अपडेट 
२०७९ मंसिर २९, बिहीबार ०७:५९

नेपाल र भारत दुबै दक्षिणी एशियाका लोकतान्त्रिक देशहरू छन् । भारत इस्लाम तथा बेलायतको परतन्त्रताभित्र रहेका देशलाई सन् २०४७ मा निकै संघर्षपछि लोकतान्त्रिक देशको रूपमा स्थापित भएको छ ।रतमा बहुदलीय प्रणाली मार्फत देशको शासन चल्दै आएको छ । त्यहाँ संघीय शासन छ । प्रत्येक प्रदेश तथा केन्द्रका बीचमा शासन गर्ने कानुनलाई प्रष्ट रूपमा तोकेअनुसार देशको सम्पूर्ण शासन व्यवस्था चलिरहेछ । भारत विश्वकै एउटा ठूलो लोकतान्त्रिक राष्ट्र हो । त्यहाँका नेताहरू निकै संघर्ष गरेर अगाडि आएका हुन्छन् । ‘सादा जिवन उच्च विचार’ लाई आत्मसात गरेका हुन्छन् । नेपालमा विदेशीहरूको शासन कहिले पनि रहेको देखिँदैन । नेपाल परापूर्व कालदेखि नै एउटा स्वतन्त्र सार्वभौम राष्ट्र रहेको छ । भारतमा लोकतन्त्र आएपछि नेपालमा पनि यसको असर प¥यो । २००७ सालको आन्दोलन यसको परिणाम स्वरूप शुरू भएको मान्न सकिन्छ । २००७ सालकै आन्दोलनबाट राणा सरकारलाई सत्ताच्यूत गरी राजा र प्रजा मिलेर देशको शासन चलाउन थाले । प्रजातन्त्र फस्टाउँदै गर्दा २०१७ सालमा राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्थाको नाममा एकतन्त्रीय शासन व्यवस्था कायम गरे । यस व्यवस्थालाई उखेलेर फाल्न लगभग ३० वर्ष लागेको थियो । अहिले नेपालमा संघीय लोकतान्त्रिक व्यवस्था छ । देशलाई ७ वटा प्रान्तमा बाँटेर संघीय शासन कायम गरेको छ । नेपालमा तीन तहका सरकार छन् । पहिलो तहमा स्थानीय सरकार दोस्रो तहमा प्रादेशिक सरकार र तेस्रो तहमा संघीय सरकार रहेका छन् । दुबै देशको प्रशासनिक व्यवस्थामा धेरै कुराहरू मिल्दोजुल्दो देखिन्छन् । अब प्रसङ्गलाई शिर्षकतिर मौडौं, नेपालका सबै पार्टीहरू राष्ट्रिय पार्टी हुन सक्दैन । राष्ट्रिय पार्टी हुने केही प्रावधानहरू छन् । यी प्रावधानहरू पारगरेर मात्र राष्ट्रिय पार्टीका दर्जा पाउँछन् । नेपाल अहिले २०७२ सालमा निर्मित संविधान अनुसार देशको शासन व्यवस्था चलेको छ । यस संविधान अनुसार नेपालमा तीनै तहका सरकारहरूमध्ये दोस्रो पल्ट २०७९ सालको आम निर्वाचनबाट स्थानीय सरकार गठन भैसकेको तथा प्रादेशिक र संघीय सरकार आम निर्वाचनबाट चयन हुँदै छ । पहिलो चोटी तीनै तहको सरकार २०७४ सालको आम निर्वाचनबाट बनेको थियो । अब यहाँ प्रश्न उठ्छ कि पार्टीहरू के आधारमा राष्ट्रिय पार्टी बन्छन् त ! यसमा प्रत्यक्ष निर्वाचनबाट कम्तीमा एउटा प्रतिनिधि सभाको सदस्यमा जितेको तथा समानुपातिक तर्फ खसेको सदर मतको तीन प्रतिशत मत कटाएको हुनु पर्दछ । नेपालको संघीय संसदको प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित १६५ तथा समानुपातिक मतको आधारमा निर्वाचित ११० जम्मा गरी २७५ सिट रहेका छन् । यी सदस्यहरूका ५१ प्रतिशतको बहुमतबाट सरकारको निर्माण गर्न सकिन्छ । कुनै एउटा पार्टीलाई यदि ५१ प्रतिशत मत आएन भने मिलिजुली सरकारको निर्माण गर्ने प्रावधान छ । नेपालको यहि संविधान २०७२ अनुसार पहिलो निर्वाचन २०७४ मा सम्पन्न भएको थियो भने दोस्रो निर्वाचन भर्खरै मङ्सिरको ४ गते सम्पन्न भएको छ । २०७४ को आम निर्वाचनको परिणाम अनुसार नेपालमा पाँचवटा दलहरू राष्ट्रिय पार्टीका मान्यता पाएका थिए । ती पार्टीहरू क्रमशः नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिन वादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, तथा संघीय समाजवादी फोरम नेपाल रहेका थिए भने यस २०७९ को निर्वाचन परिणाम अनुसार राष्ट्रिय पार्टीहरूका संख्या बृद्धि भएर जम्मा सात वटा पुगेका छन् । यी सात पार्टीहरू क्रमशः नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल जनमत पार्टी रहेका छन् ।

 

त्यसैबेलादेखि भायी पार्टीहरूमध्ये नेपाल जनमत पार्टी भाग्यमानी पार्टी रहेको देखियो किनभने प्रत्यक्ष तर्फ कम्तिमा एउटा सिट जित्नुपर्ने प्रावधान अनुसार एउटा सिट मात्र हासिल गरेर समानुपातिक तर्फ ३ प्रतिशत समेत कटाएको कारणले राष्ट्रिय पार्टी बन्न पुगेको छ । यसपालिको निर्वाचनमा सबैभन्दा बैडलक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को देखियो । समानुपातिकमा झिनो मतको अन्तरले राष्ट्रिय पार्टीको रूप लिन सकेन । यता अन्य पार्टीहरू जो राष्ट्रिय पार्टी बन्न सकेनन् ती पार्टीहरू क्रमशः नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र नेपाल मजदूर किसान पार्टी रहेकाछन् जो प्रत्यक्षमा सिट जिते पनि समानुपातिक तर्फ तीन प्रतिशत मत ल्याउन नसकेर राष्ट्रिय पार्टीमा आउन सकेनन् । यस पालिको निर्वाचनको मतलाई हेर्दा सम्पूर्ण सिटको ५१ प्रतिशत कुनै पार्टीले ल्याउन सकेन । प्रत्येक्षतर्फको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस भएको छ भने समानुपातिक तर्फको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–निनवादी) बनेको देखिन्छ । प्रत्यक्ष र समानुपातिकलाई जोड्दा सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस बनेको छ भने दोस्रोमा नेकपा (एमाले) आएको छ । तेस्रोमा नेकपा (माके), चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी, छैठौंमा जनता समाजवादी पार्टी तथा सातौंमा नेपाल जनमत पार्टीको रूपमा स्थान ओग्टन सफल भएका छन् । यी पार्टीहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी तथा नेपाल जनमत पार्टी नयाँ पार्टीका रूपमा अगाडि आएका छन् । अब भारततिर लाग्दा त्यहाँको राष्ट्रिय पार्टी बन्ने प्रावधान नेपाल भन्दा भिन्न रहेको देखिन्छ । त्यहाँ प्रदेशको पनि मतलाई जोडेर निकाल्ने गरिन्छ । भारतका चार सय राजनीतिक दलमध्ये हालसम्म सात वटाले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् । संयोग भनौं नेपाल र भारतमा राष्ट्रिय पार्टीको सङ्ख्या समान रहेका छन् । हालै सम्पन्न भएको भारतको गुजरातमा चुनाव प्रचारका क्रममा आम आदमी पार्टी (आप) का संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सार्वजनिक रूपमा घोषणा गरेका थिए कि यस पालिको चुनावी परिणामले गुजरातमा कट्टर इमान्दार पार्टी आपको सरकार बन्दै छ । भाजपाको गढ तथा प्रधानमन्त्रीको गृह प्रदेशमा उनले विभिन्न फ्री स्किम, रोजगारी, भ्रष्टाचार निर्मूल लगायतका नारा दिएर जनता माझ पुगेका थिए । तर प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका अगाडि उनको केही चलेन । १ सय ८२ सदस्यीय विधानसभामा भारतीय जनता पार्टी (भाजपा) ले १ सय ५६ सिटमा जित हासिल ग¥यो । सन् २०१७ को चुनावमा भाजपाले ९९ सिट मात्रै जितेको थियो । काँग्रेस ७७ सिटबाट एकैचोटी १७ मा खुम्चियो । सन् २०२२ को आम निर्वाचनबाट आप पार्टीले ५ सिटमा मात्र बिजयी हासिल ग¥यो । एक सय तीस करोड जनसङ् ख्या र चार सय राजनीतिक दल रहेको भारतमा अहिलेसम्म सातवटा रजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् । गुजरातको परिणामले आपलाई त्यस सूचीमा थपिने मापदण्ड पूरा गराइ दिएको छ । गुजरातको सरकारमा आफू जान चाहेको तर परिणामबाट पछि हट्नु परेको थियो । गुणाभाग गर्दै रहेको बेलामा निर्वाचन आयोगले भने तपाईको आम आदमी पार्टी (आप) राष्ट्रिय पार्टी बन्न सफल भएको छ । गुजरातले हामीलाई राष्ट्रिय पार्टी बनाइ दिएको छ । देशमा आम आदमी पार्टीले १० वर्षमा मात्र यो उपलब्धि हासिल गरेको छ । भारतमा राष्ट्रिय पार्टीको दर्जा पाउन चारवटा प्रावधान रहेका छन् । पहिलो प्रावधानमा कम्तीमा चारवटा राज्यमा क्षेत्रीय पार्टीको मान्यता पाएको दलले राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न सक्छ । अर्को तीनवटा अलग–अलग राज्यबाट लोकसभामा कम्तिमा ११ सिट जित्न सफल दलले उक्त राष्ट्रिय दलको मान्यता पाउन सक्छ । तेस्रोमा लोकसभामा ४ सिट जितको साथै लोकसभा चुनावमा ६ प्रतिशत मत कटाएको पार्टीलाई राष्ट्रिय पार्टीको रूपमा मान्यता दिने चलन छ । चौथो प्रावधान अन्तर्गत लोकसभामा ४ सिट जितेर चार राज्यमा ६ प्रतिशत मत कटाउने दल राष्ट्रिय पार्टी बन्न योग्य हुन सक्छ । राष्ट्रिय पार्टी बन्न तोकिएको विभिन्न सर्तमध्ये आपले पहिलो योग्यता पूरा गरेको हो ।

आपले दिल्ली र पञ्जावमा सरकार चलाइ रहेको छ । गत वर्ष गोवा विधानसभा चुनावमा २ सिट र ६.७७ प्रतिशत मत ल्याएको थियो । आपलाई राष्ट्रिय पार्टी बन्नका लागि एउटा अरू राज्यको मात्र खाँचो थियो जो गुजरातले आफ्नो विधान सभाको निर्वाचनबाट पूरा गरिदिएको छ । यस पार्टीभन्दा अघि नै राष्ट्रिय पार्टी भएका पार्टिहरूमा क्रमशः भारतीय जनता पार्टी, इन्डियन नेसनल काँग्रेस, अलइन्डिया तृणमूल काँग्रेस, बहुजन समाजवादी पार्टी, कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपी आई), कम्युनिष्ट पार्टी अफ इन्डिया माक्र्ससिस्ट (सिपीआई– एम) र नेसनल काँग्रेस पार्टीले राष्ट्रिय दलको मान्यता पाइसकेका छन् । अब यहाँ प्रश्न उठ्छ कि राष्ट्रिय दलको मान्यता पाइसकेका पार्टीहरूले राज्यबाट के के सुविधा पाउँछन् त ? राष्ट्रिय पार्टीको मान्यता पाइसकेपछि प्रत्येक राष्ट्रिय पार्टीले राज्यबाट निकै सुविधाहरू प्राप्त गर्छन । पहिलो न.मा. राष्ट्रिय मुद्दाहरूमा आफ् नो विचार दिने राजनैतिक हैसियत प्राप्त गर्छ । दोस्रोमा यस्ता पार्टीहरूले सरकारी तहबाटै केही सुविधा प्राप्त गर्छन् । तेस्रोमा राष्ट्रिय स्तरमा उक्त पार्टीको चुनाव चिह्न सुरक्षित हुन्छ, अर्थात उसले आफ्नो चुनाव चिह्न देशको कुनै कुनामा समान रुपले प्रयोग गर्न पाउँछः जस्तै आपले राष्ट्रिय पार्टीको मान्यता पाएसकेकाले, उसले प्रयोग गर्दै आएको झाडु चुनाव चिह्न देशभरमा उसका उम्मेदवारले मात्रै प्रयोग गर्न पाउँछन् । चौथोः निर्वाचन आयोगको सिफारिसमा राजधानी दिल्लीमा पार्टी कार्यालयका लागि सरकारी भवनको सुविधा पाउँछ । पाँचौ चुनाव प्रचारमा राष्ट्रिय पार्टीले अधिकतम् ४० जना स्टार प्रचारकलाई खटाउन सक्छ । त्यस माथि हुने खर्च उम्मेदवारलाई तोकिएको खर्चमा जोडिँदैन । छैठौंः सरकारी टेलिभिजन च्यानल दूरदर्शन र रेडियोमा प्रचार प्रसारका लागि निश्चित समय प्राप्त गर्छन् । सातौंः राष्ट्रिय पार्टी तर्फबाट उम्मेदवार बन्नका लागि एक जना मात्र प्रस्तावक भए पुग्छ जबकि अन्य पार्टीलाई दुई जना प्रस्तावक चाहिन्छ । आठौं निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दललाई मतदाता नामावलीको सूची दुई सेट र उसको उम्मेदवारलाई पनि एक सेट सूची निःशुल्क उपलब्ध गराउने प्रावधान छ । यस्तै नेपालमा पनि राष्ट्रिय पार्टीका लागि विभिन्न सुविधा दिने प्रावधान छ । राष्ट्रिय पार्टीहरूलाई छुट्टै संसदीय दलको कार्यालय राख्न अफिसको व्यवस्था गरेको हुन्छ । निष्कर्षमा कुनै देशका लागि पनि राष्ट्रिय पार्टी बन्नुमा आफै एउटा गौरबको कुरा रहेछ । राष्ट्रिय पार्टीको मान्यता पाउने बितिकै अन्य पार्टीहरूको हेराइमा समेत फरक हुन आउँछ । प्रतिनिधि सभा (तल्लो सदन) तथा राष्ट्रिय सभा (उपल्लो सदन) मा समेत बोल्ने समयमा बढी समय पाउन थाल्छन् । यसरी राष्ट्रिय पार्टी बन्नका लागि आ–आफ्ना ठाउँबाट सबै प्रयासरत हुन्छन् तर जनताले पत्याउने पार्टीलाई मात्र यस्ता अवसर प्राप्त हुन्छ । इतिश्री ।

Comment

Related News

Latest News

Trending News