अपडेट 
२०७९ मंसिर २८, बुधबार ०७:३६

वीरगञ्ज महानगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि महानगरले सक्रियता देखाएको छ । निर्वाचनका बेला जनताकाबीच शिक्षामा आमूल परिवर्तन गर्ने प्रतिवद्धता बमोजिम मेयर राजेशमान सिंहले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिएका छन् ।

महानगरभित्रका संस्थागत विद्यालयहरुको वर्गीकरण तथा शूल्क निर्धारण गरे लगत्तै मेयर सिंह निरन्तर सामुदायिक विद्यालयको अनुगमनमा छन् । सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरीय र विश्वसनीय बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै मेयर सिंहसहितको टोलीले लगातार तेस्रो दिन पनि यहाँका विभिन्न ामुदायिक विद्यालयमा छड्के अनुगमन गरेका छन् । मंगलवार मेयर सिंह छड्के अनुगमनका लागि सबैभन्दा पहिला वीरगञ्जको विर्तास्थित त्रिजुद्ध स्कुलमा पुगे । उपत्यका बाहिरको सबैभन्दा पहिलो स्कुलको रुपमा परिचित त्रिजुद्ध महाविर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयमा पुगेर मेयर सिंह नेतृत्वको टोलीले त्यहाँको विद्यार्थीहरुसँग साक्षात्कार गरे । कक्षा १० मा पुगेर मेयर सिंहले पठनपाठनमा र समग्र विद्यालयमा भएका समस्याका सम्बन्धमा प्रश्न सोधे । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीसँग नजिकिँदै उनीहरुको सबैभन्दा मन पर्ने विषयका सामान्य जिज्ञासा र प्रश्न सोधे । सो अवसरमा अधिकांश विद्यार्थीहरुले अंग्रेजी माध्यम र नेपाली माध्यममा पढ्ने विद्यार्थीबीच विभेद हुने गरेको बताए । विद्यालयमा अतिरिक्त क्रियाकलाप नहुने र भए पनि नेपाली माध्यममा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी नगराउने गरेको उनीहरुको भनाइ थियो । साथै कक्षामा अध्यापनका क्रममा शिक्षकहरुले मोवाइलमा कुरा गर्ने गरेको त्रिजुद्ध स्कुलका विद्यार्थीले बताए । त्यसपछि कक्षा ८ र ९ का विद्यार्थीसँग मेयर सिंह नेतृत्वको अनुगमन टोलीले समस्याका बारेमा बुझेको थियो । विशेष गरी छात्राहरुको लागि शौचालयको समस्याका साथै एउटै चापाकलमा धेरै विद्यार्थीले पानी पिउनुपर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो छ । अनुपस्थितको संख्या धेरै त्रिजुद्ध माविको कक्षा ९ मा १ सय ४ जना विद्यार्थी छन् । मेयरसहित महानगरको टोली अनुगमनमा जाँदा कक्षामा जम्मा ४५ जना विद्यार्थी मात्रै उपस्थित थिए । १ सय ४ जना भर्ना भए पनि नियमित रुपमा ७०÷८० जना मात्रै आउने गरेको विद्यार्थीहरुले बताए । मेयर सिंह, प्रमुख प्रशासकीय अधिकृत पौडेल र शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले विद्यालयमा शिक्षक र विद्यार्थीहरुको हाजिरी रजिष्टार पनि चेकजाँच गरे । शिक्षकहरुको लागि विद्युतिय हाजिरी सञ्चालन गर्न मेयर सिंहले निर्देशन दिए । लगातार ३ दिनसम्म अनुपस्थित हुने विद्यार्थीको अभिभावकलाई खबर गरेर कारण सोध्नुपर्ने नियममै व्यवस्था भएको हुँदा अनुपस्थित हुनेको हाजिरीबाटै नाम हटाउन शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले निर्देशन दिएका छन् । अनुगमनका क्रममा त्रिजुद्ध स्कुलका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मीले उपलब्ध स्रोत साधनको उचित सदुपयोग गर्दै विद्यालयको शैक्षिक गुणस्तर कायम राख्ने प्रयास गरीरहेको बताए ।

त्रिजुद्ध स्कुलको अनुगमन सकेर महानगरको टोली वीरगञ्जको विर्तास्थित कन्या माविमा प्रस्थान गरे । कन्या माविको कक्षा १० मा विद्यार्थीसँगै बसेर मेयर सिंहले उनीहरुका समस्याका सम्बन्धमा जिज्ञासा राखे । समस्या सोधपुछका क्रममा कन्या माविका छात्राहरुले ३ वर्षदेखि छात्रवृतिको रकम नपाएको प्रकाशमा आयो । छात्रवृत्तिको रकमका लागि भर्नुपर्ने फारमका सम्बन्धमा पनि उनीहरु अनभिज्ञ रहेको पाइयो । साथै कुनै पनि बहानामा शुल्क उठाउन नहुने व्यवस्था भए पनि कन्या माविमा मासिक शुल्कको नाममा १ सय २५ रुपैयाँ र परीक्षा शुल्क २ सय २५ रुपैयाँ तिर्ने गरेको विद्यार्थीहरुले बताए । त्यसको बारेमा विद्यालयलाई चेतावनी दिँदै आगामी दिनमा शुल्क नलिन मेयर सिंहले पनि निर्देशन दिएका छन् । अर्थ शास्त्र विषयको पुस्तक अहिलेसम्म पनि ४ जना छात्राले नपाएको हुँदा तत्काल पुस्तकको व्यवस्था मिलाउने शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले बताए । मेयर सिंहले घरबाटै टिपिन बक्समा खाजा ल्याउन आग्रह गर्दै होटल तथा पसलको खाजा नखान पनि विद्यार्थीहरुलाई आग्रह गरेका छन् । कन्या माविको प्रवेशद्वार नजिकैको नाला अतिक्रमणमा परेको हुँदा उक्त संरचनालाई भत्काउने कार्य पनि केही दिनमै शुरु गरिने मेयर सिंहले बताए । कन्या माविकी प्रधानाध्यापिका अनिता साहले अनुगमन टोलीलाई सहजीकरण गरेकी थिइन् । अनुगमन टोलीमा महानगर प्रमुख सिंहसँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, युवा नेता मधुसुदन चौरसियासहित सञ्चारकर्मी पनि सहभागी थिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरीस्थित शारदा माविका विद्यार्थीले पनि समस्या सुनाए । अनुगमनका लागि पुगेका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई समस्या सुनाउँदै कक्षा ९ की एक छात्रले भने, ‘तपाईहरु भन्नुहुन्छ कुनै पनि शुल्क लाग्दैन, सबै शिक्षा निःशुल्क भनेर । तर हामी यहाँ कम्प्युटर शुल्क, परीक्षा शुल्क र मासिक शुल्क तिर्छाै ।’ सोही कक्षाका एक छात्रा थप्छीन्, ‘यति मात्रै हैन चरित्र प्रमाण पत्र (क्यारेक्टर सर्टीफिकेट) मा गल्ती भएको सच्याउन पनि पैँसा तिर्नुपर्छ ।

’ अर्का छात्रले भने, ‘कोठामा झ्याल छैन, बत्ती छैन, शौचालय व्यवस्थित छैन, शौचालयको दुर्गन्धले कक्षाकोठामै बस्न सक्ने अवस्था छैन ।’ छात्रवृत्तिको रकम नपाएको गुनासो शारदा माविका छात्राहरुले पनि गरे । विद्यालयमा अतिरिक्त क्रियाकलाप कहिलै पनि नहुने विद्यार्थीहरुको भनाइ थियो । पुस्तकालयको पनि व्यवस्था नभएको हुँदा त्यसका लागि पहल गरिदिन माग पनि उनीहरुले उठाएका छन् । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले अर्काे पटक आउँदा ती सबै समस्याको समाधान गर्न विद्यालयका प्रधानाध्यापक दयाकान्त झालाई निर्देशन दिएका छन् ।

Comment


Related News

Latest News

Trending News