
मधेश प्रदेशमा फेरि जनता समाजवादी पार्टी (जसपा)को सरकार बन्ने भएको छ ।
नेपाली कांग्रेस तथा नेकपा एमालेको रोजाइमा पहिलो चोटी निर्वाचनमा भाग लिएर सदन सम्मको यात्रा तय गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीलाई सरकारमा सहभागिताबाट रोक्नका लागि जसपालाई फेरि गठबन्धनमा ल्याउने तयारी गरिएको छ । जसपा गठबन्धनमा सहभागी भएपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुल्ने छ । पाँच दलीय गठबन्धनमा तीन मुख्यमन्त्री नेपाली कांग्रेस, दुई माओवादी केन्द्र र एक नेकपा एस र एक जसपालाई दिएर जसपालाई सरकारमा सहभागी गराउने तयारी थालिएको छ ।
हुनत निर्वाचनको मत परिणाम सार्वजनिक भए लगतै जनमत पार्टीका अध्यक्ष सीके राउतले काठमाण्डुमा शीर्ष नेताहरुसंग भेटघाट गरेर सरकारमा सहभागी हुने इच्छा पनि जाहेर गरेको स्रोतको भनाइ छ । उनले मधेश प्रदेशमा मुख्यमन्त्री तथा केन्द्रमा कृषि र उद्योग मन्त्रीको माग गरेका थिए । तर, कांग्रेस सभापति तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरु सकारात्मक देखिएका थिएनन् । रास्वपाका अध्यक्ष लगायत विजयी भएकाहरु बढी आक्रामक देखिएका कारण उनीहरुलाई सरकारवाट टाढा राख्न पाँच दलीय गठबन्धनको तयारी छ भने रास्वपाप्रति नेकपा एमाले पनि रुचि देखाएको छैन् ।
हुनत जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतको अवस्था पनि त्यस्तै छ तर, जसपाले पाँच दलीय गठबन्धनसंग जाने इच्छा प्रगट गरेपछि पाँच दलीय गठबन्धनको पहिलो रोजाइ भने जसपानै बन्ने देखिएको छ । केन्द्रमा सरकार बनाउनका लागि चाहिने सिट संख्या भन्दा बढी गठबन्धनमा जसपालाई सहभागी गराएपछि आउने गणितीय जोड् घटाउ हुँदैछ । नेपाली कांग्रेससंग ९६, माओवादी केन्द्र ४३, नेकपा एस ९, लोसपा ३ र जनमोर्चाको १ सिट छ भने जसपा संग १४ र नागरिक उन्मुक्ति संग ५ सिट सहित १७३ सांसद पुग्ने देखिन्छ । जबकि सरकार बनाउनका लागि करिव १७२ सिट मात्रै चाहिन्छ । जसपा र जनमतको केन्द्र र प्रदेशमा समान सिट रहेको र स्थानीय निर्वाचनमा जसपा सहयात्री रहेका कारण जसपा गठबन्धनको पहिलो रोजाइ बन्ने स्रोतको दाबी छ । जनमतका अध्यक्ष राउतले मधेश प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेपछि कांग्रेस सभापति भारतीय लाइनको पर्खाइमा बसेका छन् । राउतलाई नेतृत्व दिनु भन्दा उपयुक्त जसपालाई सरकारमा सहभागी गराउने उपयुक्त हुनेमा माओवादी केन्द्र, नेकपा एस स्पष्ट छन् भने लोसपालाई भारतले मनाएपछि मान्न सकिने भएको देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेकपा एमालेसंगको सहकार्य सकेको घोषणासंगै मधेश प्रदेशमा मुख्यमन्त्रीसहित केन्द्रमा केही मन्त्री दिए पाँच दलीय गठबन्धनमा आउन सक्ने भएका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारमा सहभागीका लागि संवाद गरिरहेका छन् । जसपा भित्र केही किचलो देखिएका कारण अध्यक्ष यादवले अहिलेसम्म स्पष्ट नपारे पनि पाँच दलीय गठबन्धनमा प्रवेशका लागि ढोका खुला रहेको जसपाका एक नेताले बताए । उनले भने विगतमा भएको आन्दोलनवाट प्राप्त उपलब्धि संस्थागत गर्नका लागि जसपा सरकारमा जानै पर्छ नत्र यो संघीयता रहन्छ कि रहँदैन् भन्न सकिदैन् । निर्वाचनको मत परिणामले संघीयता विरोधीको हालीमुहाली सरकारमा हुनु मधेश आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुनुबाट खतरा रहेको उनले बताए ।
सभामुख यादव दिल्लीमा
दलहरु सरकार बनाउने तयारी स्वरुप छलफलमा रहेका बेला मधेश प्रदेशका सभामुख तथा जसपा नेता सरोजकुमार यादव दिल्ली पुगेका छन् । उनी पाँच दलीय गठबन्धनमा जसपालाई सहभागिता एवम् मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबीसहित दिल्ली पुगेका छन् । दिल्लीमा उनले नेपालमा प्रभाव पार्न सक्ने नेताहरु संग भेटघाट तथा मुख्यमन्त्री आफूले पाउने वातावरण निर्माणका लागि त्यहाँ पुगेको स्रोतको भनाइ छ । जसपाप्रति पाँच दलीय गठबन्धन जनमत भन्दा बढी लचिलो देखिएपछि उनी दिल्ली पुगेका छन् । हुनत सभामुख यादवलाई यसभन्दा पहिला पनि मुख्यमन्त्री बन्ने इच्छा थियो तर, मुख्यमन्त्री लालवावु राउतले राजिनामा नदिएपछि उनी मुख्यमन्त्रीको रेसबाट आउट भएका थिए । तर, यस पटक उनी कम्मर कसेर मुख्यमन्त्रीको रेसमा आउन लागेका छन् । जसपालाई मुख्यमन्त्री दिने पाँच दलीय गठबन्धनको झुकाव देखिएपछि उनी त्यहाँ पुगेको उनी निकट स्रोतले बताए । हुनत कांग्रेसका शीर्ष नेताहरुले मधेश प्रदेशमा मुख्यमन्त्री नछाडने बताए पनि केन्द्रको मनसाय यस्तै देखिएको छ ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=CYDNeQF_pZo