२०७९ पुष १, शुक्रबार ०७:४१

भारतको बिहारमा हुन गइरहेको नगरपरिषद्( स्थानीय तह) को निर्वाचनका लागि रक्सौल– वीरगञ्ज नाका सिल गरिएको छ ।

बिहारको रक्सौल नगरपालिकामा पुस ३ गते (डिसेम्बर १८ तारिक) हुने नगरपरिषद्को निर्वाचनका लागि भारतीय प्रशासनले बिहीवार दिउँसोदेखि रक्सौल–वीरगन्ज नाका सिल गरेको छ। पुस ३ मा हुने नगरपरिषद्को निर्वाचनका लागि भारतीय प्रशासनले बिहीवार दिउँसो १ बजे देखि पुस ३ गते राति १२ बजेसम्म ७२ घण्टाका लागि नाका सिल गरेको छ । निर्वाचनका लागि रक्सौल– वीरगञ्ज नाका ७२ घण्टाका लागि सिल गरिएको रक्सौलका जिल्ला अधिकारी (डिएम) शीर्षत् कपिल अशोकले बताए । पूर्व सूचना बिना भारतीय प्रशासनले मितेरी पुलमा फलामे ढाट नै खसाएर नाका सिल गर्दा रक्सौल–वीरगञ्ज आउजाउ गर्ने नेपाल र भारत दुबै देशका नागरिकलाई सास्ती भएको छ। यता पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी महेश तिमल्सिनाले पनि नाका सिल बारे भारतीय प्रशासनले आफूहरुसंग कुनै पूर्व छलफल र समन्वय नगरेको बताए । उनले बिहीवार दिउँसो एक्कासी भारतीय प्रशासनको तर्फबाट ७२ घण्टाका लागि नाका सिल गरिएको बारे सूचनासहितको पत्र आएपछि मात्र आफूहरुले पनि नाका सिल बारे जानकारी पाएको बताएका छन् । नाका सिल बारे भारतीय पक्षबाट पत्र आएपछि बिहीवार साँझ जिल्ला सुरक्षा समितिको बैठक बसेर भारतीय चुनावलाई मध्यनजर गरी ७२ घण्टाका लागि वीरगञ्ज नाकामा सुरक्षा व्यवस्था अझ कडा बनाउने निर्णय गरिएको जानकारी उनले गराए ।

बिहारसंग जोडिएका रक्सौल– वीरगञ्ज नाका मात्रै भारतीय प्रशासनले सिल गरेको तथा जिल्लाका अन्य नाकाहरु भने सुचारु नै रहेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News