अपडेट 
२०७९ मंसिर २९, बिहीबार ०८:०७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामले किसानको धान खरिद गर्न ढिलाई गरिरहेको छ । मधेश प्रदेशका ९५ प्रतिशतभन्दा बढी किसान खेतबाट धान घरमा भित्र्याइसके पनि अझै धान खरिद प्रक्रिया सुरु गरिएको छैन् ।

धान खरिद गर्ने जिम्मा पाएका कम्पनीले खरिद सम्बन्धी कुनै सुरसार पनि गरेका छैन् । कम्पनीले खरिद प्रक्रिया अगाडि नबढाउँदा किसानहरु सस्तोमा धान बिक्री गर्न बाध्य भएका छन् । किसानको घरमा ठाउँ अभाव तथा वर्षा भए कुहिने डरले धमाधम व्यापारीमार्फत नै धान बिक्री गरिरहेका छन् । तर सरकारको धान खरिद गर्ने निकाय अझै मौन बसेका छन् । लक्ष्मीनियाँ गाउँपालिका १ का सरोजकुमार यादवले प्रत्येक वर्ष किसानको धान खरिद नगर्ने नियतले सरकार ढिलो गर्ने गरेको आरोप लगाए । ‘अहिले व्यापारीसंग धान छैन, उनीहरु धमाधम सस्तोमा किसानको धान खरिद गरिरहेका छन्,’उनले भने,‘त्यही धान पछि व्यपारीसंग सरकारले बढी मूल्यमा खरिद गर्छ । सरकार सधँै किसानको पक्षमा नभइ व्यापारीकै पक्षमा छन् ।’ सरकारले धान खरिद नगर्दा किसानहरु व्यापारीमार्फत बिक्री गरिरहेको उनले बताए । कम्पनीले धान खरिद पनि समिति व्यक्तिको मात्रै गर्दा किसान व्यापारीमार्फत नै बिक्री गर्ने गरेको उनले बताए । सोही गाउँपालिकाकी अमृता यादवले पनि सरकारमाथि प्रश्न उठाइन् । वास्तविक किसानको लागि गरिएको व्यवस्था समयमा लागु नहुने गरेको उनले बताइन् । ‘किसानको व्यापार भनेकै कृषि हो ।

उत्पादन भएको धान बिक्री गरेरै सबै काम गर्नुपर्छ,’उनले भनिन्,‘पढाई लेखाई, औषधि उपचार र घर खर्च पनि धान बिक्री गरेर नै गरिन्छ । तर किसानलाई आवश्यक परेको बेला सरकारले धान नै खरिद गर्दैनन् । त्यसैले किसान बाध्य भएर सस्तोमा व्यापारीसंग धान बिक्री गरिरहेका छन् ।’

Comment


Related News