अपडेट 
२०७९ मंसिर २९, बिहीबार ०८:१९

मधेश प्रदेशमा लामो समयसम्म वर्षा नभएका कारणले वायु प्रदूषणको स्तरमा वृद्धि भएको छ । धानको दाउनीसँगै पराल तथा भुसामा आगो लगाउने क्रम बढेकोले श्वासप्रश्वासमा समस्या आउनुको साथै रुघा खोकी लाग्ने, नाक जाम हुने क्रममा वृद्धि भएको छ ।

वायु प्रदूषणको अर्को कारणको रुपमा शहरी तथा ग्रामीण क्षेत्रमा फोहोर र धुलो पनि प्रमुख कारणको रुपमा रहेको वातावरणको क्षेत्रमा काम गर्दै आएको सबैका लागि सुरक्षित र सफा हावा अभियानका संयोजक वर्षा पराजुलीले जानकारी दिए । बुधवारबाट जनकपुरधाममा धुलो मिसिएको कण तथा अन्य कारणले आकाशमा अत्याधिक मात्रामा तुवालो देखिएको छ । जनकपुरधाममा फोहोर बढेको, ध्वनि तथा बायु प्रदूषणमा वृद्धि भएका कारणले सर्वसाधारणको स्वास्थ्यमा समस्या उत्पन्न भएको जनाइएको छ । जनचेतनाको अभाव भएका कारणले नगर क्षेत्रमा फोहोर,प्लाष्टिक, पराल तथा भुसामा आगो लगाएर जलाउने क्रम बढेको छ । यति मात्र नभएर चिसोबाट जोगिनका लागि आगो बाल्ने क्रममा पनि वृद्धि भएको छ । जनकपुरधाममा वायुको प्रदूषण कुनै कुनै ठाउँमा ३ सय माईक्रोग्राम परमीटर क्युसेक पुग्ने गरेको पनि जनाइएको छ । अहिले वायुको अवस्थाको बारेमा जानकारी लिनका लागि जनकपुरधाम उपमहानगरपालिकामा वायुको गुणस्तर मापन यन्त्र जडान गरिएको छ । पानी परेको बेलामा जनकपुरधामको वायुको स्तर १५० माईक्रोग्राम परमीटर क्युसेक भन्दा तल झरेपनि अन्य समयमा यस भन्दा माथि नै रहने गरेको छ । जनकपुरधामसहित तराई मधेशका जिल्लाहरूमा सडक निर्माणको क्रम सँगै अत्याधिक धुलो उडेको र धुलोको सही व्यवस्थापन नभएका कारणले पनि हावाको स्तरमा सुधारको साटो बिग्रिने अवस्था देखिएको बताइएको छ । ‘स्वच्छ हावा स्वास्थ्य जीवन’का लागि विश्व स्वास्थ्य सङ्गठनले हावामा २५ माईक्रोग्राम परमीटर क्युसेक हुनु पर्ने गाइड लाइन रहेको छ भने नेपालको सन्दर्भमा ४० माईक्रोग्राम परमीटर क्युसेक तोकिएको छ । भारत तथा तराई मधेशका जिल्लाहरूमा पराल र भुसामा आगो लगाएका कारणले उत्पन्न भएको समस्याको विषयमा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालय प्रमुखको ध्यानाकर्षण गराउने काम भएका छ ।

मानवको जीवन तथा स्वास्थ्य रक्षाका लागि आयोगमा लिखित उजुरी परेमा आयोगले सम्बन्धित निकायको ध्यानाकर्षण गर्न तयार भएको आयोगका प्रदेश कार्यालयका प्रमुख मञ्जु खतिवडाले जानकारी दिएकी छन् ।

Comment

Related News