यसको प्राप्तिमा मधेशले ठूलो आन्दोलन गरेको थियो । सबैलाई थाहा छ, मधेश आन्दोलनको मूल केन्द्र नै यही क्षेत्र रहेको थियो । मधेशको पहिचान आन्दोलनको रुपमा मात्र नभएर यहाँको संस्कृति र प्रकृतिमा पनि रहेको छ । मधेसको प्रकृति गर्मीमा निकै गर्मी र जाडोमा निकै जाडो हुँदै गएको छ । विगत केही वर्षदेखि निकै जाडो भइरहेको छ । एकातिर गर्मीले जनजीवन प्रभावित हुने गरेको छ भने अर्कोतिर जाडोले पनि जनजीवनलाई त्यत्तिकै सताउने गरेको छ । पहिले गर्मी मात्र यहाँको पहिचान हुने गरेकोमा अब जाडो पनि यहाँको विशेषता बन्न थालेको छ र हरेक वर्ष शीतलहर चलेर जनधनको क्षति पु¥याउने गरेको यथार्थ छ । फेरि वर्षाको समयमा पनि बाढीले यही सताउँछ र यदि राम्ररी वर्ष भएन भने यस वर्षको जस्तो निकै कम पानी परेर धानबालीलाई यही नै हानि नोक्सानी हुन्छ । मधेशी स्वभावले पनि अलिक भिन्न छन् । समथर क्षेत्रको बासिन्दा हुनाले पहाडको तुलनामा केही कम मिहिनेती छन् । कम मिहिनेतको स्वभाव अझ अलिक बढ्दै गएको हो कि जस्तो लाग्दछ । पहिले पहाडमा अधिकांश शिक्षक यहीका हुने गर्दथे तर अहिले तराई मधेशमा नै शिक्षकको अभाव हुन थालेको छ । पहाडमा राम्रा शिक्षक उत्पादन गर्ने यहीका गुरुहरु हुन तर अहिले यही नै शिक्षा उर्वर बन्न नसकेको महसुस भइरहेको छ । तराई मधेशको शिक्षा कमजोर हुनुमा तराई मधेशको प्रवृत्ति नै जिम्मेवार रहेको देखिएको छ । हामी कम मिहिनेत गर्ने किसिमको मानिस बन्दैछौँ । यहीँका अभिभावकले यस प्रदेशभन्दा बाहिर आफ्ना सन्तानलाई राम्रो शिक्षाको लागि पठाउन थालेका छन् । यो पनि एउटा सोचनीय विषय रहेको छ । अहिलेको अवस्थामा जब शिक्षाले उच्च प्रविधि पनि हासिल गरिसकेको छ तब पनि हामी शिक्षाको क्षेत्रमा कमजोर बन्दै जानु हाम्रो लागि नै दुर्भाग्य हो ।

शिक्षाको क्षेत्रमा मात्र नभएर तराई मधेशमा पहिलेको तुलनामा धानको उत्पादनको अवस्था के छ, गहुँ कत्तिको उत्पादन भइरहेको छ, मसुरो तथा तेलहनको अवस्था कस्तो छ ? देशको अन्नको भन्डार भनेर मानिने तराई मधेशमा पशुपालनको अवस्था कस्तो छ ? अहिले त खेतीपातीको लागि पशुपालन विस्तारै कम हुँदै गएको छ । यसको अर्थ यो पनि हो कि पशुपालनमा व्यावसायिकता बढेको छ । व्यावसायिक पशुपालनमा बाख्रा ग्रामीण क्षेत्रको अधिकांश घरमा पालिएको पाइन्छ तर के यहाँको बाख्रापालनबाट यहाँको मासुको माग पूरा भएको छ त ? सम्भवतः कुखुरामा पनि हामी आत्मनिर्भर छैनौँ । यद्यपि कुखुराको धेरै अंश भने नेपालमै पूरा हुने गरेको पाइन्छ तर मधेशको अवस्था के छ ? अलिकति सजिलो गरी भन्न सकिने भनेको माछाको क्षेत्रमा हो । अहिले हरेक सरेहमा माछापोखरी बढेका छन् । मत्स्यपालन व्यवसायको रुपमा फस्टाएको अवश्य हो तर पनि माछामा मधेश आत्मनिर्भर बन्न सकेको छ कि छैन ? मधेशबारे यस प्रदेशका बासिन्दाले बढी विचार गर्नुपर्ने हो । अझ सचेत मधेशीले अझ बढी पक्षमा मधेशको विकासबारे विचार गरिनु आवश्यक छ । हुन त मधेशमा जातिवादको नारा निकै फस्टाएको छ । हो, पछिल्लो समयमा मधेशमा निकै फस्टाएको जातिवादको साँघुरो घेरा हो । जातीय साँघुरो घेराबाट विस्तारै समाज माथि उठ्नुपर्ने हो । समाजलाई अग्रगति दिनको लागि जातिवाद एउटा बन्धन हो । जातिवादले समाजलाई अगाडि बढाउँदैन, बरु समाजमा कट्टरताको विकास गर्छ भन्ने कुरा सबै जातिका सचेत नागरिकले बुझेका छन् तर पनि यस कट्टरताले आफ्नो पखेटालाई फिँजाउँदै लगेको छ । यसपटक प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जातिवादको विरोध गर्नेले पनि चुनावमा फलानो जातिको फलानो क्षेत्रमा यत्ति मानिस छन्। यसै कारणले जित्ने वा हार्ने सम्भावना रहेको छ भनेर विश्लेषण गर्ने गरेका थिए । यरी विश्लेषण गर्नेले यो कुरा भन्न चाहिँ छुटाउँदैनथे कि मैले जातिवादलाई नमाने पनि आखिरमा समाजमा जातिवादलाई मान्नेको संख्या नै धेरै छ । जातिवादको आधारमा भोट दिनुभन्दा उम्मेदवारलाई चिनेर, उम्मेदवारको घोषणापत्रलाई पढेर र उम्मेदवारलाई भरोसा गरेर भोट दिनुपर्ने हो । यस्तो पनि देखिएको छ कि जातिवादको विरोध गर्ने तर आफ्नो जातिको कोही उम्मेदवार छन् भने तिनको पक्षमा प्रचार गर्ने । जे जसरी भए पनि जातिको विरोध नगर्ने । जातिवादको पक्षमा वकालत गर्नेहरुले पनि कम्तीमा यस विषयमा ध्यान दिनु आवश्यक छ कि जातिवादको उपयोग शिक्षा, स्वास्थ्य र चेतनाको लागि गर्नु राम्रो हुन्छ । यदि जातिवादलाई बढावा दिनु छ भने जातीय पहिचान र जातीय विशिष्टतालाई मुद्दा बनाउनु उचित होला ।

अरु जातिभन्दा आफ्नो जातिलाई इमानदार बनाउन, परिश्रमी बनाउन, प्रतिस्पर्धी बनाउन तथा शिक्षाको क्षेत्रमा अगाडि बढाउन भूमिका खेल्दा राम्रो हुन्थ्यो । यदि राजनीतिमा पनि जातिलाई सहयोग गर्नु छ भने आफ्नो जातिको को को इमानदार छन्, कसरी इमानदार छन्, विगत कस्तो रहेको छ तथा वास्तवमा तिनले वाचा गरेजस्तो गरेनन् भने के कसरी गर्ने भन्ने योजना तथा कुरा सार्वजनिक गरेर जातिलाई सहयोग गर्दा कतिपय अवस्थामा जातीय साँघुरो घेराबाट बाहिर आउन सजिलो हुन्थ्यो । मधेश प्रदेशमा जातीय विविधता छ, धार्मिक विविधता छ, सांस्कृतिक विविधता रहेको छ । यहाँ सबै धर्म, सम्प्रदाय तथा समुदायका मानिस मिलेर बसेका छन् । यो यस प्रदेशको निकै सुन्दर सौन्दर्य हो । बाहिरबाट हेर्दा यहाँका मानिसलाई रिस छिटो उठ्छ । हो, यहाँको अदालतहरुमा मुद्दा बढी हुन्छ । एकापसमा झैँझगडा पनि अलिकति बढी नै गर्दछन् तर झगडाहरु व्यक्तिगत र पारिवारिक हुन्छन् । व्यक्तिदेखि परिवारमा नै झगडा सीमित हुन्छ । अधिकांश परिवारबाट किँचलो अदालतसम्म पुग्दछ । मुख्य गरी अंशको विषय झगडाको निकै ठूलो कारण बन्ने गर्दथ्यो । अहिले पनि छँदैछ तर अब विस्तारै अंश लिनेहरु एकापसमा मिलेर नै छुट्याउन थालेका छन् । केही हदसम्म अंश विवादसम्बन्धी विषय अदालतमा कम पुग्न थालेको छ । अहम वा घमन्ड वा जुँगाको लडाइ भने यहाँको एउटा विशिष्ट प्रवृत्ति हो । यसले नै बढी लडार्इँ झगडालाई बढाउने गरेको छ । गल्ती हुने वा गर्नेले गल्ती स्वीकार गर्दैनन् वा यही अहमको भावनाले गल्ती स्वीकार गर्दैनन् । सानोतिनो कुरामा पनि निकै ठूलो विवाद हुन्छ । विवादले समाजलाई नै तान्दछ वा समाजले पनि कहिलेकाहीँ यही अहम, जाति तथा सम्प्रदायको रंग दिएर बढाउने काम गर्दछ । यसले गर्दा सानोतिनो विषय पनि ठूलो हुन पुग्दछ । जातीय वा सामुदायिक तथा साम्प्रदायिक विषयलाई महत्व दिँदा बालबालिकाको शिक्षा, किशोरकिशोरीको मनोविज्ञान तथा समाजको अर्थतन्त्रमा कस्तो असर परिरहेको हुन्छ भन्ने कुरातिर ध्यान नै गएको हुँदैन । अहमलाई त्याग गरेर विवादलाई सल्टाउने प्रवृत्ति हावी हुनु जरुरी छ । यसको अर्थ यो कदापि होइन कि मधेशी समुदाय सहनशील वा सहिष्णु छैनन् । मधेशीहरुमा सहनशीलता धेरै छ । मधेशीहरु सहिष्णु भएकै कारण यहाँ अनेक धर्म र संस्कृतिले फस्टाउने मौका पाएका हुन् । शताब्दीयौँदेखि विभिन्न धार्मिक सम्प्रदायका मानिस मिलेर बसेका छन् । सहिष्णुता पनि मधेशीको संस्कारगत स्वाभाविक गुण हो भन्ने कुरो घाम झैँ छर्लङ्ग छ । यद्यपि खुट्टा तान्ने प्रवृत्ति भने प्रगतिको बाधक रहेको छ । समानस्तरका मानिसमा अरुको प्रगति देखेर जल्ने र सम्भव भएसम्म खुट्टा तान्ने प्रवृत्ति रहेको छ । यसै गरी आफूभन्दा सानाले प्रगति गर्न लागेको छ भने प्रोत्साहन दिनुको साटो त्यसलाई दबाउने, थिच्ने वा अगाडि बड्न नदिने किसिमको वातावरण मिलाउने प्रवृत्ति रहेको छ ।

यति हुँदाहुँदै पनि विकासको चाहना छ । विकासको लागि आफूले केही गर्न नपरोस् भन्ने सोचाइ छ । विकासमा सहयोग गर्न पछाडि हट्ने, सम्भव हुँदासम्म आफूलाई केही नहोओस् भन्ने वा विकासमा आफूलाई केही घाटा नहोओस् तर विकास होओस् भन्ने चाहना राख्ने मानिस धेरै छन् । सम्भव भएसम्म सहयोग गर्न नपर्ने र अझ मौका पाउनासाथ अवरोध सिर्जना गर्ने तर विकास भएको हेर्न चाहने प्रवृत्तिले मधेशमा जस्तो भौतिक वातावरण अर्थात् जस्तो विकासको सम्भावना रहेको छ, त्यस्तो हुन सकेको छैन । अन्य देशको वा हाम्रै देशको अन्य ठाउँको विकास हेर्दा खुसी हुने, त्यहाँ पुगेर आफ् नो ठाउँको पनि विकास यसरी नै भए राम्रो हुने भनी कल्पना गर्ने तर आफ्नो घर आएर त्यसलाई फलिभूत बनाउन आफ्नो केही भूमिका नहोओस् भन्ने चाहने प्रवृत्ति पनि यहाँको अपेक्षित विकासमा बाधक रहेको भन्न सकिन्छ । हरेक मानिसको चाहना हुन्छ कि आफ्नो विकास होओस् । आफ्नो व्यक्तिगत विकास तथा सामाजिक विकासको चाहना सबैले राख्नु स्वाभाविक हो । सर्लाही घर भई अमेरिकामा इन्जिनियर रहेका एक शिक्षित व्यक्ति जहिले आफ्नो घर आउँछन्, तहिले नै सम्बन्धित पालिकाका इन्जिनियर, पालिका प्रमुख तथा प्रबुद्ध व्यक्तिहरुलाई भेट गर्छन् । विकासको लागि छलफल चलाउँछन् । विकासको लागि आफूले गर्न सक्ने सहयोगको लागि बाटो खोज्छन् । यसरी विकासको योजना बनाउँदा सरकारले पनि सहयोग गर्छ र सहयोग गर्ने वातावरण बनाउन आफ्नो भूमिकाको खोजी गर्छन् । दिनरात परिश्रम गरेर विभिन्न कार्यक्रमको आयोजन गर्दछन् । स्वास्थ्य शिविरको संचालनका साथै गुरुहरुको सम्मान कार्यक्रमको आयोजन निजी खर्चमा नै गर्दछन् । विकास र निर्माणका साथै समाजसेवामा लागेकाहरुलाई प्रोत्साहन दिन्छन् । पालिकाको कृषि, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई अझ राम्रो बनाउने सम्भावनाको खोजी गर्छन् । यसरी मधेशमा वा मधेशका केही निकै राम्रा मानिसहरु छन् जसले समाजलाई अगाडि बढाउनको लागि आफूले सक्ने हरेक क्षेत्रबाट समाजलाई अगाडि बढाउने प्रयत्न गर्दछन् र गरिरहेका छन् पनि । मधेश प्रदेशका नागरिकको चाहना विकास हो, समृद्धि हो र संस्कृतिको पहिचानलाई बचाउनु पनि हो । आफ्नो संस्कृतिअनुसारको विकास सबैको चाहना हो । आफूले गर्न नपरोस् तथा आफूलाई कुनै क्षति नहोओस् तर विकास होओस् भन्ने चाहनालाई मधेश प्रदेश सरकारले पूरा गरिदेओस् भन्ने चाहना हुनुलाई अन्यथा मान्नु हुँदैन, यो स्वाभाविक हो तर कुनै पनि सरकारका आफ्नै सीमाहरु छन् । राज्यले चाहँदैमा सबै पूरा भइहाल्ने हुँदैन । राज्यका पनि केही सीमाहरु हुन्छन् । अहिले स्थानीय सरकार निकै बलियो छ । केन्द्र सरकारको नै सबैले मुख ताक्छन् । बिचमा प्रदेश सरकार रहेको छ । प्रदेश सरकारले पनि प्रदेशको पहिचानको लागि असल अभ्यासको थालनी गर्नुपर्छ भन्ने चाहना रहेको छ ।

मधेश प्रदेशका नागरिकको वास्तविक चाहना यस प्रदेशमा रोजगारीको वातावरण सिर्जना होओस्, शान्ति र अमनचयन कायम रहिरहोस्, देशमा यस प्रदेशको जुन जुन क्षेत्रमा नकारात्मक पहिचान बनेको छ तिनीहरुमा सकारात्मक भावनाको संचार होओस् । प्रदेश समृद्ध बन्न सकोस् । यहाँका नागरिकले आफूलाई सक्षम र प्रतिस्पर्धी रुपमा देश तथा विदेशमा आफूलाई चिनाउन सकून् । प्रदेशको चेतनामा वृद्धि र विकास होओस् । र, कसरी हुन्छ, सकारात्मक तरिकाले प्रदेशको गरिमा वृद्धि होओस् ।

Comment

Related News

Latest News

Trending News