अपडेट 
२०७९ मंसिर २९, बिहीबार ०६:२६

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको बैठकमा आफूलाई पनि सहभागी गराउन आग्रह गरेको छ ।

अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बैठकमा सहभागी गराउन अनुरोध गरेका छन् । लोसपा नेता डा.सुरेन्द्र झाका अनुसार ठाकुरले प्रधानमन्त्री देउवासँग पटक–पटक भेटेर संवाद गरेका छन् । ‘उहाँहरूबीच निरन्तर भेट र संवाद भइरहेका छन्,’ उनले भने, ‘चुनावअघि अध्यक्षज्यू बाहिर हुनुहुन्थ्यो । चुनाव सकिएपछि हामी गठबन्धनको बैठकमा निरन्तर सहभागी हुने कुरा उहाँले उठाउनुभएको छ ।’ लोसपा नेता तथा नवनिर्वाचित सांसद शरतसिंह भण्डारी गठबन्धन दलभित्र हुने नीतिगत बहस र निर्णयमा लोसपा सहभागी हुनुपर्ने बताउँछन् । अब बन्ने केन्द्र र प्रदेश सरकार तथा मन्त्रालयको बाँडफाँटका साथै राष्ट्रपतिदेखि प्रदेश प्रमुखसम्मको भागबन्डामा लोसपालाई समेट्नुपर्ने उनको माग छ । ‘अब बन्ने सरकारमा मन्त्रालयको भागबन्डासहित, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा, प्रदेश सरकार तथा प्रदेश प्रमुखहरू यी सबै विषयमा हुने नीतिगत निर्णयमा हाम्रो सहभागिता रहनुपर्छ,’ भण्डारीले भने, ‘हामी गठबन्धनभित्रको एक दल हौँ । चुनाव लडेको मात्र होइन, चुनावअघि पनि यो गठबन्धनको सरकारलाई हाम्रो समर्थन थियो । सोही कारण गठबन्धनको बैठकमा हुने नीतिगत छलफलमा हामीले भाग लिने वातावरण बनाउन पार्टी अध्यक्षज्यूलाई हामीले अनुरोध गरेका छौँ ।’

लोसपाले सत्ता गठबन्धनसँग मिलेर निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । प्रतिनिधिसभातर्फ सात र प्रदेशतर्फ १६ सिटमा गठबन्धन दलसँग मिलेर लोसपाले चुनाव लडेको थियो । केही दिनअघि लोसपाबाट निर्वाचित चार केन्द्रीय सांसदसहितको बैठकले पनि सत्तासहित अरू विभिन्न निकायमा ‘प्याकेज’मा हुने भागबन्डामा पार्टीको सहभागिता अनिवार्य गर्नुपर्ने निष्कर्ष निकालेको थियो । मधेश प्रदेश सरकारको नेतृत्व वा ‘जिम्मेवार’ मन्त्रालयसहित सातमध्ये एक प्रदेशमा प्रमुख, केन्द्रीय मन्त्रालय र विभिन्न आयोगमा सम्मानजनक सहभागिताको विषयमा लोसपा शीर्ष नेतृत्वले छलफल गरेका थिए । गठबन्धनसहित निर्वाचनमा प्रतिस्पर्धा गरे पनि लोसपा राष्ट्रिय दल बन्न सकेन । आफ्नै पूर्वसहकर्मी महिन्द्रराय यादवसँग वरिष्ठ नेता राजेन्द्र महतो पराजित भए । प्रतिनिधिसभातर्फ लोसपाले ३ सिट मात्र जित्यो । लोसपा आए पनि पाँचदलीय गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्दैन । संविधानानुसार बहुमतको सरकार बनाउन १३८ सिट आवश्यक पर्छ । लोसपा आउँदा पनि गठबन्धनलाई बहुमत पु¥याउन दुई सिट कम हुन्छ । लोसपाका एक नेता मधेशमा पार्टी राजनीतिलाई जोगाउन पनि अहिलेको गठबन्धनभन्दा बाहिर बस्ने अवस्था नरहेको बताउँछन् । राष्ट्रिय दल बन्न नसक्नु र निरन्तर जनाधार गुम्दै गएकाले लोसपालाई अहिले सत्ता अपरिहार्य भएको उनको तर्क छ । नेता भण्डारी पनि अहिलेकै गठबन्धन र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउँछन् । लोसपा नयाँ सरकारमा सहभागी हुने उनको भनाइ छ । वर्तमान गठबन्धनको सरकार बन्दा नै विश्वासको मत दिएको भन्दै उनी यो गठबन्धनले आफूहरूका माग, मुद्दा पनि सम्बोधन गरिरहेको बताए ।

Comment

Related News

Latest News

Trending News