अपडेट 
२०७९ पुष १, शुक्रबार ०७:३५

न्यायका लागि प्रदर्शन गर्दा महोत्तरी रामगोपालपुर ५ कि नेहा चौधरी र निहारिका सिंह राजपुत पक्राउ परेकी छन् ।

बिहीवार रामगोपालपुर नगरपालिकामा प्रदर्शन गर्दा उनीहरु पक्राउ परेकी छन् । नेहाले आफूमाथि घरेलु हिंसा गरेका सासु–ससुरासहितको व्यक्तिलाई पक्राउ गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेकी थिइन् । उनीहरुले नगरपालिकामा तोडफोड, आगजनी र मानिस घाइते बनाएको आरोपमा पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । सोही विषयमा सुरक्षा समितिको बैठकले उचित निर्णय लिने उनले बताए । ‘प्रहरी कानूनलाई टेकेर काम गरिरहेको छ । तर उहाँहरु अनावश्यक रुपमा तोडफोड गर्ने, आगजनी गर्ने, मान्छे घाइते बनाउने जस्ता गतिविधि गरिरहेका थिए,’उनले भने,‘त्यही भएर उहाँहरुलाई नियन्त्रणमा लिइएको छ । सुरक्षा समितिको छलफलपछि निर्णय लिइने छ ।’ पक्राउ परेका नेहा र निहारिका रिहा हुने/नहुने विषयमा उनले खुलाएनन् । प्रदर्शनकारीहरुले नगरपालिकाको न्यायिक समिति अग्रसर हुनुपर्ने भन्दै विवाद सुरु भएको थियो । सोही विवादपछि उनीहरुले नगरपालिकामा ढुङ्गामुढा गरेका थिए ।

प्रदर्शनकारीले फालेको ढुङ्गाले नगरपालिकाको झ्यालको सिसाहरु फुटेको छ । प्रदर्शन हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेका थिए । अवस्था उग्र बनेपछि प्रहरीले पाँच राउण्ड अश्रु ग्यास पनि प्रहार गरेका थिए । प्रदर्शनमा परी चार जना प्रहरी जवान पनि घाइते भएका छन् । दुई जना नेपाल प्रहरी, एक जना सशस्त्र प्रहरी र एक जना नगर प्रहरी घाइते भएका थिए । यद्यपि उनीहरुलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । जिल्ला अदालत महोत्तरीले घरेलु हिंसा मुद्दामा नेहालाई ससुरा संरक्षात्मक (घर बस्न) आदेश दिएको थियो । तर उनका ससुरा पक्षले घरमा ताला लगाइ नेहालाई घर प्रवेशमा रोक लगाएका थिए । नेहा उक्त दिन केही समय घर अगाडि धर्नामा बसेकी थिइन् । सोही दिन नेहाको श्रीमान डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेका थिए । नेहा र पंकज घटना सात वटा मुद्दा दर्ता भएका छन् । नेहाले पंकजमाथि पाँच वटा मुद्दा दिएका छन् भने पंकजले दुई मुद्दा दर्ता गराएका छन् । नेहा पंकजसँग मिलापत्र गरी बस्न सकारात्मक देखिए पनि पंकज उक्त कुरा अस्वीकार गर्दै आएका छन् ।

Comment


Related News