अपडेट 
२०७९ पुष १, शुक्रबार ०६:२४

निर्वाचन आयोगले मङ्सिर ४ गतेमा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन विहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन हस्तान्तरण गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने प्रावधान छ । सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न भएको जानकारी गराए । सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा २ सय ७५ र प्रदेशसभामा ५ सय ५० गरी ८ सय २५ जना निर्वाचित भएको उनले बताए । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएको उनको कथन थियो । आयोगले आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ । राष्ट्रपतिलाई आयोगले हस्तान्तरण गर्न आयोजित कार्यक्रममा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत उच्च अधिकारी सहभागी थिए ।प्रमुख निर्वाचन आयुक्त थपलियाले उपराष्ट्रपति र प्रधानमन्त्रीलाई पनि निर्वाचन परिणामको पुस्तिका हस्तान्तरण गरेका छन् ।

आयोगले समानुपातिक तर्फबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाइ ३ गते निर्वाचित भएको प्रमाण पत्र वितरण गर्ने कार्यक्रम राखेको छ ।आयोगले ४ गते जलपान समारोहको आयोजना गरेको छ ।राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुखहरु, प्रतिनिधि लगायतको सहभागिता रहने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News